कला


‘म भक्त हुँ यो देशको’ गीतले चिनाएपछि नामी गीतकार बनेका कृष्णहरि बराल

‘म भक्त हुँ यो देशको’ गीतले चिनाएपछि नामी गीतकार बनेका कृष्णहरि बराल

राधिका अधिकारी
असार १६, २०८० शनिबार १२:१९, काठमाडौँ

आमा थिइन्, सबथोक थियो। चाहेका हर कुरा दिने आमाका हात, बिराउँदा पनि आश्रय दिने मायालु काख संसारको कुन चिजसँग तुलना हुन्थ्यो र? तर जीवनको यो मिठास, माया र काख ६ वर्षको कलिलो उमेरमै खोसियो। हिजोआज आमाका धमिला स्मृति मात्रै दौडिन्छन् मानसपटलमा। 

आमाको मृत्युपछि बुबाले कान्छी आमा ल्याए। घरमा कलिला केटाकेटी, खेतबारी, जागिरको मेलो एक्लै मिलाउन बुबालाई पनि गाह्रो थियो। तर कान्छी आमा ल्याएपछि बुबासँगको दुरी अनायासै बढेर गयो। जिन्दगीको यो पाटोलाई  हेर्ने हो भने डा. कृष्णहरि बरालको बाल्यकाल निरस रह्यो। 

आमाको अभाव बाहेक घरमा सबथोक थियो। सानैमा आमाको ममता गुमाएकाले पनि उनले हजुबुबा–हजुरआमाको विशेष स्याहार र माया पाए। छोरो आफ्नो काखमा लुटपुटिन नआउँदा उनका बुबालाई हुने पीडा त्यो समय उनले अनुमान लगाउन सकेनन्। बुबा नजिक बोलाइरहन्थे, उनी टाढा भागिरहन्थे। छोरो भागेको देखेर एकतमासले हेरिरहन्थे बुबा। त्यो एकतमासको उदास हेराइमा छोरो मबाट टाढा हुँदैछ भन्ने भय र पीडा कति थियो, हिजोआज बराल अनुमान गर्छन्। 

बुबासँग खेल्नुभन्दा उनलाई कमिलासँग खेल्नु जाती लाग्थ्यो। बाटोमा हिँड्दै गरेका कमिलाको ताँती हेर्थे र रमाउँथे। छेस्काले बाटो छेकिदिन्थे, घामपानीबाट जोगाउन सुरक्षित घर बनाइदिन्थे र सारिदिन्थे। उनलाई लाग्थ्यो, ‘पानीमा भिज्दा कति जाडो हुँदो हो कमिलालाई।’ घर सार्दा कति कमिला मर्थे, उनी दुखी हुन्थे। 

कमिला मात्रै होइन उनी माहुरीसँग पनि खेलिबस्थे। उडिरहेको माहुरी हेर्थे र खुसी हुँदै दौडन्थे परपरसम्म। फूलमा बसेको माहुरीसँग एकोहोरो प्रश्न गर्थे, ‘तेरो घरमा कोको छन्? आमा छन् कि मरिसकिन्? हजुरबुबा–हजुरआमाले माया गर्छन् गर्दैनन्?’ आफ्नो सुँडमा रस भर्थ्यो र उडिजान्थ्यो माहुरी। उनी एकोहोरिन्थे। बराल अहिले सम्झन्छन्, ‘यो एकोहोरोपन नजानिँदो ढंगले उही बेलादेखि गीत÷कविता कोरिबस्दो रहेछ।’

भेडा चराउन भनेर स्कुल
आमा बितेको अर्को वर्ष एकदिन बुबाले भने, ‘हिँड् केटा, आज भेडा चराउन जाऊँ।’ कमिला र माहुरीपछि भेडासँग खेल्न पाइने भयो भनेर उनको मन फुरुंग भयो। अघिपछि बुबाको छाया देख्दा पनि भाग्ने बराल त्यो दिन बुबाकै चोर औँलो समातेर घरबाट निस्किए। भेडा हेर्न घरबाट निस्किएका उनी स्कुल पुगे। उनलाई अहिले सम्झिँदा स्कुल नै भनेको भए पनि जान्थेँ होला, किन बुबाले त्यसो भनेर लानुभयो भन्ने लाग्छ। त्यसपछि सुरु भयो बरालको स्कुले जीवन। 

उनले पढ्ने स्कुल दुई कोठे थियो। स्कुलमा शिक्षक पनि दुई जना तर पढाइ हुन्थ्यो ७ कक्षासम्मको। त्यही दुईकोठे स्कुलबाट बरालले ७ कक्षा पास गरे। उनको नाम कृष्णहरि भनेर नामाकरण भएको पनि त्यही दुईकोठे स्कुलमा हो। त्यसअघि उनलाई गाउँमा सबैले ‘सुब्बा साब’ भनेर बोलाउँथे। कृष्णहरि बराल नाम उनका गुरु गुञ्जेश्वरले राखिदिएका हुन्। 

सानैबाट बराल शान्त स्वभावका थिए। उनको शान्तपन थुप्रैको उदाहरण बन्थ्यो। गुरुहरुका उनी आदर्श चेला थिए। बरालले आफ्नो स्कुले जीवनमा दुईपटक गुरुको गाली खाएका छन्। एक पटक छन्द कविता पढेको निहुँमा, अर्को चितुवाको पासो हेरेको निहुँमा। नत्र उनी पढाइमा अब्बल विद्यार्थी थिए।

७ कक्षासम्म आफ्नै गाउँमा पढेपछि उनी जनकपुर हानिए। जनकपुरमा उनले बीएसम्मको अध्ययन गरे। जनकपुरले बराललाई पढ्न मात्रै होइन लेख्न पनि सिकायो। लेखेका कुराले स्थानीय पत्रपत्रिकामा स्थान पाए। तिनै पत्रपत्रिकाबाट सुरु भएको हो डा. कृष्णहरि बरालको लेखन यात्रा।

त्यो समय प्रेम पत्र लेख्ने खुब चलन थियो। गाउँमा रहँदा बरालको मनमा कोही बसेनन्। एक त गाउँका स्कुलमा छोरी मान्छे निकै कम हुन्थे। अर्को, उनको उमेर पनि कच्चै थियो। अध्ययनका लागि जनकपुर पुगेपछि भने महिलाहरूको संख्या पनि बाक्लै देखिन्थ्यो। 

त्यहाँको गाउँ र त्यहाँका मान्छेसँग बरालको मन डराउँथ्यो। त्यसैले पनि पत्रको प्रयोग हुने त्यो समय उनले प्रेम पत्र कोर्न सकेनन्। अहिले सम्झिँदा लाग्छ, जीवनमा एउटा पाटोको अनुभव छुट्न गएछ उमेर र डरसँगै। 

त्यसपछि नेपाल यात्रा
अहिलेको काठमाडौं त्यो बेलाको नेपाल थियो। काठमाडौं आउनेहरू नेपाल जाने भन्थे। फर्किएपछि नेपाल गएर आएको भन्थे। नेपाल (काठमाडौं) गएर आएको भनेपछि गाउँमा अर्कै इज्जत हुन्थ्यो।

काठमाडौंबाट फर्किने गाउँलेका घरमा झण्डै एक महिना भीडभाड हुन्थ्यो। काठमाडौं आउन अहिलेको जस्तो सहज थिएन। त्यसैले पनि धेरैलाई काठमाडौंका बारेमा उत्सुकता थियो। काठमाडौंबाट फर्किनेहरूलाई ‘कस्तो रहेछ नेपाल?’ भनेर सोध्ने जमात ठूलो हुन्थ्यो।

सिन्धुलीबाट काठमाडौं आइपुग्न ४ दिनको पैदल यात्रा गर्नुपथ्र्यो। त्यो अप्ठ्यारोबाट काठमाडौं आइएला भनेर कृष्णहरि बरालले कहिल्यै सोचेकै थिएनन्। न त उनको सपना नै थियो। उनको सपना जनकपुरवरिपरि मात्रै फैलिएको थियो। उनले जनकपुरमै जागिर खाने उदेश्यले बैंकको अफिसरका लागि फाराम भरेका थिए। तर, संयोगले त्यसको परीक्षा काठमाडौंमा हुने भयो। परीक्षा दिन काठमाडौं आएका उनी त्यसपछि काठमाडौंमै बसे।

०३३ सालमा बीए पास गरेर काठमाडौं पसेका सुरुवाती दिनमा उनी एउटै बाटोमा पटकपटक हराए। बाटोमा जति पटक हराउँदै भेटिँदै गरे पनि उनको लेखनको बाटो राजधानी छिरेपछि भने झन् फैलियो। भन्छन्, ‘जीवनको बाटो हराएको दिन सिर्जनाको बाटो भेटिन्थ्यो।’

सांगीतिक यात्रा 
भालेको डाकभन्दा पहिला हजुरआमाले गाउने श्लोकबाट प्रभावित भएर साहित्य लेखनमा लागेका बराललाई लेखनमा उनका पिताको पनि भरणपोषण थियो। उनी लेखेर पत्रपत्रिकामा पठाउँथे तर स्थान पाउन निकै गाह्रो थियो। त्यो समय लेख्नु, खामबन्द गरेर पत्रपत्रिकाका कार्यालयको ठेगानामा पठाउनु, प्रकाशन हुन नपाउनु। बराल भन्छन्, ‘त्यो भन्दा ठूलो पीडा अर्को कुनै हुँदैनजस्तो लाग्थ्यो त्यो बेला।’

जनकपुरमै हुँदा उनी रेडियो नेपालको प्रश्नोत्तर कार्यक्रममा खुब चिठ्ठी लेख्थे। त्यही बाटोबाट उनी रेडियो नेपाल पनि तानिए। रेडियोमा गीत रेकर्ड भएर बज्ला र आज गीतकारका रुपमा यो स्थान बन्ला, उनले सपनामा पनि सोचेका थिएनन्। उनी भावले भित्रबाट घच्घच्याएपछि लेख्थे। संयोगले काठमाडौं आए। काठमाडौं आउँदा काठमाडौं देखेर छक्क परेका बराल रेडियोमा बोलिरहने मान्छे देखेर अर्को पटक छक्क परेका थिए। 

राजधानी आउनुअघि लेखन छाप्न नपाउनु मात्रै समस्या झेलेका बरालका जीवनमा राजधानी प्रवेशसँगै अरु थुप्रै समस्याहरू थपिए। जीवनका समस्याले सिर्जनाको बाटो छेकेनन्। काठमाडौंको अभाव पुर्न स्कुल पढाउन थाले। गीत रेकर्डिङको सपना बोकेर रेडियो धाउन थाले। गीत रेकर्ड पनि अहिलेको जस्तो सजिलो थिएन। शब्दले सेन्सर पास गर्नु पथ्र्यो। 

रेडियोको पत्रमञ्जूषामा खसालेका १० गीतबाट सांगीतिक यात्राको थालनी गरेका बरालका त्यही समय ६ वटा गीत स्वीकृत भएर रेडियोमा रेकर्ड भए। उनको पहिलो गीत ‘म भक्त हुँ यो देशको’ परिबन्दले रेकर्ड भएको हो। तर, त्यो गीतले जुन किसिमको लोकप्रियता हासिल गर्यो, त्यसयता उनले कहिले पछाडि फर्किनु परेन। अहिले पनि बराल सबैभन्दा धेरै गीत रेकर्ड हुने गीतकारमा पर्छन्। नयाँदेखि पुराना संगीतकर्मी उनका शब्दका लागि उनीसँग पुग्छन्। हरेक पुस्ताका मानिससँग नम्र सुनिने बराल कहिल्यै सिर्जनाको छिमल छान्दैनन्। अग्रज र अनुज दुवैलाई उनका सिर्जनाले गर्ने प्रेम र सम्मान उस्तै हुन्छ। फिल्ममा पनि उनका गीतको उस्तै माग छ। 

प्रेम र जीवन
बराललाई प्रेम प्रकृति र विवाह संस्कृति हो भन्ने लाग्छ। उनलाई प्रेमका पनि प्रकार हुन्छन् भन्ने लाग्छ। धेरै माया प्रेमका गीत लेखेका बराल साइनो र सम्बन्ध अनुसारको प्रेम फरक हुने बताउँछन्। बरालले पनि प्रेमलाई मागी विवाहमा परिवर्तन गरेका हुन्। प्रेम भनेर विवाहअघि उनकी श्रीमतीसँग उनको उति ठूलो दोस्ती थिएन। 

तर, विवाहअघि नै आफ्नी श्रीमतीसँग चिनजान भएका हिसाबले आफूले आंशिक रुपमा प्रेम तथा मागी विवाह दुवै गरेको बताउँछन्। तर, उनले विवाहलाई केवल जीवन जिउने सम्झौता मात्रै हो भनेका छन्। विवाहलाई सम्झौताभन्दा माथि सोच्यो भने अप्ठ्यारो हुने उनको बुझाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .