ट्रेकिङ वेयर, स्पोर्ट्स र क्याजुअल कम्पनी हुम्तोका उत्पादन अब नेपालमा पनि बिक्री हुने भएका छन्।
नेपालका लागि हुम्तोको आधिकारिक विक्रेता कुमारी इन कर्पोरेसन प्रालि हो। कुमारीको संस्थापकमा अध्यक्ष सुदर्शन न्यौपानेसहित उत्तम न्यौपाने र प्रदीप न्यौपाने छन्।
झन्डै १० करोड रुपैयाँको लगानीमा नेपालमा हुम्तोको शोरुम खोलिएको हो।
हुम्तोको मार्केटिङ भने जाल्पा इन्टरनेसनल ग्रुप प्रालिले गर्नेछ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) की दोहोरो स्वर्ण पदक विजेता तेक्वान्दोकी आयशा शाक्य, १३औं सागकै दोहोरो स्वर्ण पदक विजेता मन्देकाजी श्रेष्ठ, अल्ट्रा धावक मीरा राई, फुटबल खेलाडी विकेश कुथु, हुम्तोका सीईओ लिउ लिनाङविनले शुक्रबार न्युरोडस्थित नेपा कम्प्लेक्सको पाँचौँ तलामा रहेको हुम्तो नेपालको शोरुमको संयुक्त रुपमा उद्घाटन गरे।
जाल्पाका निर्देशक आशिष थापाले सन् १९८५ मा अमेरिकामा स्थापना भएको हुम्तोका उत्पादन अहिले भने चीनमा भइरहेका जानकारी दिए। उनका अनुसार विश्वका शीर्ष १० उत्पादनभित्र हुम्तोको उत्पादन पनि पर्छ।
केही समयमा सिभिल मल र दरबारमार्गमा आउटलेट तयारी भइरहेको जानकारी दिँदै थापाले भने, ‘हामी ठमेल र पोखरामा पनि शोरुम खोल्नेछौं।’
संस्थापकमध्येका एक उत्तम न्यौपानेले हुम्तोको उत्पादनको सामाग्रीको मूल्य देशभरका आउटलेटमा एकै हुने बताए।
Shares
प्रतिक्रिया