इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले चार वर्षपछि पहिलोपटक शुक्रबारको प्रार्थनामा सम्बोधन गर्दै इस्लामिक देशहरूलाई एकताबद्ध हुन अपिल गरेका छन्।
इरानका ‘शत्रुहरूले’ इस्लामिक संसारमा विभाजनको बीउ छर्ने आरोप लगाउँदै उनले त्यसको निन्दा गरे। साथै उनले इरानले इजरायलमा गरेको ब्यालिस्टिक मिसाइल आक्रमणलाई जायज पनि भने।
अयातोल्लाहले यो सम्बोधन गरिरहँदा मोसल्ला मस्जिदमा उनको कुरा सुन्न ठूलो भीड जम्मा भएको थियो।
खामेनीले इजरायली हवाई हमलामा मारिएका हिजबुल्लाहका शीर्ष नेता हसन नसरल्लाहलाई सम्झेर आफ्नो सम्बोधन सुरु गरेका थिए।
यसअघि अयातोल्लाह अली खामेनीले सन् २०२० मा अमेरिकाले इरान रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) का जनरल कासिम सुलेमानीको हत्या गरेपछि शुक्रबारको प्रार्थनालाई सम्बोधन गरेका थिए। त्यसअघि खामेनीले सन् २०१२ मा यस्तो सम्बोधन गरेका थिए।
नसरल्लाहको मृत्युपछि इरानले मंगलबार राति इजरायलमा करिब २०० ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। त्यसयता इजरायलले पनि इरानमा आक्रमण गर्न सक्ने आशंका गरिएको छ।
आफ्नो सम्बोधनमा खामेनीले प्यालेस्टाइन प्रशासन र लेबनानलगायत अन्य मुस्लिम देशका शत्रु नै इरानका दुश्मन भएको बताए।
Shares
प्रतिक्रिया