ad ad

ग्लोबल


पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइँदै

पूर्वडीआईजी छविलाल जोशीलाई पोखरा ल्याइँदै

वाशुदेव मिश्र
असोज ६, २०८१ आइतबार १८:४३, पोखरा

सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका पूर्वडीआइजी छविलाल जोशीलाई पोखरा ल्याइँदैछ।

आइतबार काठमाडौंबाट पक्राउ परेका उनलाई पोखरा ल्याउने तयारी भएको प्रहरी स्रोतले जानकारी दियो। स्रोतका अनुसार उनलाई राति ८ बजेको बुद्ध एयरबाट पोखरा ल्याइँदैछ।  

हिरासतमा राख्नको लागि आवश्यक पर्ने मेडिकल रिपोर्ट पनि पोखरामै गराउने तयारी गरिएको पनि स्रोतको दाबी छ। 

सहकारी संस्था बचत दुरुपयोगसम्बन्धी संसदीय विशेष समितिले प्रतिवेदन बुझाएसँगै कारवाहीको ठगी प्रकरणमा डामिएकाहरुलाई कारवाही गर्ने बाटो खुलेको थियो।

गृहमन्त्रालयले आइतबार नै कारवाही प्रक्रिया अगाडि बढाउन परिपत्र गरेपछि कास्कीसहित सहकारी प्रकरणसँग जोडिएका जिल्लाका प्रहरी कार्यालयले सक्रियता बढाएका थिए। यद्यपि, कास्की प्रहरीले त्यस्तो परिपत्र आएको स्वीकारेको छैन।

कास्कीका प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले सार्वजनिक रुपमै अनुसन्धानका सबै पाटो सकिएको र प्रहरी तम्तयार अवस्थामा बसेको भने बताउँदै आएका छन्। 

सहकारी ठगी प्रकरणमा जोडिएका धेरै व्यक्तिविरुद्ध कास्की प्रहरीमा गत माघ २४ गते जोशीको शंखमूलस्थित घरमा प्रहरीले छापा मारेको थियो। उनको घरबाट बरामद भएका चारवटा सर्भरमा जीबी भन्ने गितेन्द्र बाबु राई जोडिएका चारवटा सहकारीको १० अर्ब रुपैयाँभन्दा बढी कारोबारको विवरण प्रहरीले फेला पारेको थियो।

सर्भरमा पोखराको सूर्यदर्शन सहकारी, चितवनको सहारा सहकारी, वीरगञ्जको सानोपाइला सहकारी, बुटवलको सुप्रिम सहकारीको पनि कारोबार विवरण फेला परेको थियो। जीबी राईका व्यावसायिक साझेदार समेत रहेका पूर्वडीआईजी जोशीले ती सहकारीको तथ्य खुल्ने सर्भर लुकाइदिएको खुले पनि उनका विरूद्धमा किटानी जाहेरी थिएन।

सूयदर्शन सहकारी पीडित संघर्ष समितिका अध्यक्ष किरण श्रेष्ठका अनुसार सहकारी पीडितहरुले २०८० साल साउनमा १ हजार ३५ जनाको जाहेरीसहित सूर्यदर्शन सहकारीविरुद्ध उजुरी दर्ता गराएका थिए।

जिल्ला प्रहरी कार्यालयमा जाहेर भएको सो जाहेरीको दर्ता नम्बर ९८० ‘सी’ वान नम्बर दिइएको थियो। प्रहरीले सो जाहेरी लिएपछि आउने सबै उजुरीहरु त्यही दर्ता नम्बरमा नै जोडिने बताएको थियो। सुरुको उजुरीमा गृहमन्त्री रविको नाम थिएन।

तर, पछि पीडितहरुले २०८० माघ २२ मा  ४ जना मान्छे र १४ वटा कम्पनीविरुद्ध किटानीसहित पूरक जाहेरी बुझाएका थिए। त्यो किटानी जाहेरीमा छविलालको नाम भने छैन तर उनको घरबाट सूर्यदर्शन सहकारीको कारोबार समेटिएको सर्भर बरामद भएकाले उनलाई पक्राउ गरिएको र कास्की ल्याइन लागेको हुनसक्ने सूर्यदर्शन सहकारी पीडित संघर्ष समितिका संयोजक किरण श्रेष्ठले बताए।

उनका अनुसार २५ जना पीडितले हस्ताक्षर र ल्याप्चे लगाइ पेश गरेको पूरक निवेदनको एक नम्बरमा नै रविको नाम उल्लेख छ । सहकारी ऐन र ठगीसम्बन्धी कानूनमा टेकेर दिइएको निवेदनको कसूर गर्ने व्यक्तिको नाम, थर ठेगाना भन्ने शीर्षकमा स्थायी ठेगाना काठमाडौं जिल्ला कामनपा वडा नम्बर ६, वर्ष ४८ को रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक,सूर्यदर्शन सहकारीमा खाता नम्बर १०३९०००६६७५७ भएको) भन्ने किटानी गरिएको छ।

यस्तै उनीसँगै पूर्वसंचालक समिति अध्यक्ष ज्ञानबहादुर बमजन, खाता नम्बर ११६–०००३०७१ भएका नेत्रपाणि बास्तोला,नन्दकिशोर पुनका छोरा दीपेश पुन (खाता नम्बर ११६–०००३०७१)विरुद्ध पनि त्यहाँको रकम हिनामिना गरेको भन्दै किटानी जाहेरी दिइएको छ।

पीडित बचतकर्ताले गोर्खा मिडिया प्रालि काठमाडौं, नेचर हर्व प्रालि काठमाडौ, नेचर नेष्ट प्रालि काठमाडांै, वारीसान ईन्फओमेसन टेक्नोलोजी काठमाडौं, स्प्रङउड रियल स्टेट एण्ड हाउजिङ प्रालि काठमाडौं, चोनी क्यापीटल प्रालि काठमाडौ, चेनी क्यापिटल प्रालि काठमाडौं, ग्रीजी स्पुन प्रालि काठमाडौं, गोर्खा ग्रुप इन्भेष्टमेन्ट प्रालि काठमाडौं, स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, न्यूरोड काठमाडौं,सानो पाइला बचत तथा ऋण सहकारी वीरगंज, साहारा बहुउदेश्यीय सहकारी चितवन, सुप्रीम बचत तथा ऋण सहकारी बुटवल, जिनी ग्रुप अफ कम्पनी प्रालि काठमाडौं, गोर्खा आयुर्वेदिक प्रालि काठमाडौंविरुद्ध पनि किटानी जाहेरी दिएका छन्।

यो जाहेरीको आधारमा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परे भने पनि उनलाई पोखरा ल्याइने निश्चितजस्तो देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .