ad ad

कोशी


घुन्सा हेलिकप्टर दुर्घटना : देशले संरक्षण क्षेत्रका दिग्गज व्यक्तित्व गुमाएको त्यो दिन

घुन्सा हेलिकप्टर दुर्घटना : देशले संरक्षण क्षेत्रका दिग्गज व्यक्तित्व गुमाएको त्यो दिन

नेपालखबर
असोज ७, २०८१ सोमबार २०:४१, फुङ्लिङ (ताप्लेजुङ)

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ। २०६३ असोज ७ गते भएको त्यस दुर्घटनामा मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट व्यक्तित्वको ज्यान गएको थियो।

संरक्षणविद्, भूगोलविद्, योजनाविद्, सरकारी अधिकारी र वन्यजन्तु विशेषज्ञ यस दुर्घटनामा परेका थिए। उनीहरूको योगदानको स्मरण गर्दै असोज ७ लाई सरकारले राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको थियो।

विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना गरिएको कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने समारोहमा सहभागी हुन विशिष्ट व्यक्तित्वहरूको टोली घुन्सा पुगेको थियो। यो परियोजना हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा एक महत्त्वपूर्ण कदम थियो।

कञ्चनजंघा देशकै एक प्रमुख संरक्षण क्षेत्र हो, जहाँ दुर्लभ वनस्पति, जनावर, र जैविक सम्पदाको संरक्षण हुँदै आएको छ।

परियोजना हस्तान्तरण कार्यक्रमपछि सहभागीहरू काठमाडौँ फर्किन हेलिकप्टर चढेका थिए। दुर्भाग्यवशः फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो।

दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई, भूगोलविद् डा हर्क गुरुङ, संरक्षणविद् डा चन्द्र गुरुङ, वन्यजन्तु संरक्षण विज्ञ डा तीर्थमान मास्के, वन मन्त्रालयका सचिव डा दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेल र अन्य विशिष्ट व्यक्तित्वको ज्यान गएको थियो।

दुर्घटनाबारे छानबिन गर्न तत्कालीन सरकारले न्यायाधीश केशरीराज पण्डितको नेतृत्वमा एक कार्यदल गठन गरेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार दुर्घटनाको प्रमुख कारण मौसम प्रतिकूलता देखाइएको थियो।

घुन्सा क्षेत्र हिमालयको उचाइमा पर्छ, जहाँ मौसम आकस्मिक रूपमा परिवर्तन हुन सक्छ। अनुसन्धानले प्रतिकूल मौसमले हेलिकप्टरको उडानमा अवरोध पुगेको र त्यसैले दुर्घटना निम्त्याएको निष्कर्ष निकालेको थियो।

छानबिन समितिले मौसमजन्य कारणलाई प्राथमिक कारण भने पनि यस घटनाले नेपालमा हवाई सुरक्षासम्बन्धी प्रश्न उठेका थिए। भौगोलिक बनावट र मौसमका कारण उच्च पहाडी क्षेत्रहरूमा हवाई सुरक्षाको चुनौतीबारे बहस भएका थिए। यस घटनाले नेपालमा उड्डयन सुरक्षाका मापदण्डहरू सुधार गर्न र उच्च हिमाली क्षेत्रहरूको उडानमा विशेष ध्यान दिनुपर्ने कुरालाई अगाडि ल्याएको थियो।

डा हर्क गुरुङ भूगोलविद् मात्र नभएर नेपालको दिगो विकास, सामाजिक न्याय र संरक्षण क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेका व्यक्ति थिए। उनले नेपालको भौगोलिक र सामाजिक संरचनाको गहिरो अध्ययन गरेका थिए। उनले हिमालय क्षेत्रको जैविक विविधताको संरक्षणमा धेरै काम गरेका थिए।

डा चन्द्र गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजनाको नेतृत्व गर्दै संरक्षणको नयाँ मोडेल प्रस्तुत गरेका थिए। यस परियोजनाले स्थानीय समुदायसँग मिलेर काम गर्ने र उनीहरूलाई संरक्षणको जिम्मेवारी दिने अवधारणालाई अघि ल्यायो, जसले संरक्षण र दिगो विकासलाई सँगसँगै अगाडि बढाउने प्रयास गरेको थियो।

घुन्सा हेलिकप्टर दुर्घटनामा परेका दिग्गज व्यक्तित्वहरूको योगदानको सम्मानमा सरकारले असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने निर्णय गरेको हो। यस दिवसले देशभर जनचेतना फैलाउने काम गर्दछ। नेपालको जैविक विविधता, वन्यजन्तु र वातावरणीय संरक्षणको मुद्दालाई प्राथमिकता दिने उद्देश्यका साथ विभिन्न कार्यक्रम आयोजना गरिन्छ।

घुन्सा दुर्घटनामा निधन भएका व्यक्तित्वहरूको स्मृतिमा विशेष कार्यक्रम गरिँदै आएको छ। सोमबार पनि भिन्तुना डाँडास्थित स्मारकमा सरसफाइ अभियान र श्रद्धाञ्जली कार्यक्रम गरिएको छ। स्थानीय विद्यालय र समुदायहरूले वातावरणीय संरक्षणको महत्त्वबारे छलफल गर्दै जनचेतनामूलक कार्यक्रमहरू आयोजना गर्ने गरेका छन्।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .