ad ad

ग्लोबल


बाइडेन–सी वार्ता : अमेरिका र चीनलाई द्वन्द्वतर्फ धकेल्ने मुद्दामा भएन कुनै प्रगति

चार घण्टा वार्ता, दुई नतिजा
बाइडेन–सी वार्ता : अमेरिका र चीनलाई द्वन्द्वतर्फ धकेल्ने मुद्दामा भएन कुनै प्रगति

नेपालखबर
कात्तिक ३०, २०८० बिहिबार १५:१३,

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भएको चार घण्टा लामो शिखर बैठकले अपेक्षित नतिजा नदिएको विश्लेषण भएको छ। यद्यपि सीसँगको बैठकलाई बाइडेनले आफू राष्ट्रपति बनेपछिकै रचनात्मक र फलदायी वार्ता भनेका छन्।

उनीहरुबीच सैन्य सञ्चार खुला गर्ने र फेन्टानिल उत्पादन कम गर्ने सहमति भएको छ। तर, अमेरिका र चीनलाई द्वन्द्वतर्फ धकेल्ने मुद्दाहरुमा भने कुनै प्रगतिको संकेत देखा परेको छैन।

उनीहरुले एकअर्कासँग गरेको सबैभन्दा महत्वपूर्ण प्रतिबद्धता हो– संवाद जारी राख्ने र संकटका बेला एकअर्काको फोन उठाउने।

दुवै पक्षले जारी गरेका वक्तव्यहरुका अनुसार ताइवानबारे उनीहरु आआफ्नै अडान दोहो¥याएका छन्।

गत वर्ष अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले अमेरिकासँगको सिधा सैन्य सम्पर्क बन्द गरेको थियो। त्यसलाई खोल्ने सहमति भएको छ। 

सहमतिको अर्को विषय हो फेन्टानिलको उत्पादन सीमित गर्ने। पीडानाशक औषधिका रुपमा प्रयोग गरिने फेन्टानिललाई लागुऔषधका रुपमा प्रयोग गर्दा लाखौँ अमेरिकीको ज्यान गएको छ।

राष्ट्रपतिद्वयबीच प्रविधिको प्रतिस्पर्धाका विषयमा पनि कुराकानी भयो। अमेरिकाले विभिन्न प्रविधि चीनमा निर्यात गर्न प्रतिबन्ध लगाएको छ। 

अमेरिकाले आधुनिक कम्प्युटर चिप प्रतिबन्ध लगाएको विषयमा सीले कुरा उठाएका थिए। वार्तामा चीनको औद्योगिक क्षमतालाई ध्वस्त पार्न यस्तो गरिएको आरोप सीले लगाएको द न्युयोर्क टाइम्सले एक अधिकारीलाई उधृत गर्दै लेखेको छ। तर, बाइडेनले सैन्य उदेश्यले प्रयोग हुने कुनै पनि प्रविधि नदिने भन्दै त्यसको बचाउ गरेका थिए।

आणविक हतियारको कमान्ड एन्ड कन्ट्रोल सिस्टममा एआईको प्रयोगलाई प्रतिबन्ध गर्ने विषयमा बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार चिनियाँ विदेशमन्त्री वाङ यीबीच कुराकानी जारी राख्ने सहमति भएको छ।

केही वर्षअघिको तुलनामा अमेरिका र चीनबीच अहिले सहकार्य विषयहरु पनि निकै सीमित छन्। केही वर्षअघिसम्म दुई देशका नेताबीच केही न केही काम संयुक्त रुपमा गर्ने सहमति हुन्थ्यो। उदाहरणका लागि बुधबारको वार्तामा उत्तर कोरियासम्बन्धी कुनै कुरा भएन।

बाइडेनले सीलाई इरानको प्रभाव मत्थर पार्ने काममा सघाउन आग्रह गरे पनि कुनै सहमति भएन।

दुई नेताले संयुक्त वक्तव्य पनि जारी गरेनन्। 

बाइडेनले पेलोसीको भ्रमणयता चीनले ताइवानवरिपरि सैन्य गतिविधि बढाएको उल्लेख गरे। सीले जवाफमा किन अमेरिकाले ताइवानलाई हतियार दिइरहेको हो भनेर सोधे र हतियार बेच्न रोक्न गरे। तर, अमेरिकाले ताइवानलाई अझै हतियार बेच्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .