ad ad

कर्णाली


भेरी-बबई: ५१ हजार हेक्टरमा बाह्रै महिना सिँचाइ र ४६ मेगावाट बिजुलीको लक्ष्य, म्याद थपेको थप्यै

भेरी-बबई: ५१ हजार हेक्टरमा बाह्रै महिना सिँचाइ र ४६ मेगावाट बिजुलीको लक्ष्य, म्याद थपेको थप्यै

दिनेश बुढा
असोज २०, २०८१ आइतबार १०:३८, सुर्खेत

राष्ट्रिय गौरवको आयोजना भेरी-बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक प्रगति करिब ६८ प्रतिशत छ। गत आर्थिक वर्ष २०८०-०८१ को असार मसान्तसम्म आयोजनाले वार्षिक लक्ष्यको ९६ प्रतिशत प्रगति हासिल गरी समष्टिगत प्रगति ६५.८ प्रतिशत पुर्‍याएको थियो।सुर्खेतको भेरीगंगा नगरपालिका–११, चिप्लेमा निर्माण भइरहेको आयोजनाले पछिल्लो दुई महिनाको अवधिमा २ प्रतिशत बढाएर करिब ६८ प्रतिशत प्रगति हासिल गरेको सरकारी दाबी छ।

नेपालमा पहिलोपटक टनेल बोरिङ मेसिन (टीबीएम) प्रविधिको प्रयोग गरी निर्माण गर्न लागिएको आयोजनाबाट लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको करिब ५१ हजार हेक्टर कृषियोग्य जमिनमा बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध गराउने र ४६ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। 

आर्थिक वर्ष २०८०-०८१ मा आयोजना कार्यान्वयनका लागि विनियोजन भएको १ करोड ५६ लाख रुपैयाँ बजेटमध्ये १ करोड ५० लाख खर्च गरिसकेको छ।

यस्तै, स्वीकृत गुरुयोजना अनुसार आयोजनाको कुल लागत ३३ अर्ब १९ करोड ६६ लाख रहेकोमा हालसम्म १५ अर्ब बढी खर्च भएको आयोजनाका सूचना अधिकारी एवम् सिनियर डिभिजिनल इन्जिनियर पवन अधिकारीले जानकारी दिए। उनका अनुसार आयोजनाको पहिलो चरणमा १२ किलोमिटर लामो सुरुङ १० अर्ब ५६ करोड लागतमा निर्माण सम्पन्न भएको छ।

चिनियाँ कम्पनी चाइना इन्जिनियरिङ ओभरसिज प्रालि (कोभेक) ले तोकिएको समयभन्दा एक वर्षअगावै टीबीएमको सहायताले सुरुङ निर्माण गरिसकेको छ। हाल दोस्रो चरणका काम सिभिल संरचना (हेडवर्क्स, पावरहाउस तथा सर्ज साफ्ट) हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल अन्तर्गतका काम भइरहेका छन्। जसअन्तर्गत हेडवर्क्स निर्माणअन्तर्गत २ बे तर्फ डिभाइड वाल, अपस्ट्रिम र्‍याफ्ट निर्माण कार्य सम्पन्न भएको छ।

इन्टेक तथा ग्राभेल ट्रयाप निर्माण भइरहेको छ भने लेफ्ट बैंक गाइड वाल निर्माण कार्यको फाउन्डेसन खन्ने कार्य सम्पन्न भइ कंक्रेटिङ कार्य सुरु भएको ले जनाएको छ। 

पावरहाउस निर्माणअन्तर्गत ढलान संरक्षणको काम अन्तिम चरणमा पुगेको छ। फाउन्डेसन निर्माणको कार्य तीव्र गातिमा अगाडि बढेको आयोजनाको दाबी छ। विद्युत गृह निर्माण गर्नका लागि कफर ड्याम निर्माण कार्य पनि सुरु भएको छ। 

स्थानीयको अवरोधका कारण उक्त कार्य ठप्प भएकोमा उनीहरूको माग सम्बोधन भएपछि निर्माण कार्य सुचारु भएको हो। हाइड्रोमेकानिकल कार्यअन्तर्गत हेडवर्क्समा स्टिल लाइनिङ गर्ने कार्य सम्पन्न भई गेट, स्टपलगहरूमा नाली राख्ने गरी पियर कंक्रिटिङको कार्य भइरहेको छ। गेट, स्टपलग पेनस्टक लगायतका संरचनाहरूको डिजाइन तथा स्वीकृत गर्ने कार्य धमाधम भइरहेको आयोजनाले जनाएको छ। 

इलेक्ट्रोमेकानिकलतर्फ टर्बाइन मोडेलको टेस्ट भई निर्माणको चरणमा रहेको छ भने जेनेरेटरलगायत केही महत्त्वपूर्ण उपकरणहरूको डिजाइन स्वीकृत भएर निर्माण कार्य पनि प्रारम्भ भएको छ। 

केही डिजाइन स्वीकृतिका क्रममा छन्। केही उपकरणहरूको डिजाइन तयार भइरहेको अधिकारीले जानकारी दिए। मौसमको अनुकूलता तथा बर्खायामले गर्दा हेडवर्क्स र विद्युतगृह निर्माणको काम दैनिक दुईवटा सत्रमा भइरहेको उनले बताए। यद्यपि, मनसुन चलिरहेकाले मौसमी अनुकूलताका आधारमा काम अगाडि बढिरहेको उनको भनाइ छ।

‘मनसुन सक्रिय भएका कारण काम गर्नका लागि समस्या भने भइरहेको छ,’ उनले नेपालखबरसँग भने, ‘हिजोआज पनि काम जारी छ। तर, छिनछिनमा पर्ने पानीका कारण नियमित कामलाई प्रभावित पारेको छ। मनसुन सकिएपछि काम अझै तीव्र रूपमा अगाडि बढ्ने छ।’

आयोजनाको बाँध निर्माण भएपछि डुबान क्षेत्रमा पर्ने जग्गा प्राप्ति सम्बन्धमा मुआब्जा निर्धारण समितिबाट दर निर्धारण भई रैकर जग्गाको हकमा ८.११४ हेक्टर जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न भइसकेको छ। 

ऐलानी जग्गा प्राप्तितर्फ झण्डै १०.५९ हेक्टर जग्गा प्राप्तिको लागि सूचना प्रकाशन भएकोमा अन्तिम भेरिफिकेसन सम्पन्न भई दुई चरणमा ५.८७ हेक्टर ऐलानी जग्गा प्राप्ति भइसकेको छ भने बाँकी प्राप्तिको चरणमा रहेको आयोजनाले जनाएको छ।

बबई-मानखोला डाइभर्सन आयोजना बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जको मुख्य क्षेत्र भएर जाने हुँदा त्यसको विस्तृत सम्भाव्यता अध्ययन कार्य चलिरहेको छ। वन तथा वातावरण मन्त्रालयबाट सहमति प्राप्त भएअनुसार बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्जसँगको सहकार्यमा सम्भाव्यता अध्ययनको फिल्ड सर्भेलगायतका काम सकिएर ड्रिलिङको कार्य अन्तिम चरणमा पुगेको अधिकारीले बताए 

म्याद थपेको थप्यै
सन् १९९८ अर्थात् २६ वर्षअघि जापानको अन्तर्राष्ट्रिय सहयोग संस्था (जाइका)ले भेरी–बबईको वातावरणीय प्रभाव मूल्यांकन गरेको थियो। 

नेपालका हिमनदी स्रोत भएका नदीको पानीलाई मझौला नदीमा पथान्तरण गर्न सकिए विकसित सिँचाइ प्रणालीको पूर्ण रूपमा उपयोग गरी कृषि उत्पादनमा वृद्धि र मुलुकको खाद्य संकटको समाधान हुने अपेक्षाका साथ यस आयोजनाको अध्ययन थालिएको थियो। सोही पानीलाई जलविद्युत् उत्पादन तथा खानेपानीलगायत अन्य प्रयोजनमा समेत उपयोग गरी राष्ट्रको समग्र विकासमा टेवा पुग्ने विश्वास पनि यसले जगाएको थियो।

जाइकाले भेरी नदीको पानी बबईमा खसाली जलविद्युत् र सिँचाइको प्रचुर सम्भावना रहेको प्रतिवेदन नेपाल सरकारलाई बुझाएको थियो। सोही बमोजिम सिँचाइ विभागले आर्थिक वर्ष २०६८ भदौ ७ गतेबाट निर्माण कार्य थाल्ने घोषणा गरेको भए पनि विविध कारणले यसको निर्माणको काम आर्थिक वर्ष २०७१-०७२ बाट सुरु भएको थियो। 

हालसम्मको योजनाअनुसार, सुर्खेतको भेरीगंगा नगरपालिका–११, चिप्लेमा भेरीको पानी बबईमा खसाल्न ६ गेजसहितको ब्यारेज निर्माण गरिनेछ। ब्यारेज १ सय १४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ। त्यहाँबाट १२ किलोमिटर सुरुङमार्फत भेरीगंगा नगरपालिका–५, हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिनेछ, जहाँ ४६.८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ।

दोस्रो चरणमा बाँध र विद्युत् गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो। आर्थिक वर्ष २०७९-८० मा काम सम्पन्न गर्ने गरी ११ अर्ब ५२ करोड ६१ लाख लागत तय गरिएको थियो।

दोस्रो चरणका सबै काम आर्थिक वर्ष २०७९-०८० को असार मसान्तसम्म सक्नुपर्ने कार्यादेश थियो। तर, विविध कारणले तोकिएको समयमा काम सम्पन्न नभएपछि आर्थिक वर्ष २०८४-०८५ सम्म म्याद थप गरिएको छ। 

विश्वव्यापी फैलिएको कोरोना महामारी, निर्माण सामग्री अभावलगायत समस्याका कारण तोकिएको समयमा निर्माण हुन नसकेको आयोजनाको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .