अन्तर्वार्ता


एमसीसी पास गर्न माओवादी–समाजवादी तयार नभए एमालेतर्फ नजर लगाउनै पर्छ : विश्वप्रकाश शर्मा (अन्तर्वार्ता)

एमसीसी पास गर्न माओवादी–समाजवादी तयार नभए एमालेतर्फ नजर लगाउनै पर्छ : विश्वप्रकाश शर्मा (अन्तर्वार्ता)

केशव सावद
फागुन ११, २०७८ बुधबार २२:५५, काठमाडौँ

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनको विषय यतिबेला नेपाली राजनीतिको गाँठो बनेको छ। सत्तासाझेदार दलहरुले ६० अर्बको अनुदान सहयोग परियोजना एमसीसीको विपक्षमा मत दिने बताइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले विपक्षी दल नेकपा एमालेको साथ लिने प्रयास गरिरहेका छन्। यसै सन्दर्भमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मासँग नेपालखबरले गरेको वार्ता :

संसदमा टेबल भएको एमसीसी सम्झौता अनुमोदनका लागि नेपाली कांग्रेसले कस्तो तयारी गरेको छ? 
एमसीसी अनुमोदन गर्ने प्रक्रिया नेपाली कांग्रेसका लागि मात्रै चासो र चिन्ताको विषय हुनु पर्नेभन्दा पनि सबै राजनीतिक दलहरुको साझा चिन्ता, चासो र दायित्वकोे विषय हो। केपी ओली प्रधानमन्त्री हुँदै गर्दा उहाँले संसदमा दर्ता गर्नुभएको प्रस्ताव हो। यसमा उहाँको नैतिक जिम्मेवारी छ। र, प्रचण्ड सरकारमा रहनुभएको बेलामा यसका महत्वपूर्ण प्रक्रियाहरु अगाडि बढेका थिए। यस कारण उहाँको पनि नैतिक जिम्मेवारी छ। 

राजनीतिक रुपमा भन्ने हो भने हामी सबैको जिम्मेवारी छ। नेपालको विश्वसनीयता कायम राख्ने कुरो र कतिपय प्रश्नहरु नागरिक तहमा उठ्दै गर्दा त्यसलाई सम्बोधन गर्दै नागरिक पंक्तिलाई विश्वासमा लिँदै यसलाई पास गरेर राष्ट्रिय निर्माणको, देशको समृद्धिको यात्रामा यसलाई उपयोग गर्ने यात्रामा सबैको दायित्व छ।

मलाई लाग्छ, नेपाली कांग्रेसले नेतृत्व गरेको सरकारले जुन दृढताका साथ यसलाई अगाडि बढाउन चाहेको छ यसको गाम्भीर्यलाई अरुले पनि बुझ्नु हुनेछ। र, हामी यसलाई निष्कर्षमा पुर्याउन सफल हुनेछौं।  

सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एमसीसीको विपक्षमा उभिने निर्णय नै गरेको अवस्थामा कांग्रेससँग विकल्प के छ?

अहिले देखिएको मौजुदा दृश्य जस्ताको त्यस्तै रहला भन्ने म सोच्दिनँ। किनभने विगतमा पनि हामी फरक–फरक अडान लिन्थ्यौँ। संविधान निर्माणमा पनि हामी फरक–फरक अडानमै थियौँ। तर, एउटा विन्दुमा पुगेपछि साझा निष्कर्षमा आयौँ। यो विषयमा पनि साझा निष्कर्षमा हामी पुग्ने छौँ। पुग्नुपर्छ। मलाई लाग्छ, अहिले देखिएको अडान, अहिले देखिएका फरक मतहरु भनेको सस्तो लोकप्रियताका लागि राखिएका मतहरु हुन्।

विगतमा आफैँ सरकारमा रहेर गरेका सम्झौताहरु, आफैँले अगाडि बढाएका विषयहरुलाई निष्कर्षमा पु¥याउन उहाँहरु सबै नै साझा जिम्मेवारीबोधका साथ आउनु हुनेछ। यो अपेक्षा गरिरहँदा अहिले म एमसीसी पारित हुँदैन भन्ने कोणबाट सोच्दै सोच्दिनँ। एमसीसी पारित गर्नलाई हामी राष्ट्रिय एकता निर्माण गर्न सफल हुनेछौँ। 

माओवादी र एकीकृत समाजवादीले नसघाए कांग्रेसले के गर्छ?
सत्ता गठबन्धनका दलहरुसामु नैतिक प्रश्न, राजनीतिक प्रश्न, राष्ट्रप्रतिको जिम्मेवारीबोधको प्रश्नलगायतका यावत प्रश्नहरुको घेरामा उहाँहरु हुनुहुन्छ। जस्तोः दुईतीन वटा सम्भावनाका कुराहरु गरौँ न। उहाँहरुले सघाउनु हुनेछ, हामी सहमतिपूर्वक नै यसलाई टुंग्याउने छौँ भन्ने आशा गरौँ, एउटा विषय। 

दोस्रो विषय– सरकारको नेतृत्व गर्दैगर्दा आफैँले अघि बढाएको प्रस्ताव, अहिले सरकारमा सहभागी भएको बेलामा अघि बढाइएको प्रस्ताव हो यो। सरकारमा सँगसँगै रहने र त्यही सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान नगर्ने भन्ने कुरा संसदीय  परिपाटीमा कल्पना गर्न सकिँदैन। 

विपक्षमा मतदान गरेको अवस्थामा– हामी गठबन्धनमा छौँ तर सरकारमा छैनौँ भन्नुपर्ने अवस्थामा कमरेड प्रचण्ड र माधव नेपालहरु पुग्नुहुन्छ। किनभने आफैँ सरकारमा सहभागी भएर सरकारले ल्याएको प्रस्तावको विपक्षमा मतदान गर्नु वा प्रस्तावको विपक्षमा उभिनु भनेको सरकार छोड्नलाई नैतिक रुपले तयार हुनुपर्ने चित्र हो। 

गठबन्धनमा भएको तर सरकारमा नभएको राष्ट्रिय जनमोर्चाले सरकारको प्रस्तावको विपक्षमा उभिन पाउँछ। तर, सरकारमा रहेका दलहरुले सरकारले ल्याएको प्रस्तावको खिलाफमा संसदीय प्रक्रिया विपरीत मत दिने, सरकारको प्रस्ताव फेल गर्नका लागि उभिने कर्म भनेको नैतिक, राजनीतिक, संसदीय र मर्यादित कुनै पनि हुँदैन। 

त्यसकारण उहाँहरु एमसीसी अनुमोदनको विपक्षमा उभिनु हुने छैन भन्ने कांग्रेसले आशा र अपेक्षा गरेको छ।​

प्रधानमन्त्री प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग पनि एमसीसी पारितका लागि छलफलमै हुनुहुन्छ। एमालेसँग भइरहेको छलफलको प्रगति कहाँसम्म पुग्यो?
नेपाली कांग्रेसका सभापति एवम् सम्माननीय प्रधानमन्त्री र पूर्वप्रधानमन्त्री नेकपा एमालेका अध्यक्षका बीचमा ‘वन अन वन’ संवाद भएको छ। नेताहरुसहित बसेर पनि संवाद भएको छ। 

कमरेड केपी ओलीले सरकारको नेतृत्व गर्नुभएको बेलामा बडो प्रष्ट भाषामै एमसीसी देशका लागि आवश्यक परियोजना हो, यसमा कुनै राष्ट्रघात छैन, यो विकाससँग सम्बन्धित परियोजना हो र यसलाई हामी अगाडि बढाउँछौँ भनेर संसदमा अनुमोदनका लागि दर्ता गर्नुभएको थियो। 

मलाई लाग्छ, अहिले पनि त्यो कुरामा उहाँ कायम हुनुहुन्छ। त्यसकारण अहिले के हो भने नेतृत्व तहमा कुरा गर्दैगर्दा उहाँहरु र हामी दुवै एमसीसी पारित गर्नुपर्छ भन्ने प्रष्ट मानसिकतामा छौँ।   

तर, त्यसका केही प्राविधिक कुराहरु, व्यवस्थापकीय समस्याहरु छन्। उहाँहरु प्रतिपक्षमा हुनुहुन्छ। हामी सरकारमा छौं। उहाँहरुका कतिपय राजनीतिक प्रश्नहरु छन्। जुन प्रश्नसँग सरकारको विषय गाँसिन्छ। अथवा गठबन्धनमा रहेका दलहरुको विषय गाँसिन्छ। 

त्यसकारणले मलाई लाग्छ कि हामी कांग्रेस र एमाले दुवैथरी एमसीसी पारित गर्ने विषयमा सहमत पनि भएको तर सहमत भइसकेको विधिवत् रुपमा सार्वजनिक जानकारी पनि गराइनसकेको र गठबन्धनमा उभिएका कतिपय विषयहरु हल गर्न बाँकी रहेको अवस्थामा छौँ। र, यो अन्तिम समयमा निष्कर्षमा पुग्छ भन्नेमा आशावादी छौँ। 

त्यसो भए प्रतिपक्षी नेकपा एमालेसँग मिलेर कांग्रेसले एमसीसी सम्झौता संसदबाट पारित गर्न लागेको हो?  
अहिले त्यसो नभनौँ। एमसीसी पारित गर्नुपर्छ भन्ने कुरामा हामी सहमत छौँ। संसदमा सरकारले कुनै प्रस्ताव ल्याउँदै गर्दा सम्भव भएसम्म सरकारले गठबन्धनमा रहेका दलहरुको सहमतिका साथ त्यसलाई अनुमोदनका लागि बहुमत जुटाउन खोज्छ। 

अन्यथा वडाको चुनावमा लड्दै गरेको कुनै एक व्यक्तिले होस् वा सरकार गठन गर्न लागेको प्रधानमन्त्रीले होस् वा कुनै प्रस्ताव संसदमा पेस गर्न लागेको सरकार होस्, उसको हरेक समयको प्रयत्न बहुमत ल्याउने हुन्छ। 

अनि वडाको चुनाव लड्दै गरेको व्यक्तिले बहुमत ल्याउने प्रयत्न गरिरहेको हुन्छ भने यस्तो गम्भीर प्रश्नमा, यत्रो राष्ट्रिय महत्वको प्रश्नमा, देशको समृद्धिसँग गाँसिएको प्रश्नमा नेपाली कांग्रेसले सत्ता गठबन्धनको साथ खोजेर बहुमत पुर्याउन चाहनु र बहुमत पुर्याउँदा पुर्याउँदै पनि विपक्षलाई पनि गाँसेर अझै जबर्जस्त ढंगको बहुमत पुर्याउन चाहनु स्वाभाविक नै हो। 

तपाईंले भनेको प्रश्नको जवाफ दिँदै गर्दा सत्ता गठबन्धनका सहयात्री दलहरु बहुमत पुर्याउन तयार हुनुहुन्न भने बहुमतको खोजीका लागि विपक्षतर्फ नजर लगाउनु, विपक्षलाई पनि विश्वासमा लिनतर्फ लाग्नु हाम्रो दायित्व नै बन्छ नि। यसका लागि प्रधानमन्त्रीले जुन प्रयत्न गरिरहनुभएको छ, त्यो बिल्कुलै सही गरिरहनुभएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .