ad ad

मधेस


बर्दिबास खानेपानीको अध्यक्षमा ५ जनाको उम्मेदवारी, राजनीतिक दलका छुट्टाछुट्टै प्यानल

बर्दिबास खानेपानीको अध्यक्षमा ५ जनाको उम्मेदवारी, राजनीतिक दलका छुट्टाछुट्टै प्यानल

नेपालखबर
फागुन ५, २०७९ शुक्रबार ८:१८, महोत्तरी

महोत्तरीको बर्दिबासस्थित खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ। 

संस्थाको नयाँ कार्यसमिति चयनका लागि यही फागुन १४ गते निर्वाचन हुँदै छ।

यसअन्तर्गत बिहीबार अध्यक्ष पदका लागि ५ जनाको उम्मेदवारी परेको हो। विभिन्न राजनीतिक दलका नेता/कार्यकर्ताले दलगत रुपमा प्यानलै बनाएर उम्मेदवारी दिएका छन्।

संस्थाका पूर्वअध्यक्षसमेत रहेका चूडामणि पोखरेलले पनि आफ्नो प्यानलतसहित अध्यक्षमा उम्मेदवारी दिएका छन्। उनी माओवादी केन्द्र निकट मानिन्छन्। उनले एमाले र कांग्रेसलाई पनि समेटेर आफ्नो प्यानल खडा गरेका छन्।

एमालेबाट अध्यक्ष पदका लागि तीनजनाले उम्मेदवारी दिएका छन्। 

एमालेबाट निरोज अधिकारी, देवनारायण महतो र भोजराज भट्टराईले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्। एमालेमा अध्यक्ष पदका लागि सर्वसम्मत उम्मेदवार नभएपछि तीन जनाको उम्मेदवारी परेको हो।

बर्दिबास नगरपालिकाका मेयर प्रह्लादकुमार क्षेत्रीनिकट मानिने भुलनबहादुर सेन ठकुरीले पनि प्यानलसहित उम्मेदवारी दिएका छन्। कांग्रेस निकटका ठकुरी गएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार क्षेत्रीको पक्षमा लागेका थिए।

कांग्रेसबाट टिकट नपाएपछि बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्रबाट चुनाव जितेका क्षेत्रीले त्यसयताका हरेक निर्वाचनमा आफ्नो छुट्टै समूह बनाउने गरेका छन्।

गएको संघ र प्रदेशसभा सदस्य निर्वाचनमा पनि उनले आफू निकट व्यक्तिलाई स्वतन्त्र उम्मेदवार बनाएका थिए। तर, निर्वाचनमा उनका उम्मेदवार विजयी हुन सकेनन्। 

बर्दिबास खानेपानी संस्थाको कार्यसमिति अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र पाँच जना सदस्यसहित ९ सदस्यीय छ।

संस्थाको उपाध्यक्षमा चार, सचिवमा चार, कोषाध्यक्षमा ६ र पाँच जना सदस्यको लागि १९ जनाको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत सन्देश अधिकारीले जानकारी दिए।

बर्दिबास खानेपानी संस्थाको हरेक निर्वाचनमा दलहरुले प्यानल बनाएर उम्मेदवार उठाउने गरेका छन्। खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बर्दिबासमा पाँच हजार तीन सय भन्दा धेरै उपभोक्ता छन्।

आर्थिक रुपमा निकै बलियो बर्दिबास खानेपानीको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलका नेताहरुबीच तीव्र प्रतिस्पर्धा हुने गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .