शाहरुख खानको मुख्य भूमिका रहेको फिल्म ‘डंकी’ को ट्रेलर सार्वजनिक भएको छ। फिल्मको ट्रेलरले अवैध रूपमा विदेश जाने युवाहरूको कथालाई समेटेको छ।
ट्रेलरमा देखाइएअनुसार राजकुमार हिरानी निर्देशित फिल्मको कथा सन् १९९५ बाट सुरु हुन्छ। फिल्ममा शाहरुख हार्डी पात्रको भूमिकामा छन्। जो पन्जाबको एक गाउँमा पुग्छन्। जहाँ उनले मनु, सुखी बग्लु र बल्लीलाई भेट्छन्।
हार्डीसहित ती साथीको एउटै सपना हुन्छ- लन्डन जाने। अनि सुरु हुन्छ लन्डन जाने तयारीबीच अंग्रेजी नजान्दा खेप्नुपरेको हैरानी। त्यसपछि उनीहरू ज्यानलाई जोखिममा राखेर विदेश जान्छन्। चार पात्रको रोचक यात्रालाई ट्रेलरमा देखाइएको छ।
राजकुमार र शाहरुखले पहिलोपटक एकसाथ सहकार्य गरेका हुन्। फिल्ममा शाहरुखका साथै तापसी पन्नु, विक्की कौशल, बोमन इरानी, दिया मिर्जा लगायतको अभिनय छ।
रेड चिलिज इन्टरटेनमेन्ट, राजकुमार हिरानी फिल्मस् र जियो स्टुडिओको ब्यानरमा निर्माण भएको फिल्ममा हिरानीकै कथा छ। यो फिल्म २१ डिसेम्बरबाट रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया