लुम्बिनी


सरकारी छाप दुरुपयोग गरी प्रहरीको बदनाम गर्ने पूर्वप्रहरी पक्राउ

सरकारी छाप दुरुपयोग गरी प्रहरीको बदनाम गर्ने पूर्वप्रहरी पक्राउ

नेपालखबर
बैशाख ४, २०८० सोमबार १६:५३, बुटवल

झुटा विवरण दिइ प्रहरीको बदनाम गराउन खोजेको आरोपमा रुपन्देही प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय अगाडि स्टेशनरी सञ्चालन गर्ने ४५ वर्षीय भानबहादुर अधिकारीलाई नियन्त्रणमा लिएको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए। 

घटना विवरण अनुसार गत चैत ३० गते काठमाडौंबाट प्रकाशित पत्रिकामा ‘प्रहरीमाथि अर्को गम्भीर आरोप, निवेदनको नाममा ५ सय रुपैयाँ असुली’ भन्ने शिर्षकमा समाचार प्रकाशित भएको थियो। उक्त समाचारमा जिप्रकाको उजुरी शाखाबाट निवेदन लेखे वापत रु ५ सयका दरले प्रहरीले पैसा लिने गरेको भनि नाम समेत किटान गरिएको थियो।

सोधपुछका क्रममा निवेदकहरुले आफूले त्यसरी निवेदन लेखिदिए बापत कोही कसैलाई नगद नदिएको बताएका थिए।  

अधिकारीले आफ्नो स्टेसनरीबाट प्रहरीको निवेदनलाई स्क्यान गरी विवरण थपघट गरी आफ्नो जिमेल आईडीबाट विभिन्न पत्रिका तथा अनलाइन मिडियामा जिल्ला प्रहरी कार्यालय सरकारी छाप समेत प्रयोग गरी झुठ्ठा भ्रामक विवरण प्रेषित गरेको प्रहरीको भनाइ छ।

‘विवरणसँगै झुटा निवेदन बनाएर प्रहरीमा दर्ता भएजस्तै गरेर जिल्ला प्रहरीको किर्ते छाप लगाएको निवेदन पनि पठाउने गरेका थिए’ डिएसपी अर्यालले भने। 

अधिकारी केही समयअघिसम्म जिल्ला प्रहरी कार्यालयमा आउने सेवाग्राहीहरुको निवेदनहरु लेख्ने र शुल्क लिने गर्दै आएका थिए। 

३ महिना यता जिल्ला प्रहरी कार्यालयले नागरिकको सेवा सुविधाको लागि निशुल्क निवेदन लेख्ने व्यवस्था गरेको थियो। कार्यालयले नै निशुल्क निवेदन लेखिदिन थालेपछि उनको आम्दानी घट्यो।

आफ्नो आम्दानीको बाटो हराएपछि अधिकारीले रिसिवी राखी प्रहरीमाथि गम्भीर आरोप लगाउँदै भ्रामक झुटा समाचार बनाई पठाउने गरेको डिएसपी अर्यालको भनाइ छ। उनी अवकाशप्राप्त प्रहरीसमेत हुन्।

जिल्ला प्रहरी कार्यालयबाटै अवकास भएपछि सेवाग्राहीको निवेदन लेखिदिने काम गर्दै आएका थिए। 

पक्राउ परेका अधिकारीविरुद्ध जिल्ला अदालतबाट सरकारी छाप किर्ते मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .