ad ad

गण्डकी


‘बस एक्कासि बजारियो, म बीचमा अड्किएको रहेछु’

‘बस एक्कासि बजारियो, म बीचमा अड्किएको रहेछु’

मणिपाल अस्पतालको बेडमा सरिता ढकाल। तस्बिर : रासस


नेपालखबर
चैत ६, २०८० मंगलबार १९:२४, कास्की

रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ की २८ वर्षीया सरिता ढकाल खड्का पोखराको मणिपाल शिक्षण अस्पतालको आकस्मिक कक्षमा उपचार गराइरहेकी छन्।

रुकुमबाट काठमाडौँका लागि छुटेको बस सोमबार साँझ बाग्लुङको निसीखोला–६ मा दुर्घटना भएको थियो। जसमा सवार सरिताको ढाड र टाउकामा चोट लागेको छ।

दुर्घटनामा परेकाे बस।

सरिता तीन महिनाको छोरी ज्ञानु, ससुरा ६२ वर्षीय हर्कबहादुर केसी र सासू ५५ वर्षीया लीलासहित काठमाडौँ जाँदै थिइन्। घरबाट खाना खाएर सोमबार बिहान ९:३० बजेतिर चारै जना बसमा चढे। 

मङ्सिरमा शिक्षक पेसाबाट सेवानिवृत्त सरिताका ससुरा हर्कबहादुरको काठमाडौँमा पेन्सन पट्टाको काम मिलाउनु थियो। सासूले भनेपछि सरिता पनि छोरी लिएर जान तयार भइन्। सरितालाई पेटको समस्या भएकाले यही मेसोमा राजधानीमा राम्रो उपचार गर्ने योजना थियो।

बस मध्यपहाडी राजमार्गमा आफ्नै गतिमा गुडिरहेको थियो। साँझ पर्दै थियो। रुकुम र बाग्लुङको सीमा पातीहाल्नेमा खाजा खान बस रोक्ने यात्रुहरूको अनुमानविपरीत बस नरोकिईकन अघि बढ्यो। यात्रुहरू आफ्नै तालमा कोही निदाइरहेका थिए भने कोही मोबाइल हेरिरहेका थिए।

सरिता पनि छोरीलाई काखमा सुताएर निदाइरहेकी थिइन्। निसीखोलाको जाउलेपानीमा आइपुगेपछि बसका केही यात्रु गाडी गयो, गयो भनेर एक्कासि चिच्याउन थाले।

सरिता पनि झल्याँस्स भइन् र काखको छारीलाई च्याप्प समाइन्। बस एक बल्डङ खाएको सरितालाई याद छ। उनी त्यहीँ अड्किइछन्। 

मणिपाल अस्पतालको आकस्मिक कक्षबाट खड्काले भनिन्, ‘एक्कासि बस गयो गयो भनेर सबै चिच्याए, मलाई बोल्न आएन, छोरीलाई च्याप्प समाएँ, बस एक्कासि बजारियो, त्यही बेला म बीचमा अड्किएको रहेछु, होसमा आउँदा छोरी काखमा थिइन, बस तल थियो, उठेर छोरी छोरी भनेर चिच्याएँ।’

काखमा छोरी नदेखेपछि सरिता चिच्याइन्। भान्जाले माथि छन् भनेपछि सरिता सकी नसकी उठेर छोरी भएको ठाउँमा पुगिन्। छोरी रोइरहेकी थिइन्। भान्जाको सहयोगले उनी माथि सडकमा निस्किइन्। 

बुर्तिबाङमा सामान्य उपचारपछि बाग्लुङ जिल्ला अस्पताल पठाएकामा अहिले सरिता, छोरी, सासू-ससुरासहित पाँच जना मणिपालमा उपचाररत छन्।

दुर्घटना कसरी भयो भन्ने उनलाई केही जानकारी छैन। बस एक्कासि सडकबाट तल खसेको मात्र उनलाई थाहा छ। पछि घाइतेहरूले बस तीव्र गतिमा भएको बताएको सरिताले बताइन्। 

अहिले सरितालाई काठमाडौँ जान नहिँडेको भए हुने रहेछ भन्ने लागिरहेको छ।

‘किन काठमाडौँ जान लागेँ हुँलाजस्तो भइरहेको छ’, उनले भनिन्, ‘ठूलो भाग्यले बाँचियो, जिन्दगीमा यस्तो पनि भोग्नुपर्ने रहेछ।’

दुर्घटनामा परेका सरिता र छोरीको अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ।

उनका ससुरा हर्कबहादुर, सासू लीला र सिन्धुपाल्चोकका देवेन्द्र रिजालको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक डा. नवराज बस्ताकोटीले जानकारी दिए।

उनका अनुसार मणिपालमा पाँच जनाको उपचार भइरहेकामा गम्भीर घाइतेको मेरुदण्ड र कम्मरको हड्डी भाँचिएको छ।

बाग्लुङको निसीखोला बस दुर्घटनामा नौजनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन्। घाइतेहरू पोखरासहित बाग्लुङका विभिन्न अस्पतालमा उपचाररत छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .