अमेरिकी ई-कमर्श कम्पनी अमेजनका संस्थापक जेफ बेजोसले आफ्नी प्रेमिकासँग इंगेजमेन्ट गरेका छन्।
मिररले जनाएअनुसार उनले पत्रकार लरेन सान्चेजसँग इंगेजमेन्ट गरेका हुन्। हाल कान्स फिल्म फेस्टिभलका लागि फ्रान्समा रहेका बेजोस र उनकी प्रेमिकाले त्यहीँ औँठी साँटेको एजेन्सीको दाबी छ। चाँडै उनीहरू बिहे गर्न लागेको समाचारमा दाबी गरिएको छ।
इंगेजमेन्टमा बेजोसले प्रेमिका सान्चेजलाई बहुमूल्य औँठी दिएका छन्। सार्वजनिक भएको तस्बिरमा मुटुको आकार भएको बहुमूल्य औँठी सान्चेजको औँलामा देख्न सकिन्छ।
५९ वर्षीय बेजोस र ५३ वर्षीया सान्चेजले सन् २०१८देखि सम्बन्धमा थिए। २०१९ मा जेफले २५ वर्ष लामो सम्बन्धपछि पत्नी म्याकेन्जी बेजोससँग सम्बन्धविच्छेद गरेका थिए। त्यसपछि जेफ र सान्चेजले आफ्नो सम्बन्ध सार्वजनिक रूपमा खुलाएका थिए।
बेजोसका ४ सन्तान छन्।
उनकी प्रेमिका सान्चेजले मनोरञ्जन रिपोर्टर र समाचार एंकरको रूपमा काम गरिरहेकी छिन्। उनले हेलिकप्टर पाइलटको लाइसेन्स पनि प्राप्त गरेकी छन् भने एरियल फोटोग्राफीको लागि ब्ल्याक अप्स एभिएसनमा काम गरिरहेकी छन्। उनी हाल बेजोस अर्थ कोषको उपाध्यक्षको रूपमा काम गर्छिन्।
संसारकै धनीमध्ये एक जेफ विलासी जीवनशैली बिताउँछन्। इंगेजमेन्टको क्रममा उनले ५० करोड अमेरिकी डलरको डुंगामा प्रेमिका सान्चोजको मूर्ति बनाएर उपहार दिएको बताइएको छ। उक्त डुंगा ओशिनो नामक कम्पनीले बनाएको हो।
पेज सिक्स रिपोर्टका अनुसार उक्त डुंगाको नाम कोरू राखिएको छ। कोरूको उचाइ लगभग ४१७ फिट अग्लो रहेको छ, जसलाई संसारकै अग्लो डुंगा भएको दाबी पनि गरिएको छ।
प्रतिक्रिया