ad ad

ग्लोबल


ट्रम्पको दाबी- इरानले मलाई मार्ने प्रयास गरेको थियो तर असफल भयो

ट्रम्पको दाबी- इरानले मलाई मार्ने प्रयास गरेको थियो तर असफल भयो

नेपालखबर
असोज ९, २०८१ बुधबार १२:८, काठमाडौँ

अमेरिका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफूलाई मार्न चाहेको तर त्यसमा सफल नभएको दाबी गरेका छन्। तर उसले फेरि प्रयास गर्नसक्ने आशंका पनि व्यक्त गरेका छन्। 

ट्रम्पले सामाजिक सञ्जालमार्फत आफ्नो ज्यानलाई इरानबाट ठूलो खतरा रहेको आरोप लगाएका हुन्। 

उनले लेखेका छन्- सम्पूर्ण अमेरिकी सेना हेर्दै र पर्खिरहेको छ। इरानले प्रयास गरेको थियो तर असफल भयो। तर उसले फेरि प्रयास गर्नेछ। यो अवस्था कसैको लागि राम्रो होइन। म धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु। म यसअघि कहिले यति धेरै मानिसले घेरिएको थिइनँ।

आफ्नो सुरक्षाका लागि थप रकम विनियोजन गरेकोमा उनले अमेरिकी संसद्‌लाई धन्यवाद भनेका छन्। 

उनले अगाडि लेखेका छन्- रिपब्लिकन र डेमोक्र्याटिक सांसदहरू यस मुद्दामा एकजुट भएको देख्दा राम्रो लाग्यो। तर, पूर्वराष्ट्रपतिलाई हमला भयो भने त्यो आक्रमणकारीले आफ्नो मृत्युलाई निम्तो दिनुजस्तै हो।

अमेरिकी राष्ट्रपति चुनावअघि ट्रम्पको यस्तो भनाइलाई कतिपयले उनको नयाँ स्टन्टका रूपमा लिएका छन्। तर, ट्रम्पको यो भनाइपछि अमेरिकी राष्ट्रपतिको सुरक्षाका विषयमा बहस सुरु भएको छ।

अमेरिकामा आगामी नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदै छ। रिपब्लिकन उम्मेदवार ट्रम्पले डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिससँग प्रतिस्पर्धा गर्दै छन्। 

हालै ट्रम्पलाई चुनावी सभाका क्रममा कानमा गोली लागेको थियो भने त्यसपछि उनको गल्फ कोर्सनजिक गोली चलेको थियो। पछिल्लो घटनामा एक जनालाई पक्राउ पनि गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .