जाजरकोट र रुकुम–पश्चिमका भूकम्प पीडित परिवारका आँखा रसाउन छाडेका छैनन्। मध्यराति ओछ्यानमा सुतिरहेकै बेला आएको भूकम्पमा परी आफन्त गुमाएकाहरू अझै भावविह्वल छन्।
सरकारी तथ्यांक अनुसार जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पबाट निधन हुनेको संख्या १५३ पुगेको छ। घाइतेको संख्या ३६२ छ भने १७ हजार ७ सय ९२ घरमा पूर्ण क्षति पुगेको छ।
शुक्रबार राति भूकम्प जानासाथ शनिबार बिहानै प्रधानमन्त्री प्रभावित क्षेत्र पुगेका थिए। दिनभर त्यतै रहेका प्रधानमन्त्री प्रचण्ड साँझ फर्किए।
भोलिपल्टै आकस्मिक मन्त्रिपरिषद् बैठक राखेर राहत घोषण गर्नेदेखि प्रधानमन्त्री दैवी प्रकोप कोषमा प्राप्त भइरहेका सहयोग बटुल्नेसम्मका कार्यमा उनी अहिले व्यस्त छन्।
उता, जाजरकोटमा भने भूकम्पपीडितहरू त्रिपालसहितका राहत सामग्री मात्र नभई स्थायी बसोबास के हुने भन्ने चिन्तामा छन्। हजारौं घरमा पुर्याएको क्षतिले जाजरकोट र रुकुम–पश्चिमको वातावरण यतिबेला फुङ्ग उडेको छ।
देश तथा विदेशबाट यतिबेला जाजरकोट, रुकुम–पश्चिम लगायतका ठाउँमा राहत सामग्री पुग्ने क्रम जारी छ।
थप तस्बिर:
प्रतिक्रिया