कर्णाली


इजरायलमा मारिएका नारायणको परिवारमा बिचल्ली- बाबु बोल्न सक्दैनन्, आमा बेहोसीमै बर्बराइरन्छिन्

इजरायलमा मारिएका नारायणको परिवारमा बिचल्ली- बाबु बोल्न सक्दैनन्, आमा बेहोसीमै बर्बराइरन्छिन्

दिनेश बुढा
असोज २३, २०८० मंगलबार १४:३७, सुर्खेत

वरपरका छरछिमेक र आफन्तले हरिकृष्ण न्यौपानेको घर भरिएको छ। इजरायलमा शनिबार हमासको आक्रमणमा कैलालीको घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने मारिएपछि उनको घरमा दुई दिनदेखि लगातार रुवावासी चलेको छ। के भएछ भन्दै बाटोमा हिँड्ने मान्छेहरू पनि न्यौपाने निवासमा छिर्ने गरेका छन्।

नारायणप्रसादकी आमा ठूल–ठूलो स्वरमा बाबु-बाबु भन्दै रोइरहेकी छन्। आमा सीता न्यौपानेको आँशुसँगै मुखबाट ‘बाबु कहाँ गयो, नफर्किने गरेर गएछौ, बाबु कुन दिन गएछौ। बाबु कहाँ गएछौ राम्रोसँग नआउने गरेर।’ जस्ता शब्द मात्रै सुनिन्छ।

नारायणकी आमालाई सम्झाउँछु भनेर गएका व्यक्तिसमेत आँशु खसालेर फर्किन्छन्। सीतालाई कसैले पनि समाल्न सकिरहेका छैनन्। सिक्दै कमाउदै कार्यक्रम अन्तरगत इजरायल पुगेका २२ वर्षीय नारायणको इजरायलमा भएको हमासको आतंककारी हमलामा परि मृत्यु भएपछि यता घरमा रुवावासी चलेको हो। नारायणप्रसादका बुबा हरिकृष्ण भने बोल्न सक्ने अवस्थामा छैनन्।

सीता नारायणकी सानी आमा (कान्छी आमा) हुन्। सानै उमेरमा नारायणप्रसाद टुहुरो भएपछि उनका बुबा हरिकृष्णले सीतालाई विवाह गरेका थिए।

नारायणलाई हुर्काउने, पढाउने, लेखाउने सबै सीताले गरिन्। अरु छोरामध्ये नारायण भिन्न थिए। पढाइ–लेखाइमा अब्बल, इमान्दार, आफ्नो काममा लगनशील र मेहनती थिए। त्यसैले पनि कान्छी आमा सीतालाई नारायणको धेरै माया लाग्छ।

नारायणको घरमा एक दाइ, एक भाइ र बहिनी गरेर चार जना छन्। नारायणलाई पढाउनका लागि उनका जेठो दाइ धर्मराज न्यौपानेको परिवार नै भारतमा छन्।

धर्मराजले भारतमा मजदुरी गर्दै भाइलाई पढाएर इजरायल पठाउन योगदान गरेका थिए। धर्मराज भाइ नारायणलाई पढाउनकै लागि एक दशकदेखि भारतको बैङ्गलोरमा बस्दै आएका छन्। बुबा हरिकृष्णले कुनै काम गर्न नसक्ने र आर्थिक अवस्था पनि कमजोर रहेका कारण भाइ बहिनीलाई पढाउन/लेखाउनका लागि धर्मराज भारत हानिएका हुन्।

धर्मराजले नारायणलाई कैलालीका विभिन्न विद्यालयमा पढाउँदै सुदूरपश्चिम विश्वविद्यालयले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पठाउनका लागि सहयोग गरेका थिए।

यता, नारायणकी आमा रूपा न्यौपानेको मृत्युु भएपछि कान्छी आमाको रूपमा आएकी सीताको नारायणको मृत्युको खबर सुनेपछि रोएर दिन बितेको छ। बुबा हरिकृष्णसँग बोल्ने शक्ति र सहास छैन। उनी निराश मात्रै देखिन्छन्।

नारायण इजरायल पुगेको २७ दिनमै भएको यस्तो घटनाले घोडाघोडी नगरपालिका–४ को जनकपुर गाउँ शोकमा डुबेको उनकी आन्टीले बताइन्। उनले भनिन्, ‘हामी सबैले खाई नखाई पैसा जम्मा गरेर विदेश पठाएका थियौँ। ९ महिना बसेर नौ महिना पछि गाउँमा नयाँ घर बनाउने भन्दै मिठो सपना बुनेर इजरायल उडेको थियो। उतै अस्ताएको खबर आयो।’

उनले थपिन्, ‘घरमा दुई दिनदेखि वाइफाइमा पैसा सकिएकाले नारायणसँग कुरा हुन सकेको थिएन। उसले आफै दाइसँग पनि घरमा कुरा गर्नुहोला, दुई तीन दिनमा वाइफाइमा पैसा म हाल्दिन्छु भनेको थियो। तर, कुरा हुन नपाउँदै दुई दिन भित्रै दुखत खबर सुन्न पर्यो।’

नारायणको मृत्यु भएको पुष्टि परराष्ट्र मन्त्रालयले गरिसकेको छ। तर, यता परिवारलाई भने मृत्यु भएको कुरामा अझै विश्वास लागेको छैन। नारायणकी भाउजू भन्छिन्, ‘बाबुको मृत्यु भएको खबर सत्य लागेको छैन। आँखाले नदेखेसम्म कसरी विश्वास गर्नु? उहाँले बोलेको कुरा झलझली याद आउँछ। सबैले गाउँमा हेपेका छन्। उनीहरूको अगाडी राम्रो काम गरेर देखाउँछु भनेर मसँग कुरा गरिरहनु हुन्थ्यो।’

घरपरिवाले नारायणको शव जसरी पनि पाउनुपर्ने र राज्यले समयमै नेपाल ल्याउनु पर्ने माग गरेका छन्।

प्यालेस्टाइनी हमास समूहको आक्रमणबाट नारायणसँगै सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत १० जना नेपाली विद्यार्थीको मृत्युु भएको हो, जसमा सात जना सुदूरपश्चिमका छन्।

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .