ad ad

मधेस


वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनको जिम्मेवारी लिने

नेपालखबर
साउन २, २०८१ बुधबार १६:५७, वीरगञ्ज

वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा पररी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ।

राष्ट्रिय समाचार समिति (रासस)ले मङ्गलबार ‘सिमलताल पहिरोः जवाहीरको परिवारमा परेको पीडा’ शीर्षकमा घरमुली जवाहीर हराएपछि सन्तानको पालनपोषण र शिक्षामा समस्या हुने विषयमा केन्द्रित रहेर समाचार प्रकाशन गरेको थियो।

समाचार प्रकाशन भएको भोलिपल्टै अर्थात् आज बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गरेका थिए।

‘बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ’, नगरप्रमुख सिंहले भने, ‘जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कार्यान्वयन गर्नेछ।’

जवाहीरका एक छोरी र दुई छोरा छन्। महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदीमा खसेको थियो।
 

नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .