ad ad

ग्लोबल


हिन्द-प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन अमेरिकाले सैन्य साझेदारी बढाउने

हिन्द-प्रशान्त क्षेत्रमा चीनलाई टक्कर दिन अमेरिकाले सैन्य साझेदारी बढाउने

नेपालखबर
कात्तिक ११, २०७९ शुक्रबार १३:५८, काठमाडौँ

संयुक्त राज्य अमेरिकाले हिन्द प्रशान्त क्षेत्रमा चीनको प्रभाव रोक्न भारत, जापान, दक्षिण कोरिया र अष्ट्रेलियासँग रक्षा साझेदारी अझै बढाउने भएको छ।

अमेरिकी रक्षा मन्त्रालयले बिहीबार निकालेको ‘नेशनल डिफेन्स स्ट्राटेजी’ शीर्षकको प्रतिवेदनमा चीनको आक्रमकता रोक्न तथा हिन्द महासागर क्षेत्रको स्वतन्त्र र खुल्ला पहुँच दिगो बनाउन ती मुलुकसँग रक्षा साझेदारी अघि बढाउने उल्लेख छ। 

रणनीतिअनुसार हिन्द प्रशान्त क्षेत्रमा चीनको सक्रियता कम गर्न अमेरिकाले भारतलाई उसको सैन्य क्षमता बढाउन मद्दत गर्नेछ। 

त्यसैगरी यस क्षेत्रमा देखिएका विवाद बल प्रयोग गरेर समाधान गर्ने चीनको प्रयास रोक्न अमेरिकाले भारत, जापान, अष्ट्रेलिया लगायतसँग मजबुत सुरक्षा संरचना-अवधारणा निर्माण गर्नेछ। 

‘हामी जापानसँगको गठबन्धनलाई आधुनिकीकरण गर्दै रणनीतिक योजना र प्राथमिकतालाई अझ एकीकृत ढंगले सुदृढ पार्दै लानेछौँ। त्यसका लागि एकसाथ मिलेर रक्षा क्षमता बढाउन काम गर्नेछौँ’,, रिपोर्टमा भनिएको छ, ‘अष्ट्रेलियासँगको गठबन्धनलाई अझ सघन पार्नेछौँ। अकस (अष्ट्रेलिया, बेलायत र अमेरिका) र इन्डो प्यासिफक क्वाडसँगको साझेदारी बढाउँदै आधुनिक प्रविधिमार्फत आपसी सहकार्य मजबुत पारिनेछ।’

रणनीतिमा चीनको बढ्दो त्रासको सामनाका लागि ताइवानको प्रतिरक्षा क्षमता अभिवृद्धि गर्न अमेरिकाले सघाउने उल्लेख छ। 

यद्यपि अमेरिकाले एक चीन नीतिलाई कायमै राख्नेछ। अमेरिकाको रणनीतिक साझेदार दक्षिण कोरियाको रक्षा क्षमता बढाउन सहयोग निरन्तर रहने रणनीतिमा उल्लेख छ। 

हिन्द प्रशान्त क्षेत्रमा देखिएका सुरक्षा चुनौतिलाई सामना गर्न बहुपक्षीय प्रयासलाई पुनर्ताजगीकरण गर्ने अमेरिकी योजना छ।

सुरक्षा चुनौती सम्बोधन गर्न क्षेत्रीय संगठन दक्षिण पूर्वी एसियाली संगठन (आसियान) को भूमिका बढाउने पनि रणनीतिमा छ। 

हिन्द प्रशान्त क्षेत्रमा अमेरिकी सैन्य र आर्थिक गठबन्धनका मुलुक र साझेदार मुलुकलाई साथमा लिएर इस्ट चाइना सी, ताइवान, साउथ चाइना सी र भारतका जमिनी सीमा विवादमा चीनले पकड राख्न चालेका प्रयासलाई टक्कर दिन सघाउने रणनीतिमा उल्लेख छ। अमेरिकी नीति र अन्र्तराष्ट्रिय कानुन अनुसार त्यस्तो कदम चालिने जनाइएको छ। 

चीनसँग विवाद रहे पनि त्यहाँको जनसेनासँग सिधा सम्पर्क स्थापित गर्ने कुरालाई अमेरिकाले प्राथमिकतामा राखेको छ। ‘चीनसँगको प्रतिस्पर्धालाई जिम्मेवारपूर्ण ढंगले व्यवस्थापन गरिनेछ,’ रिपोर्टमा छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .