मधेस


सिरहानजिकै गुरु जलिरहेको चितामा चेला हाम फालेको घटना भारतको : प्रहरी

सिरहानजिकै गुरु जलिरहेको चितामा चेला हाम फालेको घटना भारतको : प्रहरी

जनार्दन पोखरेल
बैशाख २९, २०८० शुक्रबार १२:२३, सर्लाही

भारतको बिहारमा साधु (गुरु) लाई जलाइरहेको चितामा हाम फालेर एकजना शिष्य (चेला) ले आत्महत्या गरेका छन्।

मधेश प्रदेशको सिरहा जिल्लानजिकै पर्ने भारतीय गाउँमा तीन दिनअघि (मंगलबार) यो घटना भएको हो।

भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको लक्ष्मीनियाँ गाउँका १२२ वर्षीय विष्णु दास महाराजको गत सोमबार निधन भएको थियो।

लामो समयदेखि धनुषाको सबैला नगरपालिका ९ स्थित एक मन्दिरमा बस्ने गरेका दासको सोमबार साँझ सिरहाको सुखीपुर नगरपालिका २ मा आयोजित महायज्ञमा सहभागी हुन गएका बेला निधन भएको थियो। 

उनको पार्थिव शरीर मंगलबार भारतीय भूमिमा लगेर अन्त्येष्टि गरिएको थियो। सोही क्रममा उनका चेला ५५ वर्षीय रामचन्द्र महतो जलिरहेको चितामा हाम फालेका हुन्।

केही मिडियाले नेपाली भूमिमा यो घटना भएको दाबी गर्दै समाचार सम्प्रेषण गरे पनि सिरहा प्रहरीले भने त्यसलाई अस्वीकार गरेको छ। 

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्तासमेत रहेका डीएसपी रवीन्द्रराज पाण्डेले मृत्यु हुने साधु, चितामा फाल हान्ने उनका चेला दुवै भारतीय भएको बताए। 

‘गुरुलाई जलाइरहेको चितामा फाल हानेर चेलाले आत्महत्या गरेको खबर हामीले हिजै (बिहीबार) पाएका थियौँ। तत्कालै हामीले स्थानीय प्रहरी युनिटहरुसँग यो घटनाको विषयमा बुझ्यौँ’, डीएसपी पाण्डेले नेपालखबरसँग भने, ‘मर्ने साधु, आत्महत्या गर्ने उनका चेला दुवै भारतीय रहेछन्। घटनास्थल पनि भारतीय भूमि भएकाले हामीले त्यसलाई रेकर्डमा राखेनौँ।’

साधु लामो समयदेखि धनुषाको सबैला नगरपालिका ९ मा बसेको स्थानीयले बताएका छन्। 

केही साधु-सन्त, भारत र नेपालका नागरिक गरी झण्डै ५० जना मानिस साधुको दाहसंस्कारमा सहभागी थिए। साधुको दाहसंस्कार भइरहँदा त्यही चितामा महतोले हाम फालेर आत्महत्या गरेको सार्वजनिक भिडिओमा देख्न सकिन्छ।

जलिरहेको चितामा महतो हाम फालेपछि सँगै रहेका मलामीहरूले उनलाई चिताबाट निकाल्ने प्रयास गरेका थिए। तर, ह्वारह्वारी बलिरहेको चिताबाट उनलाई निकाल्न नसक्दा महतो पनि दाससँगै एउटै चितामा जलेको भिडियोमा देख्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .