‘६२ वर्षको उमेरमा मेरा सबै सपना चकनाचुर भए। हामी दोषीलाई कडाभन्दा कडा सजाय चाहन्छौँ।’
३१ वर्षीया डाक्टरको बलात्कार र हत्यापछि भारतमा फेरि महिला सुरक्षाको बहस सुरु भएको छ। कोलकाताकी यी डाक्टरका बुबाले आफ्नो घरमा बीबीसी हिन्दीसँग कुरा गरे।
छोरीको डरलाग्दो हत्यापछि उनीहरूको सामान्य देखिने घर यतिबेला मिडियाको क्यामेराको केन्द्रमा छ।
यस रिपोर्टबाट पीडित परिवारका सदस्यको नाम हटाइएको छ। भारतीय कानुनले बलात्कार पीडित वा उनको परिवारको पहिचान सार्वजनिक गर्न निषेध गरिएको छ।
पीडितका बुबा भन्छन्, ‘हाम्रो राज्य, हाम्रो देश र सारा संसारले पनि न्याय मागिरहेको छ।’
पीडितकी आमा आफ्ना पतिपछाडि चुपचाप बसिरहेकी थिइन्।
बुवाको सधैँ ख्याल राख्थिन्
यही अगस्ट ९ रात कोलकाताको आरजी कर मेडिकल कलेजमा एक जुनियर महिला डाक्टरको बलात्कारपछि हत्या भयो।
अस्पतालभित्रको सेमिनार हलमै उनको बलात्कार र हत्या भएको थियो।
घटना हुनुअघि राति करिब ११ बजे पीडितले आमासँग फोनमा कुरा गरेकी थिइन्।
आमा आफ्नी छोरीका अन्तिम शब्द सम्झन्छिन्, ‘यो कुरामा एकदमै ध्यान दिनु– बुवाले समयमै औषधि खानु, मेरो बारेमा चिन्ता नगर्नु।’
पीडितका बाबुलाई उच्च रक्तचापको समस्या छ, त्यसैले उनले समयमै औषधि खान जरुरी छ।
आफ्नो घरमा बीबीसी हिन्दीलाई दिएको अन्तर्वार्तामा पीडितका बुबाले भने, ‘उनी सधैँ यो कुरामा एकदमै ध्यान दिन्थिन् कि मैले कुनै पनि खुराक लिन नबिर्सिऊँ।’
उनी अगाडि सुनाउँछन्, ‘एकदिन औषधि सकिएको थियो। मैले भोलिपल्ट किन्ने विचार गरेको थिएँ। तर छोरीले थाहा पाइहालिन्। रातको १० वा ११ बजिसकेको थियो। उनले जबसम्म औषधि आउँदैन, तबसम्म कसैले खाना नखाने अडान लिइन्। मेरी छोरी यस्ती थिइन्। मलाई कहिले पनि कुनै कुराको अभाव महसुस हुन दिइनन्।’
कोलकातामा भएको ती महिला डाक्टरको बलात्कार/हत्याले सन् २०१२ को दिल्लीमा भएको सामूहिक बलात्कारको घटनालाई ताजा बनाएको छ।
त्यतिबेला एक २२ वर्षीया युवतीलाई गुडिरहेको बसभित्रै सामूहिक बलात्कार गरिएको थियो। यस क्रममा उनको शरीरमा यति गहिरो चोट लागेको थियो कि उनी बाँच्न सकिनन्।
यसपछि कानुन कडा बनाइयो
दिल्लीमा भएको यो सामूहिक बलात्कारपछि यौन उत्पीडनविरुद्धको कानुन कडा बनाइएको थियो।
यसपछि महिलाविरुद्ध हुने यौन दुर्व्यवहार र हिंसाविरुद्धका मुद्दा दर्ता गर्ने क्रम त बढ्यो तर न्याय पाउन अझै पनि चुनौती देखिएको छ।
कोलकाता बलात्कार र हत्या प्रकरणपछि स्वास्थ्यकर्मीहरूले सामना गर्ने चुनौतीहरूप्रति फेरि एकपटक ध्यान तानिएको छ।
घटनाको निष्पक्ष छानबिन गरिनुपर्ने र कार्यस्थलमा विशेषगरी महिलाको सुरक्षा सुनिश्चित गर्ने कानुन बनाउनुपर्ने स्वास्थ्यकर्मीको माग छ।
केन्द्रीय स्वास्थ्य मन्त्री जेपी नड्डाले डाक्टरहरूलाई काम गर्ने ठाउँमा राम्रो सुरक्षा वातावरण बनाउन कडा कदम चालिने आश्वासन दिएका छन्।
राष्ट्रिय चिकित्सा आयोगले कार्यस्थललाई सुरक्षित बनाउन सम्बन्धित सबै मेडिकल कलेज र संस्थानलाई सुझाव दिएको छ।
उक्त बलात्कार/हत्याविरुद्ध कोलकातामा मात्रै नभई भारतका अन्य सहरमा पनि विरोध प्रदर्शन भइरहेका छन्।
प्रहरी सुरक्षा र पीडित परिवार
हामीले पीडित परिवारलाई घरमै गएर भेट्यौँ।
घर जाने बाटोमा एकातिर प्रहरी ब्यारिकेड, दर्जनौँ क्यामेरा र कैयौँ न्युज च्यानलका रिपोर्टरले पलपल रेकर्ड गरिरहेका थिए भने अर्कातिर सेतो बर्दीमा १० देखि १५ जना प्रहरी तैनाथ देखिन्थे।
यी प्रहरीहरूको एउटै उद्देश्य के थियो भने क्यामेराले ब्यारिकेड पछाडिको दृश्य खिच्न नपाओस्। त्यही ब्यारिकेड पछाडि छ– पीडितको घर।
अगस्ट ९ को राति ३६ घण्टाको नाइट सिफ्ट सकेर ती जुनियर महिला डाक्टर सेमिनार हलमा आराम गर्न गएकी थिइन्।
जहाँ भोलिपल्ट बिहान उनी मृत अवस्थामा फेला परिन्।
यो घटनापछि न्यायको माग गर्दै कोलकातालगायत भारतका धेरै सहर प्रदर्शन भइरहेका छन्।
कोलकातामा ‘रिक्लेम द नाइट’ मार्च निकालियो र देशभरका करोडौँ महिलाको सुरक्षाको माग गरियो।
छोरी गुमाएपछि परिवार स्तब्ध
पीडितका बुवा भन्छन्– अस्पतालभित्रै ड्युटीमा रहेकी मेरी छोरीमाथि यस्तो निर्दयी कार्य गरियो।
छोरी गुमाएपछि यो परिवार स्तब्ध छ।
छोरीबारे बुबा अगाडि भन्छन्, ‘उनको बिहे लगभग तय भइसकेको थियो तर उनी भनिरहेकी थिइन्– बुवा, पैसा कहाँबाट ल्याउने भनेर चिन्ता नगर्नुहोला, म सम्हाल्छु।’
यसो भनिरहँदा पछाडिबाट उनकी श्रीमती रोइरहेको आवाज आइरहेको थियो।
तपाईं यस घरको बैठक कोठाको छेउका सिँढी उक्लिनुभयो भने त्यहाँ पीडितको कोठा छ।
जुन कोठाको ढोका ११ दिनयता खुलेको छैन। अगस्ट १० देखि यी बुवा–आमा छोरीको कोठामा पस्न सकेका छैनन्।
बुबा भन्छन्, ‘उनी सानै छँदा हामीले आर्थिक कठिनाइ थियो। त्यतिबेला उनी ५ वर्षकी थिइन् होला। उनलाई फलफूल, विशेषगरी अनार निकै मन पर्थ्यो। एकपटक हामी बाहिर निस्कँदा उनले भनिन्– बुवा, पूजाका लागि अनार लानुहुन्न? उनले आफ्ना लागि कहिल्यै केही मागिनन्...।’
वाक्य पूरा गर्न नपाउँदै उनका आँखाबाट आँसु बग्यो।
यसपछि एक आफन्तले उनलाई सान्त्वना दिँदै भने, ‘आफूलाई सम्हाल्नुहोस्।’
बुवाको काँधमा बोझ
बलियो रहने भार बुबाको काँधमा छ।
पीडित उनकी एक्ली छोरी थिइन्, जसलाई सानैदेखि पढ्ने मन थियो। विद्यालयमा शिक्षकहरूले सधैँ प्रशंसा गर्थे।
बुबा सुनाउँछन्, ‘उनी सानो छँदा शिक्षकहरूले उनलाई बोक्थे। हामी निम्न मध्यम वर्गीय परिवारका हौँ, सबै कुरा हामीले आफ्नै बलबुताले बनाएका हौँ।’
उनले भावुक हुँदै थपे, ‘मानिसहरूले भन्थे– छोरीलाई डाक्टर बनाउन सकिँदैन। तर मेरी छोरी सबैलाई गलत साबित गर्दै सरकारी मेडिकल कलेजमा भर्ना भएकी थिइन्।’
हामी कुरा गरिरहँदा पीडितकी आमा भने चुपचाप सुनिरहेकी थिइन्।
हातका चुरा खेलाइरहिन्। जुन चुरा उनले डाक्टर छोरीसँगै गएर किनेकी थिइन्।
उनले हरेक रात सुत्नुअघि छोरीले डायरी लेख्ने गरेको सम्झिइन्।
पीडितकी आमा भन्छिन्, ‘छोरीले डायरीमा मेडिकलमा गोल्ड मेडल जित्न चाहेको लेखेकी थिइन्। उनी राम्रो जीवन बिताउन र हाम्रो हेरचाह गर्न चाहन्थिन्।’ बीबीसी हिन्दीबाट
Shares
प्रतिक्रिया