ad ad

गण्डकी


पोखरामा हटेनन् अण्डरग्राउण्ड पार्किङका व्यवसाय, महानगरबाट पुनः १० दिनको समय थप

पोखरामा हटेनन् अण्डरग्राउण्ड पार्किङका व्यवसाय, महानगरबाट पुनः १० दिनको समय थप

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १७:५१, पाेखरा

काठमाडौंका मेयर बालेन साहको भूमिगत पार्किङका लागि बनाइएका संरचनामा भइरहेको व्यापार खाली गराउने अभियानले पोखराका मेयर धनराज आचार्यमाथि नैतिक दवाव आइलाग्यो। 

पछिल्लो सयम अव्यवस्थित पार्किङ समस्याग्रस्त पोखरामा पनि सोही अभियान संचालन गर्नुपर्ने माग आएपछि उनी ‘एक्सन’मा उत्रिए।

यद्यपि, मेयर आचार्य पोखराले स्वतःस्फूर्तरुपमा यो अभियान संचालन गरेको दाबी गर्छन्। महानगरले शुक्रबारको ठीक ३५ दिन अगाडि पार्किङ प्रयोजनको लागि बनाएका ‘भूमिगत संरचना’ सोही प्रयोजनमा लगाउन सार्वजनिक सूचना जारी गर्यो।

महानगरभित्र २५० को हाराहारीमा भूमिगत संरचना भएपनि करिब ५० वटाले निर्माणताका पार्किङ प्रयोजन भनेर किटान गर्दै सुविधा लिएको ठहर गरियो। 

महानगरको एउटा टोली शुक्रबार सूचना कार्यान्वयन भए÷नभएको हेर्न अनुगमनमा निस्क्यो। टोलीले पार्किङका लागि बनाएका ४२ वटा संरचना खाली नभएको आँखाले नै देख्यो।

महानगरको टोली सूचना कार्यान्वयन नभएकोमा ‘डोजर चलाउने’ निर्णयमा पुगेन बरु तिहारसम्म खाली नगरे भत्काउने चेतावनी दिएर फर्क्यो। अर्थात् १० दिन म्याद थप गरियो। 

प्राविधिकसहितको टोलीमा रहेका महानगर प्रहरी असइ पुरुषोत्तम थापाले पहिला दिइएको ७ दिने र पछिल्लो ३५ दिने सूचनासँगै अन्तिम १० दिनको समयावधि दिइएको बताए।

चाडपर्वले त्यहाँ भइरहेको व्यवसाय सार्न कठीनाइ भएकाले १० दिन थप समय दिइएको उनको जिकिर थियो।

उनले भने,‘ दसैं र तिहारलाई हेर्दै तिहारपछि हटाउने निर्णय गरिएको हो। अहिले ताकेता गर्नुको कारण भनेकै छिटो खाली गराउने नै हो। अब कसैले अटेरी गर्छ भने तिहारपछि एक दिन पनि कुर्नेवाला छैनौँ।’

उनले महागनरले नै हटाउन परे लागेको खर्च घरधनीबाटै असुल गर्ने जिकिर गरे। महानगरका इञ्जिनियर सुदीप दवाडीले अन्डरग्राउण्ड पार्किङ रहेको भवनको गलत प्रयोग भइरहेको स्वीकारे।

घर बनाउँदा अण्डरग्राउण्ड पार्किङ बनाउँछु भन्ने तर अन्य काममा प्रयोग गर्ने प्रवृत्ति गलत भएको उनको भनाइ थियो।

उनका अनुसार पोखरा महानगरका न्यूरोड, महेन्द्रपुल, चिप्लेढुंगा, नयाँबजार, सृजनाचोकलगायतको क्षेत्रमा यस्तो प्रवृत्ति बढी रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .