कला


१२ वर्षमा आमा, २२ वर्षमा दाजु गुमाएका रकस्टार रोबिन गाउँदा गाउँदै अस्ताए

१२ वर्षमा आमा, २२ वर्षमा दाजु गुमाएका रकस्टार रोबिन गाउँदा गाउँदै अस्ताए

फाइल तस्बिर


राधिका अधिकारी
असार २०, २०८० बुधबार १४:४, काठमाडौँ

‘चिसो चिसो हावामा’
‘जति माया लाए पनि’

‘भुलमा भुल्यो’

एक समयका चर्चित यी सबै गीत गायक रोबिन तामाङले गाएका हुन्। उनले गाएका ‘केटा केटी’, ‘मेरो माया’, ‘ठिकै छ’ लगायत गीत चर्चित भए। उनका गीत अहिले पनि उत्तिकै गुञ्जिन्छन्।

लाइभ प्रस्तुति दिएर नेपाली सांगीतिक क्षेत्र आफूलाई स्थापित गरेका रोबिन अब कुनै स्टेजमा देखिने छैनन्। लाइभ प्रस्तुति गर्दै रक गाउँदै गरेको भेटिने छैनन्। उनलाई सम्झाइरहने गीत हामीबीच छाडेर गएका छन्। 

लामो समय नेपाली संगीतमा बिताएका रोबिनसँग यो उद्योगका धेरै मानिसको सम्बन्ध हाई, हेल्लोमै सीमित भयो। उनी थोरै मानिससँगै मात्रै खुल्थे, मनका कुरा सुनाउँथे। संगीतकार राजु सिंह रोबिन निकै रिजर्भ स्वभावका भएको बताउँछन्। 

‘उहाँका गीतहरु सबै थाहा छन्। थुप्रै पटक कार्यक्रममा भेट भयो, दाजुभाइका रुपमा सामान्य कुराकानीबाहेक मनका कुरा आदानप्रदान भएनन्’, उनले सुनाए, ‘उहाँका जीवनका कथाव्यथाका कुरा भएनन्। उहाँ सीमित मानिससँग मात्रै खुल्नु हुन्थ्यो जस्तो लाग्छ।’

१२ वर्षको उमेरमै उनले आमाको काख गुमाए। रोबिनका ४ जना दाजुदिदी थिए। आमा गुमाए पनि उनले मायाको अभावमा बाँच्नु परेन। रोबिन २२ वर्षको हुँदा दाजुले पनि छाडेर गए। 

दाजुको निधनले विक्षिप्त उनले १० वर्षको अन्तरालमा अर्का दाजु र दिदी पनि गुमाए। क्रमैसँग माया गर्ने अभिभावक गुमाए पनि रोबिनले आफूलाई बलियो बनाए। मन बलियो बनाएर हिँड्नुको विकल्प पनि त थिएन। पटक पटक आफन्तको वियोग खेपेका रोबिनले जीवनप्रतिको दृष्टिकोण नै बदले।

रोबिनको जन्म सन् १९६३ मा सिंगापुरमा भएको हो। उनका बुवा बेलायती सैनिक थिए। जसको हरेक दुई वर्षमा जागिरको स्थान फेरिइरन्थ्यो। रोबिनको बाल्यकाल पनि कहिले सिंगापुर, कहिले हङ्गकङ्ग, कहिले बु्रनाई त कहिले बेलायतमा बित्यो। 

बाल्यकालमै धेरै स्थान घुम्न पाएका रोबिन धेरै देशको फ्युजनका रुपमा हुर्किए। यसैले पनि उनका रहरहरुको दायर एउटैमा सीमित भएन। एकताका रोबिन कुशल खेलाडी थिए। किक बक्सिङ र फुटबल लगायत विशेष रुचीसहित खेल्थे।

तर रोबिनको पारिवारिक माहोल सांगीतिक थियो। उनका ४ दाजुदिदी सबै संगीतका पारखी। सबै जम्मा हुँदा गीत गाउने गर्थे। दाइदिदीले गाएका गीत सुन्दासुन्दै रोबिन संगीततिर  आकर्षित भए। त्यहीबेला उनले जिमी हेन्ड्रिक्स र डिप पर्पलजस्ता रक ब्यान्डहरुका गीत सुन्न थाले।

यो स्कुल पढ्दाकै कुरा हो। रक ब्यान्डका गीत सुन्न थालेपछि रोबिनको लगाव त्यसमै बढ्यो। उनले स्कुले जीवनमै ब्यान्ड खोलेर प्रस्तुति दिन थाले। 

हाइ स्कुलको पढाई हङकङबाट सकेका रोबिन त्यसपछि बु्रनई गए। त्यसपछि थप अध्ययनका लागि क्यानडा पुगे। क्यानडामा युनिभर्सिटी अफ टोरोन्टोबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरे। तर, रोबिनको मोह र झुकाव संगीतमै थियो। 

संगीतको नशाबीच उनले मेकानिकल इन्जिनियरिङ पूरा गरे। केही समयअघि एक अन्र्तवार्तामा भनेका थिए, ‘म अहिलेको भन्दा निकै फरक जेनेरेशनमा हुर्किएँ। त्यतिबेलाको चलन के थियो भने आमाबुवाले आफ्नो सन्तानलाई कि त डाक्टर, कि पाइलट, कि नर्स, इन्जिनियर बनाउन चाहन्थे। मेरा दाजु र दिदीहरु पनि कोही डाक्टर, कोही  पाइलट त कोही नर्स थिए।’

सुरुमा रोबिनले जे पढे त्यही क्षेत्रमा काम गरे। तर उनको मन त्यहाँ रमाएन। मन रमाउला भनेर उनी केही समय व्यापार–व्यवसायमा पनि लागे। रष्टुरेन्ट खोले। रेष्टुरेन्टमा पनि मन रमाए। 

त्यसपछि उनले सांगीतिक ब्यान्ड खोले। त्यो ब्यान्डमार्फत आफ्नै रेष्टुरेन्टमा गाउन थाले। रोबिनले जीवनका १७ वर्ष क्यानडामा बिताए। उनले आफ्नो परिचय बनाउँदै गर्दा दाइदिदीको निधन भइसकेको थियो।

बाँकी परिवारका सदस्यको बसाइ पनि एकै ठाउँमा भएन। विभिनन्न देशमा छरिए। त्यसपछि रोबिनलाई लाग्यो ‘मेरो जरा कहाँ छ।’ उनी एकदिन नेपाली मन बोकेर नेपाल आइपुगे। सन् १९९६ मा उनी उनी ३ महिनाका लागि आएका थिए। तर,  त्यसपछि उनलाई नेपाल छोड्न मन लागेन। त्यसलगत्तै उनले सधैँका लागि क्यानडा छोडेर नेपालमै बस्न थाले।

रोबिन नेपाल आउँदा रक संगीत खासै चलेको थिएन। रक संगीतका स्रोता छन्/छैनन् भन्ने नै थाहा थिएन। त्यो समय ‘कब वेब’, एक्स ब्यान्ड’, ‘नमस्ते’ ब्यान्ड स्थापित हुने कसरतमा थिए। ‘१९७४ एडी’ भर्खरै स्थापना भएको थियो। सबै ब्यान्ड परीक्षणका क्रममा संघर्ष गर्दै थिए। 

सन् २००६ मा रोबिनले ‘रबिन एण्ड द न्यू रेभोलुसन’ नामको ब्यान्ड खोले। यो ब्यान्डमा उनीसँगै थिए, सुनिथ, रिजु, प्रज्जवल र शरद। ब्यान्ड खोलेको १ वर्षभित्रै एल्बम निकाले। ‘नेपाल’ नाम दिएको उक्त एल्बम सुपरहिट भयो। 

उक्त ब्यान्डबाट अर्को एल्बम ‘केटाकेटी’ निस्कियो। एल्बम निक्कै लोकप्रिय भयो। यो एल्बमले रोबिनलाई पनि लोकप्रिय बनाएर नेपाली संगीत प्रेमीमाझ चिनायो। त्यसयता यही ब्यान्डमार्फत रोबिनले निरन्तर सांगीतिक साधना गरिरहे। 

रोबिन संगीतमा मात्रै सीमित भएनन्। उनले दर्जन भन्दाबढी फिल्ममा अभिनय गरे। चलचित्र ‘छड्के’बाट अभिनय यात्रा थालेका उनी प्रायजसो नकारात्मक भूमिका देखिए। तर नेपाली सांगीतिक क्षेत्रमा थुप्रै सकारात्मक प्रयास गरे। त्यही प्रयासकै प्रतिफल उनी नेपाली संगीतका एक चम्किला तारा बन्न सफल भए।

तर तिनै चम्किला तारा मंगलबार साँझ ६ बजेदेखि हामीबाट बिदा भए। गीत-संगीत र फिल्ममा सक्रिय हुँदा हुँदै रोबिनले मंगलबार साँझ घरमै देह त्याग गरे।

अब एउटा चम्किलो नेपाली सांगीतिक आकाशबाट बिलाएको छ। अचानक उनको निधनको खबरले उनकै दामलीदेखि उनका गीतमा झुमिरहने नयाँ पुस्ताका तन्नेरी शोकमग्न भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .