लुम्बिनी


लुम्बिनीमा ८ दलबीच छलफल, १९ गते प्रदेश सांसदहरूको भेला

लुम्बिनीमा ८ दलबीच छलफल, १९ गते प्रदेश सांसदहरूको भेला

नेपालखबर
फागुन १७, २०७९ बुधबार २०:३८, देउखुरी

राष्ट्रपति निर्वाचनका कारण राजनीतिक समीकरण बदलिएपछि लुम्बिनी प्रदेशमा पहिलो पटक ८ दलबीच छलफल भएको छ। 

प्रदेश सभाको आजको बैठक सकिएलगत्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा छलफलमा बसेका थिए।

राष्ट्रपतिको चुनावमा एमाले र राप्रपा बाहेकका दलहरु एक भएपछि केन्द्रमा पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट एमाले बाहिरिएको छ। तर एमाले नेतृत्वको लुम्बिनी सरकारमा माओवादी केन्द्र सहित अरु दल एकै ठाउँमा छन्।

कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले सत्ता परिवर्तनबारे खासै छलफल नभएको भन्दै १९ गते हुने सांसदहरुको भेला तथा प्रशिक्षणबारे कुराकानी भएको जानकारी दिए। 

‘पर्सि १९ गते भालुवाङको पौवा होटलमा राष्ट्रपतिको चुनावको सन्दर्भमा प्रदेश सांसदको भेला तथा प्रशिक्षण छ। त्यसैको लागि हामी छलफलमा बसेका हौं’ उनले भने, ‘सरकार परिवर्तनबारे खासै छलफल भएन। त्यसको लागि हामीले केन्द्रको निर्णय पर्खिरहेका छौं।’

१९ गते हुने भेलामा आठवटै पार्टीका केन्द्रीय नेताहरु पनि आउने कार्यक्रम छ।

आजको छलफलमा प्रदेश सरकारमा आर्थिक मामिला मन्त्री रहेका माओवादीका दलका नेता जोखबहादुर महरा र सामाजिक विकास मन्त्री तथा जनमत पार्टीका सांसद चन्द्रकेश गुप्ता पनि सहभागी थिए।

यसअघि सरकारलाई समर्थन गरेका लोसपा र नागरिक उन्मुक्ति पार्टीले आजै समर्थन फिर्ता लिने तयारी गरेका थिए। तर फिर्ता लिएका छैनन्।

कांग्रस दलका नेता चौधरीले आजको छलफलमा तत्काल समर्थन फिर्ता लिनेबारे प्रस्ताव आएपनि आफूहरुले केही दिन पर्खिन भनेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .