निर्वाचन आयोगले उपनिर्वाचनको मिति तोकेसँगै इलाम क्षेत्र नम्बर–२ मा चुनावी रौनक ह्वात्तै बढेको छ। राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारहरू जित्ने रणनीति बनाउन थालेका छन्।
गत भदौ २६ गते सो क्षेत्रबाट निर्वाचित सांसद सुवास नेम्वाङको निधनपछि आगामी वैशाख १५ गते त्यहाँ उपनिर्वाचन हुन लागेको हो। संविधानसभाका पूर्वअध्यक्षसमेत रहेका नेम्वाङले पाँच पटकसम्म लगातार जितेको सो क्षेत्रमा अब कसले जित्ला भन्ने चासो छ।
गत निर्वाचनमा कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले गठबन्धनको बलमा नेम्वाङलाई कडा टक्कर दिएका थिए। अबको निर्वाचनमा ‘हारको बदला’ लिने दाउमा छन् उनी। इलामको भूगोलमा ३० औँ वर्षदेखि खटिएको दाबी गर्ने खड्काले गत निर्वाचनमा पनि आफ्नो हार स्वीकारेका छैनन्।
पुनः मतगणना भए आफूले नै जित्ने बताउँदै आएका खड्का यसपटक इलामका जनताले जिताउनेमा विश्वस्त छन्। उनै खड्कासँग आगामी निर्वाचनबारे नेपालखबरले गरेको संवाद :
इलामको उपनिर्वाचनमा यसपटक टिकट पाउनुहुन्छ?
टिकट पाउने सम्भावना छजस्तो लाग्छ। किनभने, मैले पहिलोपटक टिकट पाएर चुनावमा जितेकै हो। आदरणीय सुवास नेम्वाङ दाइसँग चुनाव लड्दा झिनो मतले पराजित भएँ। यसमा अहिले पनि सर्वोच्चमा मुद्दा छ, पुनः मत गनी पाऊँ भनेर। त्यो मत गनियो भने अहिले पनि मैले जितिरहेको छु। राष्ट्रिय फिगरसँग चुनाव लड्दै गर्दा पनि जितेको कारणले त्यहाँ मैले अहिले पनि हार स्वीकारेको छैन।
अर्को कुरा, म आफैँ जिल्ला सभापति भएको कारणले टिकट मैले नै पाउँछुजस्तो लागेको छ।
पार्टी सभापतिबाट टिकटको आश्वासन पाउनुभएको छ?
हो। हुन त कांग्रेसका अन्य नेताहरूले पनि पार्टी सभापतिले तयारी गर्नुस् भनेर भन्नुभएको बताउँदै आउनुभएको छ। मेरो हकमा, मलाई पार्टी सभापति, महामन्त्रीज्यूहरूले पनि तपाईं चुनाव लडेको मान्छे हो, तयारी गर्नुस् भन्नुभएको हो। म तयारीमा जुटेको छु। मैले टिकट नपाए पनि सभापति भएको कारणले जिताउने मेरो कर्तव्य हुन्छ। म फिल्डमा खटिएर चुनावको तयारीका लागि काम गरिरहेको छु।
अहिलेको तयारी कसरी अघि बढेको छ?
हामी चुनाव जित्ने गरी नै लागेका छौँ। विशेष गरी युवाको हकमा, रोजगारी, मठमन्दिर या खेलकुदका क्षेत्रमा होस् सबै कुरामा हाम्रो पार्टी र म आफैँ लागिरहेका छौँ। इलामका सम्पूर्ण जनतालाई मैले दुःखसुखमा साथ दिएको छ भन्ने थाहा छ। हामी सामाजिक कार्यमा पनि सक्रिय रहेको कारण यसपटक इलाममा जित्छौँ भन्नेमा विश्वस्त छौँ।
गठबन्धनबाट, विशेष गरी माओवादीबाट सहयोग हुन्छजस्तो लाग्छ?
यो गठबन्धन भनेको राष्ट्रिय स्तरबाट निर्णय हुने कुरा हो। केन्द्रीय नेताहरूले गठबन्धन गर्नुभयो भने हामीले जिल्लामा बोलेर मात्रै हुँदैन। त्यसकारण यो गठबन्धन निकै वर्षसम्म अघि जान्छजस्तो मलाई लाग्छ। राष्ट्रियस्तरमा गठबन्धन अहिले नै भत्कने अवस्था छैन। शीर्षस्थ नेताहरूले निर्णय गर्नुहोला।
कोसीकै सन्दर्भमा, राष्ट्रिय सभा निर्वाचनका कारण समीकरण फेरिन सक्छ भन्ने छ। उपनिर्वाचनमा तपाईंले भनेजस्तो सहज नहोला कि?
यो निर्वाचनमा कांग्रेस डल्लैले धोका दिएको होइन। केहीकेही व्यक्तिले धोका दिएको हो। माओवादीका साथीहरूले पनि यो कुरा बुझ्नुभएको छ। यो सानोतिनो कुराले केन्द्रको गठबन्धन भत्कँदैन भनेर प्रधानमन्त्रीज्यू र सभापतिज्यूले पनि भनिरहनुभएको छ।
तपाईंले भनेजस्तै माओवादीले भोट दिए पनि इलामको सन्दर्भमा पहिचानवादीले भोट दिने आधारचाहिँ के छ?
पहिचानको सन्दर्भमा, म आफैँ सभापतिको हैसियतले नेतृत्व गरेर १४ वटै सभापतिलाई पहिचानको पक्षमा नेपाली कांग्रेसले पुनर्विचार गर्नुपर्छ भनेको छु। उहाँहरूको आन्दोलनलाई सपोर्ट गर्नुपर्छ भनेर लिखितरूपमा केन्द्रीय कार्यसमितिलाई पनि जानकारी दिएका छौँ। त्यसपछि पटकपटक पहिचानवादीको आन्दोलनलाई पनि सहयोग पुर्याएको छु। उहाँहरूको कुरालाई सम्बोधन गर्नुपर्छ भन्नेमध्येको म पनि एउटा हुँ। अहिले पनि इलामको कुनै कुनाकाप्चामा कार्यक्रम गर्दा हामीलाई अवरोध भएको छैन। पहिचान भनेको हाम्रो सभ्यता हो, सभ्यताको विरोध हामी गर्दैनौँ।
त्यसकारण भोलि गर्न सक्दा नेपाली कांग्रेसले नै सही ट्र्याकमा ल्याउने उहाँहरूले बुझ्नुभएको छ। भविष्यमा कांग्रेसको सहयोग पहिचानवादी साथीहरूलाई पनि चाहिन्छ। त्यसकारण उहाँहरूले पनि हामीलाई सहयोग गर्नुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु।
राष्ट्रिय स्वतन्त्र पार्टी पनि त्यहाँ खटिन थालिसकेको छ। रास्वपाको तयारीलाई कसरी हेर्नुभएको छ?
उहाँहरू बल्लबल्ल इलाममा देखिन थाल्नुभएछ। इलामको विकास निर्माण र जनताको सहयोगका लागि भर्खरै त सुरुवात गर्न थाल्नुभएको छ। हामी त तीसौैँ वर्ष अघिदेखि यहाँको विकास निर्माणमा लागिरहेका छौँ। उहाँहरूले भर्खर थाल्नुभएको हो। इलामका जनतालाई साथ दिन खोजेकोमा म धन्यवाद दिन चाहन्छु। तर हामी तीसौँ वर्षदेखि लागेका हौँ। उहाँहरूलाई सन्दकपुरदेखि चुलाचुली हुँदै तोरीबारीसम्म पुग्नका लागि करिब बर्खामा हो भने एक डेढ महिना लाग्थ्यो। अहिलेको अवस्थामा पनि ४/५ दिन माथिदेखि तलसम्म पुग्नै मात्र लाग्छ। सबै वडामा पुग्नका लागि ३/४ महिना लाग्छ। उहाँहरू सबै वडामा घुम्न पनि भ्याउनुहुन्न।
जो कोही पनि इलाममा आएर सहयोग गर्ने, विकास गर्नेलाई हामी सहयोग गर्छौँ। चाहे जुनसुकै पार्टी होस्, हामी गम्भीर रूपमा हेर्दैनौँ।
तपाईंहरूको प्रतिस्पर्धी रास्वपा हो कि एमाले?
इलाममा प्रतिस्पर्धा भनेको एमाले र कांग्रेसकै हुन्छ।
एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उठाउने चर्चा छ। उहाँलाई कसरी हेर्नुहुन्छ?
उहाँ एकजना राम्रो भाइ हुनुहुन्छ। हाम्रो साथीको छोरा हुनुहुन्छ उहाँ। उहाँको भिजन के छ? इलामका लागि के गर्न चाहनुहुन्छ भन्ने मैले अहिलेसम्म बुझेको छैन। हाम्रो परिचय पनि छैन। उहाँको भिजन नबुझी उहाँसँगको प्रतिस्पर्धा कस्तो हुन्छ, भन्न सकिँदैन। म दाँज्न चाहन्नँ।
पहिलो कुरा, इलामको भूगोलमा जोकोही भए पनि भिज्नुपर्यो। चुलाचुली हुँदै तोरीबारीसम्म पुगेर त्यहाँका बाटाघाटा कस्ता छन्, त्यहाँका मान्छेको जनजीवन कस्तो छ? कस्तो विकास निर्माण चाहेका छन्? अहिलेसम्म किन हुन सकेन? अहिलेसम्म इलामको क्षेत्र नम्बर २ ‘पश्चिमको कर्णाली’ नामबाट किन मुक्त हुन सकेन भन्ने इलामेली जनतालाई थाहा छ। अबका मतदाता बौद्धिक हुनुहुन्छ। अहिले मैले त्यसलाई गम्भीररूपमा लिएको छैन। पहिला उहाँको भिजन बुझ्छु र त्यसपछि मात्रै उहाँसँगको प्रतिस्पर्धा कसरी अघि बढ्छ भन्ने कुरामा जान्छु।
यसअघि पनि थोरै मतले चुनाव हार्नुभयो। अबको चुनाव जित्नुभयो भने तपाईंको प्राथमिकता के हुन्छ?
मैले इलाममा बसेर बीसौँ वर्षदेखि जनताको सेवा गरिरहेको छु। भूकम्पको बेलामा होस् या कोरोनाकालमा, बाढीपहिरो आएको बेलामा, दुःखीबिरामी भएको बेलामा, फुटबल, भलिबल, बास्केटबल लगायतका हरेक खेलमा, मठमन्दिर निर्माण लगायतमा सेवा गर्दै आएको छु। मैले त्यही गरेबापत् इलाममा ६०/६५ वटा सम्मान पाएको छु, राष्ट्रिय सम्मान पनि पाएको छु। मैले के गर्नेभन्दा पनि डम्बर खड्काले के गरिरहेको छ भनेर इलामका अग्रज र स्थानीयले नियालिरहनुभएको छ। म सेवाभावले काम गर्छु।
मौका पाएँ भने अझै यहाँ परेका अप्ठेरामा जनताको साथमा रहन्छु। मसँग राजनीतिक अनुभव पनि छ, विकास निर्माणमा अनुभव पनि छ। राष्ट्रिस्तरका नेताहरूसँग पनि राम्रो सम्बन्ध रहेकोले इलामको विकासका लागि समन्वय गरेर अघि बढ्न सक्छु। इलाम विकास निर्माणमा पछि परेको छ, यहाँ विकास निर्माण करिब शून्य अवस्थामा पुगेको छ, बजेट पनि शून्य अवस्थामा पुगेको छ। ती कुराहरूलाई सम्बोधन गर्दै महत्त्वपूर्ण काम गर्छु भन्ने मलाई लागेको छ।
Shares
प्रतिक्रिया