राजनीति


गठबन्धनमा उथलपुथल ल्याउने माधवको ‘मुभ’– देउवासँग चार पटक भेट, राष्ट्रपतिसँग परामर्श

‘माधव नेपाल प्रधानमन्त्री बन्ने अवस्था आए गठबन्धन भत्काउन तयार छौँ’
गठबन्धनमा उथलपुथल ल्याउने माधवको ‘मुभ’– देउवासँग चार पटक भेट, राष्ट्रपतिसँग परामर्श

सागर न्यौपाने
बैशाख १४, २०८१ शुक्रबार ६:४०, काठमाडौँ

पछिल्लो एक सातायता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जुनसुकै बेला सत्ता गठबन्धन ढल्न सक्ने संकेत गरिरहेका छन्।

वैशाख १० गते नरबहादुर कर्माचार्यको तेस्रो स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै अघि उनले आफूहरुलाई धेरै पेल्न खोजे उथलपुथल ल्याउने बताए।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री नपाउने देखेपछि सो पार्टी एमाले र माओवादीसँग बिच्किएको थियो। गठबन्धन छाड्ने धम्की दिएपछि सो पार्टीका दीर्घ सोडारीलाई मुख्यमन्त्री बन्न अध्यक्ष केपी शर्मा ओलीले हरियो झण्डा देखाए।

तैपनि, गठबन्धनप्रति अध्यक्ष नेपालको रोष साम्य भएको छैन। उनी किन गठबन्धनको भविष्यप्रति शंका गरिरहेका छन् त?

एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडा एमाले अध्यक्ष केपी शर्मा ओलीले हैकमवादी चरित्र देखाएको आरोप लगाउँछन्।

‘गठबन्धन तरबारको धारमा टेकेजस्तो भयो,’ उनले नेपालखबरसँग भने, ‘गठबन्धनका मुख्य पात्र एमाले अध्यक्षको बढी हैकमवादी क्रियाकलाप सहने खालको छैन। प्रचण्डको चिप्लोपनले पनि न्याय गरेन। दुवैले चरम अवसरवादी प्रवृत्ति देखाउँदा गठबन्धनमा समस्या छ।’

त्यसो त एमाले–माओवादीबीच गठबन्धन बनाउने सहमति गर्दा ओली र प्रचण्डले एकीकृत समाजवादीलाई थाहै दिएका थिएनन्। त्यही भएर पनि एकीकृत समाजवादी अध्यक्ष नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवासँग निरन्तरजसो छलफलमा छन्। नेपाल आफू प्रधानमन्त्री बन्ने पालो आउन लाग्दा कांग्रेससँगको गठबन्धन टुटेकोमा दुखी छन्। 

अध्यक्ष नेपाल र कांग्रेस सभापति देउवानिकट स्रोतका अनुसार फागुन २६ देखि अहिलेसम्म देउवा–नेपालबीच कम्तीमा चारपटक प्रत्यक्ष भेटवार्ता भइसकेको छ।

कांग्रेस–माओवादी गठबन्धन बनाउँदा मात्र होइन, त्यसलाई टिकाउन माधव नेपालले मुख्य भूमिका खेलेका कांग्रेसका एक नेता बताउँछन्। तसर्थ अहिले पनि कांग्रेसले उनीसँग निरन्तर सम्पर्क राखेको उनको भनाइ छ।

‘माधव नेपालले प्रचण्ड र हाम्रो सभापतिलाई मिलाइरहनुभएको थियो,’ ती नेताले भने, ‘अहिले प्रचण्डले धोका दिएर एमालेसँग मिल्न गएपछि स्वाभाविक रुपमा हामी नयाँ कोर्स निर्माणमा लागेका छौँ। एमाले–माओवादी गठबन्धनमा जुनसुकै बेला समस्या आउँछ भन्ने कुरा हामीले देखेका छौँ। त्यसैले उहाँसँग हाम्रो निरन्तर सम्पर्क छ।’

एकीकृत समाजवादीसँग संघीय संसदमा १० सांसद छन्। यस्तै, बागमती, सुदूरपश्चिम, लुम्बिनी र गण्डकीमा सो पार्टी सरकार बनाउन र टिकाउन निर्णायक छ।

एकीकृत समाजवादीले साथ छाड्ने हो भने कम्तीमा चार प्रदेशको सरकार ढल्न सक्छ। अर्थात् गठबन्धन दुर्घटनामा पर्छ।

यसका कारण एकीकृत समाजवादीको ‘बार्गेनिङ पावर’ बढेको छ। त्यसैले सकेसम्म धेरै लाभ लिने र हेपिएर गठबन्धनमा नबस्ने सो पार्टीका नेताहरुले बताउन थालेका छन्।

‘अब हामी पहिला जस्तो गठबन्धन महत्वपूर्ण हो भनेर बस्ने अवस्थामा छैनौँ,’ एकीकृत समाजवादीका अर्का एक पदाधिकारीले नेपालखबरसँग भने, ‘हाम्रो पार्टीले राजनीतिक लाभ जसरी पाउँछ, त्यही अनुसार अघि बढ्छौँ। धोकाको सामना, नयाँ चुनौतीको सामना गर्ने नीति अवलम्बन गर्ने ठाउँमा हाम्रो पार्टी पुगिसकेको छ।’

अहिले गठबन्धनबाट यथेष्ट सहयोग नपाएको, बढी खिसीट्युरी भएकोमा एकीकृत समाजवादीका नेताहरु रुष्ट छन्।

‘हामीले हिजो पनि विद्रोह गर्ने जोखिम उठाएकै हो, हामी विद्रोहका लागि तयार हुनेबित्तिकै यस्ता पोइन्ट विभिन्न ठाउँमा आउन सक्छन्,’ नेपालनिकट एक नेताले भने, ‘माधव नेपाल प्रधानमन्त्री बन्ने अवस्था आए गठबन्धन भत्काउन तयार छौँ।’

एकीकृत समाजवादीलाई भड्किन नदिन गठबन्धनले सुदूरपश्चिम प्रदेशको नेतृत्व र वैशाख १२ गते लुम्बिनी प्रदेशमा मन्त्रालय दिइसकेको छ।

‘चित्त नबुझ्ने कुराको डिग्री बढ्ने घट्ने क्रम भइरहेको छ,’ एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता खतिवडाले भने, ‘अब बागमती लगायत अन्य प्रदेशमा के हुन्छ, हेरौँ।’

यद्यपि, एकीकृत समाजवादीले एमाले–माओवादी गठबन्धन फलिफाप नहुने निष्कर्ष निकालिसकेको छ। त्यही भएर माधव नेपाल प्रधानमन्त्री बन्न सक्ने सम्भावनाबारे छलफल भइरहेको छ।

‘धारा ७६ (२) मा प्रधानमन्त्री बनाउन कांग्रेस–एमालेले सपोर्ट त गर्नुपर्छ नै, राष्ट्रपतिले पनि कोअपरेट गर्नुपर्छ,’ माधव नेपाललाई प्रधानमन्त्री बनाउन भइरहेका प्रयासबारे जानकार स्रोतले भन्यो, ‘यसका लागि राष्ट्रपतिसँग पनि छलफल भएर राय लिइसकिएको छ।’

कांग्रेस सभापति देउवा प्रचण्डसँग रुष्ट छन्। उनले गठबन्धन भत्काउने पहिलो उपाय एकीकृत समाजवादी देखेका छन्।

समाजवादी बाहिरिएपछि जनता समाजवादी पार्टी (जसपा) समेत बाहिरिने देउवाको बुझाइ छ। त्यसैले उनले नेपाललाई निकट राखिरहेका छन्।

एमाले अध्यक्ष ओलीका पछिल्ला केही अभिव्यक्तिले पनि गठबन्धनप्रति अध्यक्ष नेपालको निराशा बढाएको एकीकृत समाजवादीका नेताहरु बताउँछन्।

‘वामपन्थीहरु एक हुनुपर्छ भन्दा केपीजीले सहकार्य मात्र भन्नुभयो, उहाँको लागि मात्र सजिलो हुने गठबन्धन हामीले किन टिकाइदिनुप¥यो भन्ने अध्यक्ष कमरेडलाई परेको छ,’ प्रवक्ता खतिवडाले भने।

यसरी जोडिएका थिए गठबन्धनमा
२०८० फागुन २१ गते एमाले–माओवादी गठबन्धन बनेपछि एमाले अध्यक्ष ओली वर्षाैंदेखिको तिक्तता बिर्सेर अध्यक्ष नेपाललाई फकाउन कोटेश्वर घरमै पुगेका थिए।

नयाँ गठबन्धन वामपन्थीहरुको भएकोले पछि पार्टी एकता गर्नेसम्मको कुरा गरेर उनलाई गठबन्धनमा सामेल गराएका थिए।

त्यही भएर फागुन २१ मा गरिएको ८ बुँदे सहमति संशोधन गरियो। र, एकीकृत समाजवादीलाई राष्ट्रिय सभाको उपाध्यक्ष दिने सहमति भयो।

ओली र नेपालबीच सिंहदरबार गेटमै रहेको होटल बसेरामा पार्टी एकतासम्म गर्नेगरी छलफल पनि भयो।

तर, दुईमहिना नपुग्दै माधव नेपाल गठबन्धनसँग रुष्ट बन्दै गएका छन्। एमालेले अपमान गरेको, प्रचण्डले समन्वय नगरेको उनको गुनासो छ।

एकीकृत समाजवादीले गठबन्धन छाडे अहिलेको संघीय सरकार त धरापमा पर्छ नै,  चार वटा प्रदेशमा सरकार ढल्ने हुनाले गठबन्धनलाई सो पार्टीको साथ नभई नहुने अवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .