ad ad

कर्णाली


यसकारण रोमाञ्चक हुँदै छ कर्णाली राजधानी सुर्खेतको चुनाव

पाँचदलीय गठबन्धनलाई एमालेले कसरी थेग्ला?
यसकारण रोमाञ्चक हुँदै छ कर्णाली राजधानी सुर्खेतको चुनाव

नेपालखबर
भदौ २९, २०७९ बुधबार ७:९, काठमाडौँ

संघीयता आत्मसात् गरेपछि नेपाल दोस्रो पटक आमचुनावमा होमिँदै छ। आगामी मंसिर ४ गतेका लागि चुनावको मिति पनि तोकिइसकेको छ। यस अर्थमा आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता नै हुनेछ। 

प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि निकालिएको एउटै निर्वाचनतालिका बहुप्रतीक्षित छ। अर्कोतर्फ कांग्रेससहितको पाँच दलीय गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमालेले पनि बाँकी दलहरुसँग गठबन्धनको तयारी गर्दै छ। यसैले यो निर्वाचन थप रोमाञ्चक हुने देखिएको छ।

वर्तमान राजनीतिक समीकरणमा फेरबदल ल्याई गठबन्धनको अभ्यास सुरु गर्ने कर्णाली प्रदेश यसपटक विशेष चर्चामा छ। नेपाली कांग्रेसका शक्तिशाली उपसभापति पूर्णबहादुर खड्कादेखि बजेट निर्माणको प्रकरणबाट समेत बढी चर्चामा रहेका जनार्दन शर्माको समेत गृहप्रदेश भएकाले कर्णालीलाई बढी चासोका साथ हेरिएको हो। 

कर्णाली प्रदेशको तत्कालीन नेकपा सरकारलाई ढलाउन फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वालासहितका नेताहरु, मुख्यमन्त्रीका लागि पटक–पटक प्रयास गरे पनि असफल भएका एमालेका प्रदेश इन्चार्ज यामलाल कँडेलदेखि माओवादीका प्रभावशाली नेता तथा निवर्तमान मुख्यमन्त्री महेन्द्र बहादुर शाही र माओवादीका उपमहासचिव शक्ति बहादुर बस्नेत समेत यसै प्रदेशमा छन्। हाल मुख्यमन्त्री रहेका कांग्रेसका केन्द्रीय कार्य सम्पादन समिति सदस्य जीवन बहादुर शाही त प्रदेश सरकार प्रमुख नै भइहाले।

भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा कर्णाली प्रदेशका ७९ वटा पालिकामध्ये कांग्रेसले ३२, माओबादीले २३ र एमालेले १५ र समाजवादीले ४ स्थानमा विजय प्राप्त गरेको छ। स्वतन्त्र लगायतले ५ स्थानमा जितेका छन्। यसअघिको निर्वाचनमा कांग्रेस तेस्रो भएको थियो। एमालेलाई यसपटक ठूलो क्षति पुगेको छ भने माओवादीले समेत केही सिट गुमाएको छ। वि.सं. २०७४ सालमा सम्पन्न निर्वाचनमा एमालेले २७ स्थान जितेको थियो। यसपटक एमालेले विगतका १२ पालिका गुमाएको देखिन्छ। 

माओवादीले पनि आफ्नो गढ मानिएको पश्चिम रुकुमको मुसिकोट नगरपालिकासहित २ वटा पालिका गुमाएको छ। तर एकीकृत समाजवादीले ४ सिट मात्र जितेर फ्लोर क्रस गर्ने कामलाई दुस्साहसमा सीमित गरेको छ। स्थानीय चुनावमा कर्णालीका प्रायः जिल्लामा गठबन्धन हुन जाँदा कांग्रेसले नै लाभ उठाएको छ।

स्थानीय तहको निर्वाचनलाई आधार मानेर हेर्दा कर्णालीमा ४० प्रतिशतभन्दा बढी स्थानमा कांग्रेसले बाजी मारेको छ। यद्यपि कांग्रेसले उचित टिकट वितरण, नेता व्यवस्थापन र प्रचारलाई प्रभावकारी बनाउनसकेको भए ४५ भन्दा बढी स्थानमा जित्ने सम्भावना रहेको थियो। एमालले १९ प्रतिशत मात्र सिट जितेको छ। एमालेमा आन्तरिक मनमुटाव भए पनि गठबन्धन, फुटको शिकार हुनुपरेको देखिन्छ। माओवादीले भने २९ प्रतिशतभन्दा वरपरको सिट जितेर दोस्रो स्थान सुरक्षित गरेको देखिन्छ। २ वटा स्थान घटे पनि माओवादी कर्णालीमा कमजोर नै छ भन्ने स्थिति रहेन। बरु स्वतन्त्र उम्मेदवारहरुले जितेर यस प्रदेशमा पनि दलहरुलाई सोच्न बाध्य पारेका छन्। यिनीहरुले एकीकृत समाजवादीको ५.१ प्रतिशतभन्दा थोरै बढी ६.३ प्रतिशत सिट हात पारेका हुन्। 

कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेत सधैँ चर्चामा रहने गर्दछ। प्रतिनिधि सभाका लागि दुईवटा निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि चारवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतको निर्वाचनले कर्णाली प्रदेशभर नै गम्भीर प्रभाव पार्दछ। यसैले यहाँबाट चुनावी लहर फैलाउन सबै दलहरु आआफ्नो रणनीति बनाउन लागिरहेका छन्। सुर्खेतको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसले केन्द्रीय उपसभापति पूर्णबहादुर खड्कालाई प्रत्यक्षतर्फ उमेदवार बनाउन एकल नाम सिफारिस गरेको छ। 

गठबन्धनले उनको उमेदवारीलाई सहजै स्वीकार्ने देखिएको छ। यहाँबाट कांग्रेसले समानुपातिक तर्फपनि भेरिगंगाका नरहरी भट्टराई र गंगा भुषालको नाम सर्वसम्मत रुपमा सिफारिस भएकाले एकताको सन्देश दिन सफल भएको छ। यसै क्षेत्रबाट वर्तमान सांसद धु्रव शाही कै उमेदवारी हुने लगभग पक्कापक्की छ। ठकुरी समुदायको उल्लेखनीय उपस्थिति रहेको यस निर्वाचन क्षेत्रमा शाहीलाई बलियो उमेदवारको रुपमा हेरिएको छ। 

उता पूर्व माओवादी कमिसार ठम्मर बिष्ट एमालेमा प्रवेश गरेका र उनी प्रदेश सभा १ ‘क’ बाट प्रदेश सदस्यमा एमालेबाट उम्मेदवार बनाइने चर्चाले एमालेले आफ्नो सशक्त उपस्थिति बनाउने देखिएको छ। यस क्षेत्रमा राप्रपाको भूमिकालाई पनि गंभिर रुपमा हेर्नु पर्दछ।

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचन क्षेत्र नं १ मा रहेका वडाहरुबाट कांग्रेसले ३६ हजार नौ सय २८ मत प्राप्त गरेको थियो भने एमालेले ३४ हजार आठ सय ४३, माओबादीले पाँच हजार ७५, राप्रपाले ६६४, एस पार्टीले ६३४ मत प्राप्त गरेका थिए। यस निर्वाचन क्षेत्रमा रहेका गठबन्धनका दलहरुले प्राप्त गरेको जम्मा मत ४२ हजार छ सय ३७ छ भने एमालेको मतमा राप्रपा समेतको समेत मत जोड्दा ३५ हजार पाँच सय पाँच मात्र हुन आउँछ।

सात हजारभन्दा बढी फरक हुने भएकाले गठबन्धन बलियो देखिन्छ। वीरेन्द्रनगर नगर पालिकाका वडा नं. १५ र १६ को मत दुवै समूहको हाराहारी भएकाले खासै फरक पर्दैन। बरु स्थानीय चुनावपछि थपिएका २७०० भन्दा बढी मतदातामध्ये १७०० जति मत कांग्रेसका मात्रै थपिएको अनुमान छ। यसैले गठबन्धन समूह बलियो देखिन्छ। 

यस क्षेत्रमा पर्ने दुईवटा प्रदेश सभा निर्वाचन क्षेत्रमा सिटको बाँडफाँट कसरी हुन्छ, त्यसले गहिरो प्रभाव पार्ने देखिन्छ। एमालेले यसै निर्वाचन क्षेत्रको प्रदेश ‘क’बाट माओवादी तर्फबाट निर्वाचित निवर्तमान प्रदेशसभा सदस्य ठम्मर विष्टलाई उम्मेदवार बनाएमा माओबादी तर्फको मत तान्न सक्ने देखिन्छ। 

अर्कोतर्फ भेरी बेल्ट कांग्रेसको पकेट क्षेत्र मानिन्छ, विष्ट यसै क्षेत्रका बासिन्दा हुन्। उनी उमेदवार भएमा गठबन्धनलाई निकै धक्का पुग्ने देखिन्छ। त्यसैगरी पूर्व शिक्षक डण्डी प्रसाद शर्मा २०६४ सालको निर्वाचनमा हत्या गरिएका ऋषि प्रसाद शर्माकाका भाइ भएका कारण उनलाई पनि बलियो उमेदवारको रुपमा हेरिएको छ। 

बौद्धिक युवा नेता टेकेन्द्र कुमार बस्नेत यस प्रदेशका सशक्त प्रतिभा हुन्। पुराना नेता खगेन्द्र घर्तीलाई समानुपातिक तर्फ उम्मेदवार बनाएर गएमा एमालेको अवस्था मजबुत हुने देखिन्छ। हालका प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री खड्ग खत्रीलाई एमालले धु्रव शाहीको ठाउँमा उठाउने संभावनापनि बलियो छ। चुनावमा खर्चपर्च पनि गर्न सक्ने भएकाले उनको संभावना पनि बढी देखिन्छ। त्यसैगरी एकको ख प्रदेश निर्वाचन क्षेत्रमा रहेका तीनवटा पालिकामध्ये दुईवटा पालिकामा एमालले जितेको छ। त्यसबाट एमालेले यहाँ स्थानीय तहहरुलाई अनुकूल रुपमा परिचालन गर्नसक्छ। पूर्वशिक्षक धनसिंह खड्का, व्यवसायी दीपेन्द्र योगीलगायत यस प्रदेशका एमाले आकांक्षी हुन्।

उता कांग्रेसले प्रदेशसभाका लागि एउटा आफूले राखेर एउटा प्रदेश सभा निर्वाचन क्षेत्र गठबन्धनको दललाई छोड्न सकेमा कांग्रेसको प्रतिनिधि सभा समेत सुरक्षित हुन सक्छ। प्रदेश क मा रहेका दुई पालिकामध्ये कांग्रेसले एक र एमालेले एक स्थानमा जितेका छन्। यहाँबाट कांग्रेसबाट जिल्ला सभापति खड्ग पोखरेल र पूर्व जिल्ला उपसभापति टेक बहादुर सिंह बलिया दाबेदार देखिन्छन्। 

सम्भावना बोकेका डा. नरेश ढकाललाई पूर्ण बहादर खड्कालाई कतारको राजदुत बनाएर तर्काइसकेका छन्। यसबाट खड्कालाई बिगतमा गुमेको दूईसय जति मत लाभ हुने देखिएको छ। यद्यपि यहाँबाट पूर्वशिक्षक चित्र बहादुर रेग्मी र यस प्रदेश कार्यसमितिका सभापति केशर बहादुर वली पनि आकांक्षी छन्। तर मूल प्रतिस्पर्धा पोखरेल र सिंहबीचमै हुने देखिन्छ।

कांग्रेसभित्रको गुट व्यवस्थापन गर्न होस् वा ठकुरी मतदाताहरुको सम्बोधन गर्न सिंहलाई उमेदवारी दिन सकेमा गठबन्धन बलियो हुनसक्छ। पोखरेललाई समानुपातिकमा राखेर जाँदा कांग्रेसको अन्तर्घातको समस्या हल हुनेदेखिन्छ। निर्वाचन क्षेत्र नं एक को ख मा गठबन्धनले माओबादीलाई भाग दिएमा गठबन्धनमा भोट क्रस नहुनसक्छ। यहाँ माओबादीका तीन हजार मतमा कांग्रेसले इमानदारिता देखाएमा गठबन्धनले जित हात पार्नसक्छ। यसमा कृष्ण जी.सी. र जीत बहादुर रानाले कसरत गरिरहेका बुझिन्छ। 

जीतबहादुर राना तुलनात्मक रुपमा भद्र र अध्ययनशील नेता हुन्। तर जी.सी. वरिष्ठ हुन्। बरिष्ठताका आधारमा जी.सी. बलियो भए पनि उनकी धर्मपत्नी यसअघि संविधानसभा सदस्य भइसकेकाले रानाको पल्ला भारी देखिन्छ। तर रानापनि सुर्खेत उपत्यका नगर विकास समिति र प्रदेश अस्पताल विकास समितिको अध्यक्षसमेत भइसकेकाले लोकेन्द्र रानाको पालो पनि आउन सक्छ।

सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नं २ अहिले सर्वाधिक रहस्यमा छ।  यस निर्वाचन क्षेत्रबाट एमालले वर्तमान सांसद तथा पूर्व राज्यमन्त्री नवराज रावतलाई उम्मेदवार बनाउँछ वा जिल्ला अध्यक्ष अमृत बी.सी.लाई, सबैले चासोका साथ हेरिरहेका छन्। हाल अमेरिका भ्रमणमा रहेका रावतलाई समानुपातिकमा राखेर बी.सी.लाई प्रतिनिधिसभा निर्वाचनमा उठाउनु प्रदेश ईञ्चार्ज समेत रहेका एमाले पोलिट ब्यूरो सदस्य यामलाल कँडेलको बाध्यता हुनसक्छ। अमृत बी.सी. एमाले बृत्तमा बौद्धिक र शालिन मानिन्छन्। 

२०५४ सालमा तत्कालीन लाटिकोइली गाविसका अध्यक्षमा निर्वाचित बी.सी. त्यसपछि निरन्तर यामलाल कँडेलको शिकार बनिरहे। सरल स्वभावका बीसीलाई दैलेख र जाजरकोटबाट आएका बस्तीले राम्रै साथ दिने बुझिन्छ। पूर्व शिक्षक समेत रहेका बी.सी. प्रखर वक्तासमेत हुन्, तर सानातिना संघसंस्थामा अलमलिने उनको कमजोरी रहेको छ।  यामलाल कँडेलको अत्याचारबाट निसासिएपछी सरल नेता शिव प्रसाद उपाध्याय त २०७० सालमा तालाचाबि चुनाव चिन्ह लिएर स्वतन्त्र रुपमा खडा भए। 

अहिले उनी एस पार्टीको केन्द्रीय सदस्य भएका छन्। एमाले जिल्ला उपाध्यक्ष कुलमणी देबकोटापनि यहाँबाट आकांक्षी हुन्। साहसी र आफ्नो गुटको लागि मरिमेट्ने देवकोटालाई यामलाल कँडेलले चुप लगाउने देखिन्छ। साँसद नन्दा शर्मा चुनावी राजनीतिका लागि उपयुक्त नभएको बिगतमा एमालेको अनुभव छ। त्यसैले उनले यसपटक आराम गर्ने बुझिन्छ। चूडामणि शर्मा, बालाराम लगायत वरिष्ठ नेताहरु मुश्किलले समानुपातिक सम्मका उम्मेदवार हुनसक्छन्।

गत स्थानीय तहको निर्वाचनमा यस क्षेत्रका वडाहरुमा प्राप्त मतलाई हेर्दा कांग्रेसले २९ हजार ५४०, माओबादीले ११ हजार ६६१ र एस पार्टीले २०६२ गरी गठबन्धन समूहले ४३ हजार २६३ मत प्राप्त गरेको देखिन्छ। अर्कोतर्फ एमालेले ३० हजार ४६९ र राप्रपाले ल्याएको ३,४९७ समेत गरी ३३ हजार ९९६ मत प्राप्त गरेको देखिन्छ। यस हिसाबले गठबन्धन समूहको करिब साढे नौ हजार मत बढी देखिन्छ। यस निर्वाचन क्षेत्रका चारवटा पालिकामध्ये एउटा पालिकामा मात्र एमालेले जीत हात पारेको छ। 

यस निर्वाचन क्षेत्रबाट कांग्रेसले पूर्वमन्त्री हृदयराम थानीलाई उम्मेदवार बनाउने लगभग निश्चित जस्तै छ। गठबन्धनमा सुर्खेतका दूबै प्रतिनिधिसभा निर्वाचन क्षेत्र कांग्रेसलाई छुट्याउने देखिन्छ। कांग्रेस जिल्ला पूर्वसभापति डम्मर बिक्रम जी.सी. पनि यस क्षेत्रका प्रभावशाली नेता हुन्। तर उनी स्वास्थ्यको समस्या देखाएर चुनावबाट अलग्गिने देखिन्छ। 

पूर्वमन्त्री शिवराज जोशीले पटक–पटक प्रत्यक्षबाट निर्वाचित सांसद भइसकेकाले समानुपातिकमा इच्छा गरेको बुझिन्छ। पूर्वसभापति गोविन्द बहादुर मल्लको स्वास्थ्य अवस्थापनि कमजोर रहेकाले समानुपातिक उम्मेदवारमै चित्त बुझाउने देखिन्छ। केन्द्रमा शेखर कोइराला समूहसँग निकट रहेका र जिल्लामा त्यही समूहको गुट चलाइरहेका थानीलाई टिकट दिनु खड्का गुटको बाध्यता रहेको छ। अर्कोतर्फ केही महिना अघि मात्र सम्पन्न पार्टीको निर्वाचनमा थानी समूह जिल्लाबाट मात्र बढारिएन, आफुसमेत केन्द्रीय सदस्यमा एक मतले हार्न पुगे। यसबाट उनको समूह जिल्ला साह्रै कमजोर देखिएको छ। त्यसैले थानी प्रदेश सभा २ क मा समेत आफ्नै पक्षको उम्मेदवार खडा गर्न पाउनुपर्ने दबाब सृजना गर्ने रणनीतिमा छन् भने खड्का समूह यसपटक उपत्यका आफ्नो पक्षमा पार्ने रणनीतिमै देखिन्छ।

यस क्षेत्रबाट गठबन्धनका अन्य दलहरुले दाबी गर्ने सम्भावना देखिँदैन। आफ्नो राजनीतिक भविष्य ओझेलमा पर्नसक्ने बुझेका थानी निर्वाचन क्षेत्र न. १ (क) प्रदेश निर्वाचन क्षेत्र लिएर वा नलिएरै पनि उम्मेदवार बन्नुको विकल्प छैन। खड्का समूहले पनि थानीलाई समेत टिकट नदिएर अघि बढ्न खोज्दा परम्परागत दुर्घटना हुनसक्ने तथ्यलाई राम्ररी बुझेको हुनुपर्छ।
यस निर्वाचन क्षेत्रको मात्र नभै कर्णाली प्रदेशकै सर्वाधिक महत्वपूर्ण प्रदेश सभा निर्वाचन क्षेत्र सुर्खेतको २ (क) हो।  राजधानीसमेत रहेको वीरेन्द्रनगर नगर पालिकाको १६ मध्ये १४ वटा वडा यसै प्रदेश सभा निर्वाचन क्षेत्रमा पर्दछन्। यस क्षेत्रबाट गत चुनावमा एमाले नेता यामलाल कँडेलले जितेका थिए। मुख्यमन्त्री बन्ने सपना बोकेर प्रदेशमा भिडेका यामलालको सपना भने पुरा हुनसकेन। यहाँबाट यसपटकपनि यामलाल नै उठ्ने भएका छन्। 

एमालेका धेरै यूवानेताहरु यसपालि पनि छायाँमा पर्ने देखिएको छ। कुलमणी देबकोटा, हरिहरनाथ योगी, डम्बर तिवारी, सूर्यमणी गौतमसम्मका यूवाहरु समानुपातिकतिर आँखा लगाउनु पर्ने बाध्यतामा पुगेका छन्। अत्यन्त चतुर तर एकोहोरो स्वभावका कँडेललाई नयाँ पींंढीले स्वीकार्ने देखिंदैन। देवकोटालाई झुप्रा खानेपानी संस्थामा अलमलिएको आरोप छ। स्पष्ट स्वभाव र तार्किक क्षमताका देबकोटा एमालेवृत्तमा लोकप्रीय मानिन्छन्। गौतम भने पत्रकारिता पृष्ठभूमीका हुन्। कँडेल समूहका योजनाकारका रुपमा चिनिएका गौतमको जनमत निर्माण भइनसकेको अवस्था छ। 

यस हिसावले हरिहरनाथ योगी उपयुक्त देखिन्छन्। सरल स्वभावका योगी सफल सहकारीकर्मी पनि हुन्। पढेलेखेका योगीलाई सुर्खेत उपत्यकामा असल मानिसका रुपमा हेरिन्छ। सन्यासी सम्प्रदायले समेत उनलाई सहयोग गर्ने सम्भावना रहेकाले उनलाई बलियो उम्मेदवारको रुपमा हेर्न सकिन्छ। तर स्थानीय तहको निर्वाचनमा मोहमाया ढकाललाई भएको अन्तर्घातको बदला यामलाल कँडेल, कुलमणी देबकोटा वा हरिहर नाथ योगी उम्मेदवार भएपनि लिइने संभावना रहेको छ। 

यहाँबाट गठबन्धनले कांग्रेसलाई छोड्ने सम्भावना छ। एकीकृत समाजबार्दीका शिव उपाध्याय, माओबादीका झक बहादुर मल्ल सुदिपपनि यहाँका दाबेदार हुन्। सुदिपलाई माओबादीले प्रतिनिििध सभाका लागि र रत्न गाहालाई प्रदेशसभाका लागि सिफारिस गरेको छ। गाहा २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओबादी केन्द्रका तर्फबाट वीरेन्द्रनगरको नगर प्रमुखमा उठेका थिए। 

५३०० मत प्राप्त गरेर तेस्रो भएका गाहालाई जनजातिको समर्थन हुने देखिन्छ। तर एकिकृत समाजबादीको खासै संगठन नभएकाले यो स्थान पाउने संभावना देखिंदैन। बिन्दमान बिष्टलाई स्थान चाहिने भएकाले र पहिलापनि जितेको ठाउँ सम्बन्धित दलले पाउने गठबन्धनको शैद्धान्तिक सहमति भएकाले २ को (क) माओवादीले छोडेर २ को (ख) मा जाने प्रष्ट छ। २ को (क) बाट कांग्रेसले कमलराज रेग्मी, गोविन्द कोइराला, देबकुमार सुबेदी र नारायण कोइराला मध्ये एकजनाले टिकट पाउने सम्भावना बढी छ। रेग्मी यसअघि पनि टिकट पाएर हारेका, अन्तर्घात गरेको भनेर कार्वाहीका लागि सिफारिस भएका बिवादित ब्यक्ति हुन्। जिल्लाले सोधेको स्पष्टिकरण भने स्थगन भएकाले प्रकृयागत रुपमा उनलाई राहत त मिलेको छ, तर उनिप्रति जनस्तरमा आशंका कायम नै देखिन्छ। यसै प्रदेश सभाको गत निर्वाचनमा कांग्रेसबाट उठ्दा उनले १५ हजार ९४७ मतमात्र प्राप्त गरेका थिए। 

जब कि विजयी यामलाल कँडेलले २१ हजार २८५ मत प्राप्त गरेका थिए।  त्यस्तै देबकुमार सुबेदी यस अघि वीरेन्द्रनगरका नगर प्रमुख हुन्। हाल पार्टी सचिव रहेका सुबेदीले नगर प्रमुख छँदा काम गर्न नसकेको धेरैको मूल्यांकन छ। तर महामन्त्री गगन थापाको प्रीय पात्र भएका कारण आफुले टिकट पाउने कुरामा आफू विश्वस्त रहेको र आफ्नो टिकट कुनै नेताले खोस्न नसक्ने बताउँदै आएका छन्।  पछिल्लो समयमा कमजोर फेसभ्यालु भएका रेग्मी र सुबेदी दुवै नेताको आशिर्वादका भरमा देखिन्छन्। यहाँबाट गोविन्द कोइराला वा नारायण कोइराला चुनाव जित्न सक्ने सम्भावना बोकेका युवा नेता हुन्। 

गोविन्द कोइराला निस्कलंकित, तीक्ष्ण बौद्धिक तर पिडित नेताका रुपमा चिनिन्छन्। राम्रो फेस भ्यालु भएका, स्वतन्त्र र सबै उमेर, बर्ग, क्षेत्रको मत तान्न सक्ने लोकप्रीय ब्यक्तित्व भएपनि उनी कुन गुटका हुन् भन्न सकिने अवस्था छैन। कुनै लाभको पेशा नगरेर राजनीतिमै लागिरहेका कोइराला विद्रोह नगर्ने आदर्शबादी नेताका रुपमा हेरिन्छन्। निर्वाचन जित्न सक्ने, क्षमता र योग्यता  भएरपनि हालसम्म मौका नपाएका उनले यसपटक टिकट पाउन सक्छन्। नारायण कोइरालापनि बौद्धिक रुपमा लिइने यूवा नेता हुन्। 

थानी समूहको किचेन क्याबिनेटमा रहेका र खड्का समूह माथी आक्रमण गर्ने रणनीतिका रणनीतिकार समेत रहेका नारायण आशा गरिएका ब्यक्ति हुन्। अहिले पारिवारिक दबाबका कारण थानी समूह छाड्न लागेको आरोप खेपिरहेका नारायण नगर कार्यसमिति सभापतिमा पराजित हुन्। उनलाई जिल्ला अनुशासन समितिले सोधेको स्पष्टिकरण अहिले स्थगित छ। जिल्लाको उत्तरपूर्वी भेगमा थानीसँगै संगठन गर्न निकै हिंडेका कोइराला रेडियो भेरी एफ.एम. का स्टेशन म्यानेजरपनि हुन्। यिनिहरुका अलावा नारायण सापकोटा बौद्धिक ब्यक्तित्व हुन् तर स्थायी शिक्षकको जागिरको लोभले हालसम्म पनि उनलाई छोडेको छैन। 

तीन चार वर्षमा पेन्सन पाक्न लागेकाले उनले जागिर छोड्न नसकेको बुझिन्छ। नेपालगञ्ज र काठमाडौमा नेपाल विद्यार्थी संघको राजनीति गरेका सापकोटालाई कांग्रेसभित्र सरल नेताका रुपमा लिइन्छ। तीर्थजंग शाही भर्खरै शिक्षक सेवाबाट निवृत्त भएका छन्। रमाइलो मिजासका शाहीको थारु समाजमा ठिकै प्रभाव रहेको छ। 

तर भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा कांग्रेसको तर्फबाट वीरेन्द्रनगरको प्रमुख पदका उमेदवारलाई सहयोग नगरेको गुनासो सुनिएको छ। शिक्षक नेता रही सकेका शाहीको बोलिचाली समेत राम्रो रहेको छ। तर कमजोर शैक्षिक पृष्ठभूमि र रसिक स्वभावका कारण उनिप्रति आम हेराइ त्यति सकारात्मक देखिन्न। निरञ्जन केसी अस्वस्थ र अब्यवहारिक भएकाले उनको सम्भावना देखिंदैन। समानुपातिकमा भने कालिप्रसाद शाक्य, पार्वति गिरी लगायतको सम्भावना बढी छ।

सुर्खेतको प्रदेश २ (ख) बाट भने माओबादीका बिन्दमान बिष्ट गठबन्धनका तर्फबाट उठ्ने लगभग निश्चित छ। जेलब्रेक घटनाबाट सुदिपसँगै चर्चामा रहेका बिष्ट घर कालिकोट भएपनि ससुरालीका कारण सुर्खेतमा बसोबास गर्दै आएका छन्। प्रदेश सरकारमा मन्त्रीसमेत भइसकेका बिष्ट सरल स्वभाव हुनुका साथै सुक्ष्म रणनीतिकार मानिन्छन्। जनमतका हिसावले काँग्रेस बलियो भएपनि गठबन्धनमा माओबादी भाग पाउने उनी भाग्यमानी हुने संभावना देखिन्छ। 

यहीँबाट माओबादी केन्द्र निकट बिद्यार्थी संगठनकी केन्द्रिय अध्यक्ष समेत रहेकी पञ्चा सिंहलाई पनि जबरजस्त पात्रका रुपमा हेरिएको छ। अध्यक्ष प्रचण्डसँग निकट मानिएकी सिंह महिलाले पनि प्रत्यक्ष तर्फ उम्मेदवार बन्न पाउनुपर्ने तर्कमा अडिग देखिन्छिन्। क्रान्तिकारी स्वभावकी सिंह नेतृत्वको विद्यार्थी संगठनलाई पुनर्गठन गर्नुपर्ने आवाज उठिरहेका बेला यो उनको राम्रो ब्यवस्थापन हुनसक्छ।  कालिकोट माइत र बाबियाचौरमा घर भएकी सिंह सानै उमेरदेखि माओवादी युद्धमा सामेल थिइन्। 

उसो त गठबन्धनबाट एस पार्टीका जिल्ला अध्यक्ष मोहन बढुवालपनि यहींबाट आकांक्षी छन्। मिठो बोलिचालि भएका बढुवाल जनताको काममा दौडधुप गर्ने नेतामा पर्दछन्। पटक पटक अवसरबाट बञ्चित हुँदै आएका मोहन बढुवाल पार्टीका भागबण्डाका दृष्टिबाट यसपटकपनि फुत्किने लगभग निश्चित छ। उता नेपाली कांग्रेसले आफ्नो मतदाता बढी भएकाले आफुले पाउनुपर्ने दौडमा देखिन्छ।  कांग्रेसबाट हालका प्रदेश मन्त्री यज्ञ बुढादेखि प्रदेश सहमहामन्त्री उपेन्द्र थापा र जिल्ला उपसभापति टोप बहादुर रावतहरु प्रवल आकांक्षीका रुपमा देखिन्छन्। उसो त यहाँ डिल्लिराम पाठकदेखि कृतिराज जोशीसम्मका ब्यक्तित्वहरुको नाम समेत सुनिएको छ। 

कृति जोशी सरल, बौद्धिक र मिलनसार भए पनि गुटका कारण कमजोर देखिन्छन्। बीसीले प्रदेश साँसद र मन्त्री भइसकेकाले उपेन्द्र थापा र रावतबिच प्रतिस्पर्धा बढी देखिन्छ। यहाँ अछामबाट र अन्यत्रबाट बस्ति सरेर आएका बिच अन्तर संघर्ष छ। थापा पञ्चपुरी नगर पालिकाका निवर्तमान नगर प्रमुख हुन्। सरल स्वभावका मानिने यिनी समाजमा लोकप्रीय नै मानिन्छन्। अर्कोतर्फ टोप बहादुर रावत यूवा, जल्दाबल्दा नेता हुन्। 

तर उन्को झगडालु र ठाडो स्वभावका कारण त्यति रुचाइने नेतामा पदैनन्। ब्यक्तिगत चरित्रका कारण बिबादमा आइरहने रावतको प्रदेश सभापति र मुख्यमन्त्रीसँग राम्रो सम्बन्ध भएकाले संभावना नकार्न मिल्दैन। दिवंगत कांग्रेस नेता तप्तबहादुर बिष्टसँग निकट भएर काम गरेका कारण टिकट पाउनु आफ्नो हक भएको ठान्दछन्। यहाँबाट कांग्रेसका क्षेत्रीय सभापति ईन्द्र रावलपनि आकांक्षी देखिन्छन्। तर यसपटक उनको सम्भावना देखिन्न। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .