ad ad

कला


‘रङ्गेली’ भारतमा पनि रिलिज हुने

‘रङ्गेली’ भारतमा पनि रिलिज हुने

नेपालखबर
चैत ४, २०८० आइतबार ८:२०, काठमाडौँ

प्रदर्शनरत नेपाली चलचित्र 'रङ्गेली' भारतमा हिन्दी भाषामा  रिलिज हुने भएको छ। युसुफ शेखको नेतृत्वमा रहेको भारतको वितरण कम्पनी एन मुभिज र जनता सिनेमाले 'रङ्गेली' लाई भारतभरी वितरण गर्नेछ।

रङ्गेलीलाई भारतका करिब एक सय स्क्रिनमा रिलिज गरिने कार्यकारी निर्माता जीतेन्द्र खतिवडाले बताए । उनले हाल यसको हिन्दी अनुवादको काम भइरहेको बताउँदै छिट्टै भारतमा रिलिज हुने मिति सार्वजनिक गर्ने सुनाए। फिल्मको हिन्दी डबिङको सबै काम मुम्बईमा भइरहेको छ।

'रङ्गेली' नेपाली भाषामा हाल अमेरिकामा समेत प्रदर्शनमा आइसकेको छ। अमेरिकामा हाउस फुल दर्शकबाट प्रदर्शनको सुरुवात भएको निर्देशक अर्जुन सुवेदीले बताए। त्यस्तै, क्यानडा, जापान, कोरिया, मलेसिया, दुबई, कतार, बहराइन, साउदी र ओमनमा पनि चलचित्र प्रदर्शन हुने तरखरमा छ। 

प्रदर्शनको दोस्रो सातामा आइपुग्दा रङ्गेलीले उल्लेखनीय रूपमा दर्शक पाइरहेको छ। दोस्रो साताको शनिवारका प्रायः हलमा दर्शकको चाप देखिएको थियो।

एन मुभिज बलिउडका सफल 'हनुमान', 'पेज ३', 'मलामाल वीक्ली', 'कर्पोरेट', 'ट्राफिक सिग्नल', 'जन्नत', 'न्युटन' जस्ता चलचित्रहरू वितरण गरेको कम्पनी हो। एन मुभिज र जनता सिनेमाले विश्वका ८० भन्दा बढी देशहरूमा चलचित्र वितरण गर्छन्।

‘रङ्गेली’मा दयाहाङ राई र मिरुना मगरसहित अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको मुख्य भूमिका रहेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .