मधेस


टीकाटालो गर्ने क्रममा गर्भवती रहेको खुल्यो, गर्भपतन गराउन खोज्दा किशोरीको ज्यान गयो

टीकाटालो गर्ने क्रममा गर्भवती रहेको खुल्यो, गर्भपतन गराउन खोज्दा किशोरीको ज्यान गयो

प्रतिकात्मक तस्बिर


जनार्दन पोखरेल
जेठ २९, २०८० सोमबार १२:१७, सर्लाही

सर्लाहीमा गर्भपतन गर्ने क्रममा एक अविवाहित किशोरीको मृत्यु भएको छ। 

बसबरिया गाउँपालिका–२ मानपुर निवासी महेन्द्र सहनी (मलाहा) की अविवाहित छोरी १६ वर्षीया किरण कुमारीको गर्भपतन गर्ने क्रममा उत्पन्न स्वास्थ्य जटिलताका कारण मृत्यु भएको हो। 

उनी पाँच दिनदेखि जनकपुर प्रादेशिक अस्पतालमा उपचाररत थिइन्। 

आईसीयूमा राखेर उपचार गर्ने क्रममा आइतबार दिउँसो उनको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय (सर्लाही) का प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले जानकारी दिए। 

सुवेदीका अनुसार अभिभावक किशोरीको बिहे गरिदिने तयारीमा थिए। यस क्रममा केही दिनअघि मात्रै अभिभावकले उनको टीकाटालो (छेका) समेत गराएका थिए। 

छेकाअघि नयाँ कपडा पहिर्‍याउने क्रममा किशोरीको पेट अस्वाभाविक रुपमा ठूलो देखिएपछि परिवारका सदस्यले उनको पेटमा गर्भ रहेको आशंकासहित सोधिखोजी गरेका थिए। 

टीकाटालो सकिएपछि अभिभावकले स्वास्थ्य परीक्षणका लागि किशोरीलाई धनकौलको एक क्लिनिकमा पुर्‍याए। 

परीक्षणका क्रममा उनको पेटमा ७ महिनाको गर्भ रहेको पत्ता लाग्यो। त्यसपछि क्लिनिक सञ्चालकले किशोरीलाई गर्भपतनको औषधि खान दिए। 

गर्भपतनको औषधि खाएपछि उनलाई लिएर अभिभावक घर फर्किए। अभिभावकका अनुसार औषधि खाएको भोलिपल्टदेखि किशोरीको रक्तस्राव सुरु भयो। 

रक्तस्रावले किशोरी शिथिल बन्दै गएपछि उनलाई उपचारका लागि जेठ २१ गते मध्यराति प्रादेशिक अस्पताल (मलंगवा) लगियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि किशोरीलाई जेठ २२ गते जनकपुर पुर्‍याइयो। र, जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरेर उनको उपचार सुरु गरियो। गत मंगलबार (जेठ २३ गते) शल्यक्रिया गरी किशोरीको गर्भबाट सात महिनाको मृत शिशु निकालियो। 

‘शल्यक्रियापछि किशोरीको स्वास्थ्य अवस्था थप गम्भीर बनेछ’, एसपी सुवेदीले नेपालखबरसँग भने, ‘त्यसपछि उनलाई जनकपुर प्रादेशिक अस्पतालकै आईसीयूमा उपचार गर्ने क्रममा आइतबार दिउँसो मृत्यु भएको हो।’

किशोरी कोसँगको यौन सम्बन्धपछि गर्भवती भइन्, खुलेको छैन। किशोरी यौन शोषणमा परेको हुनसक्ने अनुमान गरिएको छ। किशोरीका अभिभावकले अहिलेसम्म यस विषयमा केही नबताएको एसपी सुवेदीले जानकारी दिए।

‘किशोरीलाई गर्भपतनको औषधि दिने क्लिनिक सञ्चालक धनकौलका रहेछन्’, एसपी सुवेदीले भने, ‘उनैले दिएको औषधि खाएपछि किशोरीको स्वास्थ्य अवस्था जटिल बनेको अभिभावकले बताएका छन्। ती क्लिनिक सञ्चालक अहिले हाम्रो निगरानीमा छन्।’

इलाका प्रहरी कार्यालय (बरहथवा) का प्रमुख (डीएसपी) मकेन्द्रकुमार मिश्रले घटनाबारे थप अनुसन्धान गर्न बाँकी रहेको बताए। 

उनले जनकपुर प्रहरीबाट किशोरीको मिसिल प्राप्त भएपछि थप अनुसन्धान अघि बढाइने जानकारी दिए। 

‘किशोरीलाई गर्भवती बनाउने उनका केटा साथीको अहिलेसम्म पहिचान भएको छैन। अभिभावकले पनि यस विषयमा हामीलाई केही जानकारी दिएका छैनन्’, डीएसपी मिश्रले भने, ‘जनकपुरबाट किशोरीको मिसिल र पीडित परिवार सम्पर्कमा आएपछि थप अनुसन्धान अघि बढाउन सहज हुन्छ।’ 

इलाका प्रहरी कार्यालय (बरहथवा) ले किशोरीको शव पोस्टमार्टम गरेर आवश्यक कागजात उपलब्ध गराइदिन जनकपुर प्रादेशिक अस्पताललाई पत्राचार गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .