गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले रंगमञ्च क्षेत्रमा पाइला राखेकी छिन्। उनले नाटक ‘राधा’ बाट अभिनय करिअरमा डेब्यु गर्न लागेकी हुन्।
परितोषिका मण्डला ड्रामा स्कुलको दोस्रो ब्याचकी विद्यार्थी हुन्। दोस्रो ब्याचका विद्यार्थीले तयार पारेको यस नाटकबाट पारितोषिकाको क्यारेक्टर लुक्स पनि सार्वजनिक भएको छ। जहाँ परितोषिकालाई राधाको भूमिकामा देख्न सकिन्छ।
यो नाटक सुमित्रा बोगटीको लेखन र तुलसी परियारको निर्देशनमा तयार भएको हो। वैवाहिक सम्बन्धप्रति बनेको सामाजिक धारणामा अल्झिएर आत्मनिर्णयको अधिकारको लागि विभिन्न समय र पृष्ठभूमिका महिलाहरूको भोगाइ, अनुभव र विचारलाई नाटकमा प्रस्तुत गरिएको छ।
गायिका पन्तले छोरीको अभिनय रहेको नाटक हेरिदिन आग्रह गरेकी छिन्। यो नाटक मंगलबार बिहान २ र साँझ ६ बजे मञ्चन हुँदैछ।
नाटकमा परितोषिकासहित आर्जु खरेल, अजय कार्की, हेमन्त खड्का, कृतिका बस्नेत, मिशेल घिमिरे, नविन शाही, प्रेमा गुरुङ, सर्जिक मिजार, उदित थापा, युगल श्रेष्ठको अभिनय रहेको छ।
यसअघि परितोषिकाले म्युजिक भिडिओमा समेत काम गरिसकेकी छिन्।
Shares
प्रतिक्रिया