कला


जुम्लामा थिएटर खोल्ने सपना पूरा गर्न गोविन्दले गरेको संघर्ष

जुम्लामा थिएटर खोल्ने सपना पूरा गर्न गोविन्दले गरेको संघर्ष

राधिका अधिकारी
असार २७, २०८० बुधबार ७:३०, काठमाडौँ

काठमाडौँको व्यस्त सडक। हरेक दिन बालुवाटारबाट मण्डला नाटकघर आइपुग्ने एउटै तालिका। यो यात्रामा साथ दिने पुरानो साइकल छ। साइकलको पाइडलभन्दा धेरै उनी बोलिरहेका हुन्छन्। मानिसहरुले अचम्म मान्दै उनकै अनुहारमा हेरिरहन्छन्। उनलाई सम्झिरहनु छ, नाटक ‘हिउँभन्दा चिसो’का हरेक संवाद। त्यसैले बाटोमा हिँड्दा पनि गोपीकै संवाद बोल्दै हिँड्छन्। 

गोपी ‘हिउँभन्दा चिसो’मा उनले बाँचिरहेको पात्र हो। बाटोमा हिँड्ने मानिसका कानमा उनको साइकलको घण्टीभन्दा धेरै ठोक्छिन्छन् गोपीका संवाद। एक्लै बोल्दै हिँडेका गोविन्दलाई मानिसहरु ‘यो बहुला हो कि’ भन्ने भावले हेर्छन्। सुरुमा गोविन्दलाई पनि अप्ठ्यारो लाग्थ्यो। हिजोआज बानी परे। मानिसहरुले जे भने पनि एकै रफ्तारमा दौडाउँछन् साइकल र तय गर्छन् मण्डला नाटकघरको यात्रा। मण्डला नाटकघरमा असार १५ बाट मञ्चन भैरहेको नाटक ‘हिउँभन्दा चिसो’मा उनले उम्दा अभिनय गरेका छन्। 

हिजोआज गोविन्दको जीवन थिएटरमय भएको छ। थिएटर र अभिनय बाहिर उनले अर्को सपना देखेका छैनन्। तर, गोविन्द थिएटरको सपना देख्दै हुर्किएका होइनन्। जुम्लाका गोविन्दले सपनाबिनै प्लस टुसम्मको अध्ययन सके। पढ्नुको उदेश्य शिक्षित हुनुबाहेक अर्को थिएन। उनले सानैमा बुबाको छहारी गुमाएका थिए।

सरकारी जागिरे पिताको देहवासनपछि उनकी आमाले सन्तानका लागि गरेको दुःख सुनाउँदै गर्दा गोविन्दका आँखा टम्म भरिन्छन्, गला बस्छ, एकैछिन् रोकिन्छन् र बोल्छन्। आमाले मेलापात गरिन्। गोविन्द पनि आमासँगै मेलापात गर्दै हुर्किएका हुन्। दाजुहरुसँग गिट्टी कुट्न खोलाको बगरमा गए। उनकी आमाको थोरै भरोसा श्रीमानको नामबाट आउने पेन्सनमा थियो। आमाको सपना कान्छो छोराले सरकारी जागिर खाओस् र सुख देओस् परिवारलाई भन्ने थियो। 

बीएसडब्ल्यू पढ्न थालेपछि गोविन्दले एउटा म्यजिकल प्ले गरे। कालिकोटको घटना माथि उनले गरेको उक्त प्लेलाई हेरेर सबैले उनलाई प्रश्न गरे, ‘तिमीले थिएटर सिकेको हौ?’ गोविन्दलाई थिएटर हुन्छ थाहा थियो, तर थिएटर के हो राम्रोसँग थाहा थिएन। जुम्लामा उनी थिएटर देखेर हुर्किएका होइनन्। दोस्रो वर्ष पनि गोविन्दले ‘साइकोसिस’ नाटक गरे। यसपटक उनलाई प्रश्न गरियो, ‘तिमी थिएटरमा काम गरिरहेका छौ?’ त्यसपछि गोविन्दलाई लागेको थियो, ‘थिएटर केही त विशेष हो।’

एकदिन गोविन्द मण्डला नाटकघरमा मञ्चन भैरहेको नाटक ‘रशोमन’ हेर्न पुगे। गोविन्दको मनमा लागिरहन्थ्यो, ‘मैले कर्णालीको कथा भन्नु छ।’ तर कसरी भन्ने थाहा थिएन। ‘रशोमन’ हेरेपछि गोविन्दलाई आफ्नो ठाउँको कथा भन्ने गतिलो माध्यम नाटक नै हो भन्ने लाग्यो। त्यसपछि उनले कलेज जानै छाडिदिए।  

गोविन्दलाई अभिनय सिक्नु थियो। नाट्यकर्मी सुनील पोख्रेलसँग गए। उनी मण्डलामा नाटक सिकाइरहेका थिए। गोविन्दले सानो स्वरमा सुनीललाई भने, ‘सर म जुम्लाबाट आएको, मलाई अभिनय सिक्नु छ। तर मसँग पैसा छैन।’ सुनीलले गम्भीर स्वरमा भने, ‘पैसा त तिमीले तिर्नु पर्छ। यहाँको सबै कुरा चल्न पनि पैसा त चाहिन्छ।’ यो क्रम ३ दिनसम्म चल्यो। सुनील बिनाशुल्क गोविन्दलाई अभिनय सिकाउन तयार भएनन्। गोविन्द हार मानेर फर्किए। 

सुनील सुनाकोठी बस्थे। त्यतिबेला गोविन्द दिदीकोमा आश्रय लिएर लगनखेल बसेका थिए। एकदिन बिहानै गोविन्दलाई सुनिलको फोन आयो। सुनिलले भने, ‘गोविन्द आऊ।’ गोविन्द सुनिलकै गाडीमा बसेर मण्डला आए। उनले मण्डलामा १ महिना अभिनय सिके। त्यसपछि केही समय गोविन्दले शैली थिएटरमा कचहरी नाटक गरे। पुनः मण्डला फर्किए। ‘बेपत्ता नागरिक’ मञ्चनको समयमा ब्याक स्टेज काम गरे। 

थिएटर सक्दासिक्दै गोविन्दको ब्याचलर सकियो। यतै बस्न गोविन्दसँग पैसा थिएन। पढ्नबाहेक अन्य कुराका लागि पैसा पठाउने परिवारको अवस्था थिए। गोविन्द सिक्दै गरेको थिएटर छोडेर जुम्ला फर्किए। उनले जे सिकेका थिए, जुम्लाका स्कुलस्कुलमा गएर सिकाउन थाले। यही क्रममा उनलाई नाटक ‘मेटासिड’मा काम गर्ने अफर आयो। ५ हजार बोकेर काठमाडौं फर्किए।

काठमाडौंको बसाइ उनका लागि सहज थिएन। रंगमञ्चको कमाइले भरथेग गर्ने मात्रै हो, गुजारा गर्नै सक्ने खालको हुँदैनथ्यो। ‘मेटासिड’मा काम गर्दैगर्दा गोविन्दले आफूसँग भएको क्यामरा बेचे। त्यो क्यामरा गोविन्दले निकै रहरले किनेका थिए। ‘मेटासिड’मा काम गरेपछि गोविन्दलाई आफूले धेरै गर्न बाँकी रहेछ भन्ने लाग्यो। त्यतिबेला पुरानो नाटकघरमा सुलक्षण भारती अभिनय सिकाउँदै थिए।

गोविन्द पुरानो नाटक घर पुगे। सुलक्षणलाई भेटे र भने, ‘मलाई अभिनय सिक्नु छ। एउटा साइकल छ, पैसा छैन। मेरो साइकल राख्नु र अभिनय सिकाइदिनुस्।’ सुलक्षण पहिलो भेटमा नम्र सुनिए। उनले भने, ‘ठिकै छ, मलाई साइकल पर्दैन। भोलिबाट क्लासमा आउनू।’ उनले सुलक्षणसँग ४ महिना अभिनय सिके। 

अभिनय त सिके। हातमा काम थिएन, साथमा पैसा। गोविन्द फेरि जुम्ला फर्किए। उनको दैनिकी दोहोरियो। स्कुलस्कुलमा जाने। केटाकेटीलाई अभिनय सिकाउने। आफैँ स्टेज बनाउने, लाइट बनाउने र उनीहरुलाई नाटक खेलाउने। त्यही क्रममा गोविन्द सोलुखुम्बु पुगेका थिए। हिरा बिजुलीले मुगुबाट फोनमा भने, ‘नाटक गर्छौ गोविन्द?’ नाटकमा जीवन खोज्न थालेका गोविन्दलाई गर्दिनँ भन्नु पर्ने कारण थिएन। सोलुखसम्बुबाट मुगु हानिए। १ महिना मुगुमै बसे। नाटक ‘गर्भछिटा’मा अभ्यास गरे। त्यही नाटक लिएर मण्डलाको फेस्टिवलमा आए। 

यो नाटक २० दिन मञ्चन भयो। ‘गर्भछिटा’मा गोविन्दले एकैपटक दुईवटा भूमिका निर्वाह गरे। गेविन्दको अभिनय खारिएको थियो। धेरैले तारिफ गरिरहेका थिए। त्यहीबेला फिल्म ‘होलटाइमर’का लागि अडिसन खुल्यो। हिराले भने, ‘अडिसनमा जाऊ न त गोविन्द।’ गोविन्द भने अडिसनमा जाँदाजाँदा हैरान भैसकेका थिए। उनले भने, ‘अडिसन फिल्म प्रमोसनका लागि मात्रै गरिने हो। मान्छे पहिला नै सेट भैसकेका हुन्छन्। जान्नँ दाइ।’ हिराले जोड गरे। अडिसनमा गए। छानिए। फिल्मको छायांकन दुई महिनापछि हुने थियो। फिल्ममा उनले जुम्ली पात्रको भूमिका निर्वाह गर्नु थियो। उनले उतै गएर तयारी गर्ने मनसाय बनाए। जुम्ला फर्किए। 

यही बीचमा हिराबिजुलीले ‘पम्फाफूल’ नाटकमा काम गर्ने प्रस्ताव गरे। नाटक काठमाडौंमा मञ्चन भयो। गोविन्द नाटक सकेर जुम्ला फर्किए। फिल्म छायांकन १ वर्ष पछि सर्यो। गेविन्दले गाउँमै बक्स थिएटर बनाए। ‘पम्फाफूल’ नाटक मञ्चन गरे। त्यतिबेला गाउँका सबैजसो पसलमा गोविन्दको नाममा उधारो थियो। नाटक मञ्चन सकियो। पसलको उधारो तिर्न पुग्ने पैसा कलेक्सन भएन। पहिलो पटक जुम्लामा नाटक मञ्चन गर्दा गोविन्दले घाटा बेहोर्नु पर्यो। उनले दुःख मानेनन्। 

नाटक सकियो। दसैैँतिहार पनि सकियो। गोविन्दलाई फिल्म छायांकनका बेलासम्म के गर्ने भन्ने भयो। एकदिन जुम्ला बजारमा बालमन्दिरको बाटो हिँड्दै थिए। बालमन्दिर गुठी संस्थानको एउटा सटरमा पुराना कबाडी सामान स्टोर गरिएको थियो, त्यसमा गोविन्दको आँखा पुग्यो। बालमन्दिरका सदस्यसँग ‘ठाउँ मलाई दिनुहोस्, यहाँ म केही गर्छु’ भने। 

त्यो सटरमा फालिएका थोत्रा सामानबाट विभिन्न सामग्री बनाए। रंगरोगन गरेर चिटिक्क पारे। क्याफे बनाउने सोच बनाए। तर गोविन्दसँग ग्यास, कफीको खुद्रा सामग्री किन्ने पैसा थिएन। जुम्ला बजारमै एलेन दिदी बस्थिन्। उनले उधारोमा ग्यास, चुलो, कफी बनाउने भाँडो, केही कागजका कप दिइन्। गोविन्दले २ सय रुपैयाँको कफीको प्याकेट, केही पोका दूध किने र सुरु गरे कफीसप। उनको कफीसप राम्रोसँग चल्न थाल्यो। उनको साथमा दुई जना भाइ पनि थिए। कफी व्यापार फस्टाएपछि गोविन्दले मम, चाउमिन पनि बेच्न थाले। क्याफे चलेकै थियो। कोरोना आयो। यो समय गोविन्दले मानिसहरुलाई घरघरमै सेवा गरे। क्वारेन्टाइनमा बसेका मानिसहरुलाई पनि उनले खाना बनाएर पु¥याए। मास्क बनाएर बेचे। 

यो गोविन्दका लागि गज्जबको अनुभव थियो। पैसाभन्दा ठूलो त्यो समय आत्मसन्तुष्टि कमाए। जुम्ला बजारमै रमाउन थालेका गोविन्दलाई एकदिन दिनेश राउतले ‘प्रकाश’ फिल्ममा काम गर्ने अफर गरे। गोविन्द काठमाडौँ आए, वर्कसपमा सामेल भए। ‘प्रकाश’मा अभिनय गरे। फिल्म प्रदर्शन भयो। 

गोविन्द एकदिन झसंग भए। उनलाई लाग्यो, ‘म कहाँ पुग्नु पर्ने मान्छे, कहाँको यात्रा गरिरहेको छु?’ त्यसपछि थिएटरमा फर्किएका गोविन्द अहिले मण्डलामा मञ्चन भैरहेको नाटक ‘हिउँभन्दा चिसो’मा अभिनय गरिरहेका छन्। यो नाटकले गोविन्दको अभिनयको भोक केही मेटिएको छ। उनको अभिनयले तारिफ पाइरहेको छ। तर गोविन्दको मन अभिनयमै अड्किएर बस्न मानिरहेको छैन। उनलाई जुम्लामा थिएटर स्थापना गर्नु छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .