ad ad

कला


नाममा ड्यास थपेर पाउने भयो ‘एक भगवत गीता’ले सेन्सर सिफारिस

नाममा ड्यास थपेर पाउने भयो ‘एक भगवत गीता’ले सेन्सर सिफारिस

नेपालखबर
भदौ २४, २०८० आइतबार १४:१५, काठमाडौँ

पछिल्ला केहिदिन यता फिल्म ‘एक भगवत गीता’लाई लिएर फिल्मका निर्माता, निर्देशक र कलाकार तनावमा छन्। केही धार्मिक संघ सस्थाहरुले फिल्मको नाम परिवर्तनको माग सहित विवाद गरेपछि फिल्मले सेन्सर सिफारिस समेत पाउन सकेको थिएन।

फिल्मले सेन्सर सिफारिस नपाएपछि फिल्मकी निर्देशक झरना थापाले गएराती मर्नु न बाँच्नुको पीडा भएको भन्दै लामो स्टाटस लेखेकी थिइन्। फिल्मका निर्माता सुनिल कुमार थापाले चलचित्र विकास बोर्डमै आफू अमेरिका पलायन हुने अवस्थामा पुगेको भन्दै आँसु झारेका थिए। उनीहरुको पक्षमा सामाजिक सञ्जालमा अग्रजदेखि अनुज कलाकारले पनि आवाज उठाइरहेका थिए।

अन्ततः फिल्मले सेन्सर सिफारिस पाउने भएको छ। फिल्म निर्माण टिमले फिल्मको नाममा बीचमा ड्यास् राख्ने बताएपछी धार्मिक संघ संस्थाहरु सहमतिमा आएका हुन्। अब फिल्मको नाम ‘एक भगवत–गीता’ भएको छ।

आजै फिल्मले चलचित्र विकास बोर्डबाट जाँच पासका लागि सिफारिस पाउने भएको छ। धार्मिक संस्थाहरुले चलचित्र विकास बोर्डमा फिल्मको नाम परिवर्तनका लागि निवेदन दिएका थिए। बोर्डले नाम फेर्न लगाउन र जाँच पास सिफारिस रोक्ने बोर्डसँग अधिकार नरहेको बताएपछि धार्मिक संघ संस्था संचार मन्त्रालय पुगका थिए।

मन्त्रालयबाट सो विषयमा छलफल गरी समस्या समाधान गरिदिन भन्दै बोर्डलाई पत्र पठाएको थियो। त्यसपछि बोर्डले फिल्मका टिम र धार्मिक संघ संस्थाहरु दुवै पक्षलाई छलफल गराएको थियो।

५ दिनसम्म सहमति हुन नसकेको विवादको समाधान फिल्म निर्माण टिमले नै फिल्मको नाममा बीचमा ड्यास् राख्ने निर्णय गर्दै सच्याउन बोर्डमा निवेदन दिएपछि सुल्झिएको हो। यसपछि विरोधमा रहेका धार्मिक संस्थाहरु पनि सहमतिमा आएका हुन्।

सुहाना इन्टरटेन्ट्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन्। फिल्ममा बिपिन कार्की, सुहाना थापा, धीरज मगरलगायतका कलाकारले अभिनय गरेका छन्। फिल्म यही भाद्र २९ गतेबाट विश्वभर रिलिज हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .