कला


अभिनयको भोक मेटाउने कथा पर्खिरहेका सुशांक

अभिनयको भोक मेटाउने कथा पर्खिरहेका सुशांक

कलाकार सुशांक मैनाली।


राधिका अधिकारी
साउन १५, २०८० सोमबार १८:७, काठमाडौँ

मानिसलाई कहिले सुखको सपनाले खुशी छोड्न लगाउँछ, कहिले खुशीको सपनाले सुख छोडिहिँड्छ। कुनैदिन सुखको खोजीमा विदेशिएका कलाकार सुशांक मैनाली हिजोआज खुशीको बाटो हिँड्न देशमै फर्किएका छन्।

फिल्ममा लगानी गरेर लागेको ऋण तिर्नु उनको सुखको पाटो थियो, त्यो ऋण तिरेर फेरि फिल्ममै फर्किने उनको खुशीको बाटो थियो। ८ वर्षअघि लय समातिसकेको फिल्मी करिअर छोडी अमेरिका उडेका सुशांक देश फर्किएर अहिले खुशीको खोजीमा भौतारिरहेका छन्।

चलचित्र ‘साँघुरो’बाट फिल्म उद्योगमा डेब्यू गर्दा सुशांकको सपना थियो अभिनयको तिर्सना मेट्ने। डेब्यू फिल्मबाट बटुलेको प्रसंशा लोभ लाग्दो थियो। फिल्मको नाम साँघुरो तर सन्तुष्टि फराकिलो थियो।

त्यसपछि पनि उनले ‘टलकजंग भर्सेज टुल्के’, ‘जंगे’, ‘को आफ्नो’ लगायतका फिल्ममा काम गरेर आफूलाई स्थापित गराउने कोसिस गरे।

तर पहिलो फिल्मको ऋणको आयतन बढ्दै गयो। त्यहीबेला अमेरिकाको भिसा झर्यो, हातमा आइसकेका फिल्म छोडेर उनी उतैका लागि उडे। केही वर्ष उतै संघर्ष गरे, फिल्म बनाउँदा लागेको ऋण चुक्ता गरे। अहिले फेरि देश फर्किएका छन्।

देश छोडेसँगै यहाँको संगत छुट्यो। भेटिएर साथीसँग सपनाका कुरा गरिबस्ने जक्सन फेरिए। त्यसो त फिल्म उद्योगमा बिताएको यो ८ वर्षले अर्को जेनेरेसन नै स्थापित गराइसक्यो। केही महिनाअघि नेपाल फर्किएका सुशांक बेला बेला घोत्लिन्छन्।

‘कहाँ समाउँदा उद्योगको पुरानै गति भेट्न सक्छु, कहाँ टेक्दा उस्तै लयमा दौडिन सक्छु भनेर अलमलिन्छु’ सुशांक सुनाउँछन्। यसअघि पनि उनी देश आउने–जाने त गरेकै हुन्।

‘देश छोडे पनि फिल्मको सपनाले कहिले छोडेको थियो र? यही पछ्याइरहने सपनाकै कारण अघिल्लो वर्ष ‘बुलबुल’ निर्देशक विनाोद पौडेलसँग मिलेर ‘रबर सिटी’को सुटिङ सुरु गरेँ। मौसमका कारण फिल्म रोकिएको छ। अब हिउँदमा फिल्म पूरा गर्ने योजना छ’, रोकिएको फिल्म अगाडि बढाउने योजना सुनाउँदै गर्दा सुशांक फूर्तिला देखिए।

यति मात्रै पनि त उनको सपना होइन। उनीसँग धित मर्ने गरी अभिनय गर्ने तिर्खा अझै मेटिएको छैन।

अहिले त्यही अभिनयको भोक मार्ने फिल्मको पर्खाइमा छन्। नेपाल फर्किएको खबरसँगै केही कामको प्रस्ताव लिएर उनीकहाँ चलचित्रकर्मी पुगेका पनि छन्। उनलाई उद्योगमा देखिन मात्रै काम गर्नु छैन।

भन्छन्, ‘म मेरो अभिनयको भोक मेटाउने कथाको पर्खाइमा छु’, तर उनले पर्खिए जस्तो कथा अझै भेटेका छैनन्।

सुशांकको दिमागमा पनि थुप्रै कथा, फिल्म बन्न योग्य पटकथा दौडिरहेका हुन्छन्। तर तत्काल फिल्म निर्माणको योजनामा बनेको छैन। निर्माता बन्नुअघि उनलाई कलाकार बन्नु छ।

मुस्कुराउँदै भन्छन् ‘हिरो होइन, कलाकार क्या!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .