लुम्बिनी


नालामा डुबेर बेपत्ता किशोर ३ दिनपछि मृत भेटिए

नालामा डुबेर बेपत्ता किशोर ३ दिनपछि मृत भेटिए

प्रतिकात्मक तस्बिर


नेपालखबर
साउन २७, २०८० शनिबार ८:३२, बाँके

बाँकेको खजुरा गाउँपालिका-७ स्थित जेठी नालामा डुबेर बेपत्ता भएका किशोर तीन दिनपछि मृतावस्थामा फेला परेका छन्। 

जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका-६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए। बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल पीबीसी इँटाभट्टानजिक नालामा गएराति सुनारको शव फेला परेको इलाका प्रहरी कार्यालय (धनौली) का प्रहरी निरीक्षक सन्दीप बेल्वासेले जानकारी दिए। 

बेपत्ता सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्थानीय गोपाल तामाङले नालाबाट निकालेका थिए। सुनारको शव शुक्रबार नै भेरी अस्पताल नेपालगन्जमा परीक्षणका लागि ल्याइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बेल्बासेले बताए। 

जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुनार खोलामा बाढी आएको समयमा पौडी खेल्दा बेपत्ता भएको विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष दलकृष्ण सुनारले जानकारी दिए। 

लगातारको वर्षाले बाँकेको खजुरा गाउँपालिका क्षेत्रमा बग्ने जेठी नाला, किरण नाला र पेडारी नालामा बाढी आएको छ। तसर्थ खोलानाला, पोखरी, पानी जमेको ठाँउमा सतर्कता अपनाउन आग्रह गरिएको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .