दसैँमा समेत नभएको भिडन्त चलचित्र क्षेत्रमा आगामी माघमा हुने भएको छ।
माघ २६ गते नेपाली फिल्मको चौतर्फी भिडन्त पक्का भएको हो। यो मितिमा ४ वटा नेपाली फिल्म रिलिज हुने भएका छन्।
माघ २६ का लागि चलचित्र ‘हात्तीछाप’ले सबैभन्दा पहिला रिलिज मिति तय गरेको थियो। किरण नेपालीको प्रस्तुतिमा तयार भएको यो फिल्मलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल लगायतका कलाकारको अभिनय छ।
‘हात्तीछाप’ले सबैभन्दा पहिला रिलिज मिति लक गरे पनि सोलो रिलिज हुन भने नपाउने भएको छ। यो मितिलाई अन्य तीन चलचित्रले पनि रिलिज डेट लक गरे।
जसिता गुरुङको मुख्य भूमिका रहेको तथा दिवाकर भट्टराईले निर्देशन गरेको फिल्म ‘हनी बनी’, नायिका रेखा थापाले निर्माण गरेको तथा ज्ञानेन्द्र देउजाले निर्देशन गरेको फिल्म ‘उपहार’ र माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म ‘दयारानी’ले पनि माघ २६ लाई नै रिलिज मिति तय गरेपछि एकै दिन ४ चलचित्रको भिडन्त हुने भएको हो।
चलचित्र ‘उपहार’ मा रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल लगायतका कलाकारको अभिनय रहनेछ। तर, यस फिल्मको निर्माण टिमले औपचारिक रूपमा रिलिज मिति घोषणा भने गरेको छैन।
यसैगरी ‘दयारानी’मा दयाहाङ राई र दिया पुनको मुख्य भूमिका रहनेछ। फागुन १ गते जनयुद्ध दिवस र फागुन ७ गते प्रजातन्त्र दिवस पर्ने हुनाले यो मितिमा आफ्ना फिल्म रिलिज गर्न निर्माताहरूले तँछाडमछाड गरेका हुन्।
Shares
प्रतिक्रिया