ad ad

कला


विन्ध्यवासिनी म्युजिक अवार्ड : ककसले पाए यस वर्ष? (तस्बिरसहित)

विन्ध्यवासिनी म्युजिक अवार्ड : ककसले पाए यस वर्ष? (तस्बिरसहित)

नेपालखबर
चैत २, २०८० शुक्रबार १४:११, काठमाडौँ

अघिल्लो पुस्ताकी गायिका मीरा राणाले पछिल्लो पुस्ताकी गायिका बेनिशा पौडेलले गाएको आफ्नै गीत गम्भीर बनेर सुनिन्। बिहीबार राष्ट्रिय नाचघर (जमल) को मञ्चमा १४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्डको दृश्य निकै रोमाञ्चक थियो।

यस वर्षको संस्करणमा गायिका राणालाई एक लाख रुपैयाँसहित ‘विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड-२०८०’ ले सम्मान गरियो। उक्त सम्मानपछि गायिका पौडेलले राणाको लोकप्रिय गीत ‘मखमली चोली चाहिँदैन’ गाएकी थिइन्।

१४औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड ३१ विधाका संगीतकर्मीलाई प्रदान गरियो। मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउले मुख्य प्रायोजन गरेको अवार्ड समारोहमा संगीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपैयाँ राशिको ‘विन्ध्यवासिनी साधना सम्मान’ अर्पण गरियो।

पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी ‘कला पत्रकारिता सम्मान’, गायक रुपक डोटेललाई ‘प्रेमध्वज संगीत रत्न सम्मान’ तथा लोकगायक राजु परियारलाई ‘झलकमान लोकसंगीत सम्मान’बाट सम्मान गरियो। यी सम्मानको राशि २५ हजार रुपैयाँ छ। समारोहमा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित ‘अनवरत लोकदोहोरी श्रष्टा सम्मान’बाट सम्मान गरियो। 

यसैगरी सुगम संगीत गीतकार महिलातर्फको अवार्ड राधिका अधिकारीलाई प्रदान गरियो। गायक शिव परियारको स्वर तथा सन्तोष श्रेष्ठले संगीत भरेको ‘नभए यदि भर’बोलको गीतका लागि अधिकारीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

यसैगरी विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान दीपक अर्याललाई प्रदान गरियो। उनी जापानमा बसेर नेपाली गीतसंगीतका क्षेत्रमा क्रियाशील स्रष्टा हुन्।

समारोहमा आधुनिक गायनतर्फ बेनिशा पौडेल, लोक तथा दोहोरी गायनतर्फ समीक्षा अधिकारी, गीतकारतर्फ सविता पोखरेल, अभिनयतर्फ सञ्चिता शाही, सम्पादनतर्फ दीपक विष्ट, निर्देशनतर्फ काजिश श्रेष्ठलाई जुरी अवार्ड प्रदान गरियो।

समारोहमा मस्ट पपुलर आर्टिस्ट अवार्ड पल शाह र पब्लिक च्वाइस अवार्ड एलिना रायमाझीलाई प्रदान गरियो।

कार्यक्रममा सम्मानित गायक रुपक डोटेलले आफ्नै गीत सपनी राम्रो देख्दिनँ, मेरो बोली सुन्दा, ए माइली, चोखो माया लाकै हो, मुस्कानमा अल्झिए कि, वनकी चरीजस्ता गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरे।

लोकगायक राजु परियारले सम्मानपछि झलक गन्धर्वको एक टुक्का गीत गाएर उनीप्रति सम्मान प्रकट गरे। त्यसपछि उनले आफ्नो लोकप्रिय गीत ‘सुनपानीले छर्क मायालु’ गाएर सुनाए। परियारले उक्त गीत गाउँदा हलमा रहेका सबैले उनीसँगै गीत गाएकान थिए। परियार भने गायनसँगै भावुक देखिए।

गायक शिरिष देवकोटा, देवी घर्ती तथा सुनीता बुढा क्षेत्रीले ‘बैना हजुर, नजरैको भर, म त आउने थिइन’जस्ता गीत प्रस्तुत गरेका थिए। गायिका समीक्षा अधिकारीले ‘नबोली नबोली’ बोलको गीत प्रस्तुत गर्दा अभिनेता पल शाह तथा एलिना रायमाझी, काजिश श्रेष्ठ, मौसम हिमाली, विजय पुनलगायतले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए।

विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लिना शर्मा रेग्मीको स्वागत मन्तव्यबाट प्रारम्भ भएको समारोहमा मनीष गन्धर्व र उनको सारंगी स्कुलका विद्यार्थीले सारंगीमार्फत विभिन्न धुन प्रस्तुत गरेका थिए।

यी हुन् अवार्ड विजेता

सुगम गायकः निशान भट्टराई ‘प्रेमको प्रस्ताव’
सुगम गायिकाः काव्या आचार्य ‘तिम्रो यादमा’
सुगम संगीतः बिबि अनुरागी ‘जान्दिन है प्रियतम’
सुगम रचनाः सत्यराज चौलागाईं ‘संगसंगै बाँचौंला’
गीतः विष्णु भण्डारी ‘जाली माया’
सुगम महिला गीतकारः राधिका अधिकारी ‘नभए यदि भार’
संगीत संयोजनः सुदीप सागर ‘सकम्बरी’
पप गायनः टंक तिमल्सिना ‘मेरी चम्पा’
यूगल गायनः रमेशराज भट्टराई र रचना रिमाल ‘भन साइला २’
लोकदोहोरी गायकः रामचन्द्र चन्द ‘घाँटी रेट्नेलाई’
लोकदोहोरी गायिकाः जुना श्रीष मगर ‘पानी खोलीको’
लोकदोहोरी भाकाः रमेश परियार ‘वनमा खयर’
लोकदोहोरी गीतः कृष्ण भारद्वज ‘डम्बर कुमारी’
आधुनिक भिडियो मोडल जोडीः विजय पुन र गीता ढुंगाना ‘पत्थरको मुटु २’
राष्ट्रिय भावनाको गीतः बाबुराम श्रेष्ठ ‘वीर नेपाली सेना’
लोकदोहोरी भिडियो निर्देशकः मौसम हिमाली ‘रिमै’
सुगम भिडियो निर्देशकः शिशिर खाती ‘जुम्ला’
भिडियो छायांकारः नवराज उप्रेती ‘सकम्बरी’
भिडियो सम्पादकः मनोज कार्की  ‘जुम्ला’
दोहोरी नवप्रतिभाः डोलराज परियार ‘कमली’
पप तथा आधुनिक नवप्रतिभाः चेतन गोतामे ‘को आफ्नो को पराइ’
लोकदोहोरी मोडलः दीक्पाल कार्की र अनु पराजुली ‘ओ राजै’

तस्बिर-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .