टिजर, ट्रेलर र विवादका कारण पनि बहुप्रतीक्षित बन्न पुगेको झरना थापा निर्देशित नयाँ नेपाली चलचित्र 'एक भागवत र एक गीता' क्यूएफएक्स सहितका हलहरुमा प्रदर्शनको दोस्रो हप्तामा छ। दर्शकबाट मिश्रित प्रतिक्रिया पाउँदै आएको यस फिल्ममा खास के छ?
एलजीबीटीक्यूसँग सम्बन्धित मुद्दाहरू समाज, सडक र सोसल मिडियामा व्यापक रूपमा उठिरहँदा नेपाली सिनेमा जगतले पनि त्यसमा आफ्नो हिस्साको प्रयास थालेको देख्न पाइन्छ। ट्रान्सजेन्डर पात्रलाई नेपाली फिल्ममा प्राय: मसलाका रूपमा प्रयोग गरिँदै आएको पाइन्छ। निर्देशक थापाकै फिल्म 'ए मेरो हजुर' का सिरिजमा समेत 'ट्रान्स' पात्रहरूलाई कथाको मसलाका रूपमा प्रयोग गरिएको हुँदै हो।
खैर, थापाको प्रदर्शनरत चलचित्र 'एक भागवत र एक गीता'ले भने ट्रान्स पात्रकै कथा भन्ने प्रयास गरेको देखिन्छ। केही महिनाअघि मात्र भारतीय ट्रान्स अभियन्ता गौरी सावंतको जीवनमाथि बनेको बायो-सिरिज 'ताली'ले ताली नै ताली कमाउन सफल भएको थियो। थापा निर्देशित यो फिल्मभित्र पनि ताली त खुब बज्छ। तर, फिल्म हेरिसकेपछि दर्शकदीर्घाबाट भने ताली बज्छ बज्दैन, यो बेग्लै र महत्त्वपूर्ण कुरा हो। आउनुस्, ढिला नगरी अब फिल्मकै कुरा गरौँ। अर्थात्, एक भगवत र एक गीताकै कुरा गरौँ।
विपिन कार्कीबाटै सुरू गरूँ। अपेक्षा गरिएजत्तिकै विस्तृत भूमिकामा नदेखिँदा विपिन कार्कीका फ्यानहरूलाई फिल्मप्रति गुनासो नरहला भन्न सकिन्न। तर, यस्ता शीर्षकमा गुनासो राख्नु स्टारको अनुहारका लागि फिल्म हेर्नु नहोला त? खैर, 'विपिन कार्की कतिबेर स्क्रिनमा देखिन्छन्?' भन्दा महत्त्वपूर्ण प्रश्न हो- 'उनको पात्रले कथालाई र कथाले उनको पात्रलाई कति न्याय गरे?'
कार्कीको पात्र कमलामाईको चरित्र कता-कता अतिरञ्जित लागे पनि यो विशेष पात्रले कथालाई न्याय गरेकै महसुस हुन्छ। अनि, कथाले भने कमलामाईलाई न्याय गर्यो त? चरित्र निर्माणको पृष्ठभूमिलाई हेर्दा 'कमलामाई' को पात्रमा एउटा दम छ। वैचारिक चेतना र दार्शनिक चिन्तन सबल भए पनि कमलामाईले आफ्नो समुदायका लागि आवश्यक व्यवहारिक क्रान्ति भने गर्न सकेको देखिँदैन। थोरै बल र थोरै कमजोरीका बीच दर्शकले विपिनको पात्र कमलामाईप्रति मिश्रित धारणा व्यक्त गर्न सक्छन्।
यस्तै, सुहाना थापाको पात्र अर्थात् फिल्मको मुख्यमध्येको एक पात्र 'गीता'को कुरा गरौँ। फिल्ममा गीताको आफ्नो खास कुनै कथा छैन। तर, फिल्मको खास कथालाई अघि बढाउन, मोड्न-घुमाउन भने गीताको चरित्रले सहयोगी भूमिका खेलेको छ। फिल्ममा गीता चञ्चल स्वभावकी एक किशोरी हो। जो आफूभन्दा कम उमेरका बच्चाहरूसँग संगत गर्छे र आफ्नो चञ्चल स्वभावलाई अझै मलजल गर्छे।
कमलामाईकी धर्मपुत्री ऊ आफूलाई सीता र कमलामाईलाई राजा जनकसँग तुलना गर्छे। मिथिलाको रौनकपूर्ण वातावरणमा कमलामाईको लाड-प्यारमा हुर्किरहेकी ऊ आफूलाई कुनै दैविक राजकुमारीजस्तो महसुस गर्छे र आफूमा भरीभरी आत्मविश्वास बोकेर हिँड्छे। सायद त्यही आत्मविश्वासका कारण ऊ निसाना नचुकाई वाण हान्न पनि पोख्त छे। ऊ नजानिँदो गरी दार्शनिक कुरा गर्छे। उसको चरित्र अझै बलियो जगमा उभिन सक्थ्यो। र क्लाइमेक्ससम्म आइपुग्दा उसको चरित्र अविश्वासिलो प्रतीत हुन्छ। किनभने, क्लाइमेक्समा यसो भन्न सकिन्छ कि एउटा झन्डैझन्डै जादुयी घटना घटिदिन्छ। त्यो घटना के थियो फिल्म हेरिसक्नेलाई त थाहा भइहाल्ने भयो, थाहा नहुनेले थाहा पाउन फिल्म हेर्नैपर्ने हुन्छ।
अब भने फिल्मको सबैभन्दा मुख्य पात्र भगवतको कुरा गरौँ। उही गीताको संगतमा अति रमाउने बाल पात्र भगवत कमलामाईको ट्रान्स समुदायसँग नजिक छ। ऊ गीतासँग झुम्का किनिमाग्छ। ऊ घुम्टो ओढेर नाच्न रुचाउँछ। लुकीलुकी आमाको पाउजु लगाउँछ। उसको यो शृंगार प्रेम कुनै पनि विन्दुमा पुगेर रोकिँदैन। उसको यो हर्कत देखेर उसका घर-परिवारले ट्रान्स-समुदायको संगतलाई दोषी ठान्छन्।
त्यति शंकाका बाबजुद स्थितिले चरम रूप नलिँदासम्म उक्त समुदायकै संसर्गमा खुलेर रहन दिनु भने उति स्वभाविक लाग्दैन। यहाँनेर कथाले भगवतको संगत र रहनसहनमाथि कडाइ गर्न माग गर्दा पनि नगरेर लेखकले चाहेजस्तै मोड दिनकै लागि पनि फिल्मको सुरुवातमा उसलाई बहुतै फुक्का छोडिएको हो कि जस्तो लागिदिन्छ। योबाहेक भगवतले बेलाबेला गम्भीर,पाको कुरा पनि सहजै बुझिदिँदा पात्रको उमेरअनुसार उसको समझशक्ति अलि तीखो भएको होइन र भन्ने पनि लागिदिन सक्छ।
फिल्ममा धीरज मगरको पात्र सहायक मात्रै भए पनि चरित्र निर्माणका हिसाबले सबैभन्दा बलियो जगमा उभिएको पात्र हो भन्दा फरक नपर्ला।
फिल्मको सबैभन्दा प्रशंसायोग्य पक्ष हो, यसले देखाउने सांस्कृतिक विविधता र एकापसमा देखाइएको सद्भाव। फिल्मको पहिलो हाफमा नेपालको तराई भेग र त्यहाँको मैथिली संस्कृति, चाल-चलन, रहनसहनलाई देखाइरहँदा दोस्रो हाफमा मध्य पहाडी भेगको गुरुङ संस्कृति, रहनसहनलाई देखाइएको छ। दुई छुट्टै भेगका, भिन्न संस्कृतिका बीच पनि केही समानता हुने कुरालाई फिल्मले नजानिँदो गरी देखाएको छ। जस्तै, नाचगान, धनुकाँड, रंगले धनी साजसज्जा र भेषभुषा, आदि। साँच्चै, साजसज्जाको कुरा गरिरहँदा कलात्मक फ्रेममा कैद गरिएका मिथिलाका महल र माहौलका सट्सले नेपाली सिनेमामा केही कुरा पक्कै थपेको हो कि भन्ने लाग्छ। त्यसो त मध्यपहाडका फ्रेमहरू पनि कम भने छैनन्।
मेलोड्रामा फिल्म हुँदाहुँदै पनि फिल्ममा राखिएका गीतहरूले फिल्मको कथालाई बिझाएका छैनन्। बरू यसो भन्न सकिन्छ, फिल्मका गीतले सियो-धागोले झैं कथाका थुङ्गालाई एउटा मालामा उन्न सघाएका छन्। 'के तिमीलाई यो खबर छ?' बोलको गीतको बीचमा भगवत र गीता एकअर्कासँग कथाकै बहावमा संवाद गर्छन्। त्यही संवादको सिन्कोलाई टिपेर मानौँ गीतको चरा आकाशै आकाश उड्छ। यस्तै, 'नगर हतार भुनिया पर्ख एकैछिन' बोलको गीतमा तातो मकैले पात्रलाई पोल्नु बिम्बात्मक लागिदिन्छ। गीतको रचना र प्रस्तुति समेतमा गरिएको मेहनत वास्तवमै प्रशंसायोग्य छ।
फिल्ममा भरपूर ह्युमर छ तर, नहुनुपर्ने ठाउँमा पनि ह्युमर भेटिनुचाहिँ ह्युमरभन्दा माथि मजाक लागिदिन्छ।
त्यसो त, गीताको सीपमध्येको एक- चित्रकलाको पनि कथामा सार्थक प्रयोग भएको छ। एकातिर घृणाका कारण हुने ईर्ष्या, अर्कातिर मायाका कारण हुने ईर्ष्या र यी दुवैको बीचतिर कतै नजरअन्दाज गरिएको मानवता र प्रेम! तराईमा खाली खुट्टा कुद्ने पात्रहरू जसै पहाड टेक्छन् त्यहाँको सेरोफेरोले उनीहरूको खुट्टामा जुत्ता हालिदिन्छ।
यसरी अनेक डाइनामिक्स सिर्जना गर्दैगर्दै बगे पनि फिल्मको मूल मुद्दाबाट कथा भड्किएको भने छैन। यति हुँदाहुँदै पनि दर्शकलाई कताकता के नपुगेको, के बढी भएको जस्तो भने भइरहन्छ नै। किन त? किनभने, ट्रान्स समुदायको पहिचान र अस्तित्वको लडाइँ आजको नेपाली समाजमा तालीबाट कता हो कता माथि उठिसकेको छ।
हुन त कमलामाईले भनेजस्तै तालीभन्दा माथिको लडाइँ घर छोडेरभन्दा घरभित्रै रहेर गर्न सम्भव वा सहज हुन्छ। किनभने, घरभित्र रहँदा शिक्षा सहज हुन्छ। आजसम्म आइपुग्दा यथार्थ समाजमा ट्रान्स समुदायका लागि जति पनि सकारात्मक उपलब्धि भएका छन् त्यहाँ शिक्षा र त्यसले दिएको चेतनाले प्रमुख भूमिका खेलेको छ। खैर, अब भगवतको लडाइँ तालीबाट माथि उठ्न सक्ला नसक्ला? यस प्रश्नको अघिल्तिर फिल्मले दर्शकलाई नै निर्णायक छडिदिएको छ।
Shares
प्रतिक्रिया