म्यागेजिन


सपना प्रधान मल्लको मातृत्व अनुभवः बच्चा जति प्यारो श्रीमान् पनि नहुने रहेछन्

सपना प्रधान मल्लको मातृत्व अनुभवः बच्चा जति प्यारो श्रीमान् पनि नहुने रहेछन्

बुहारी आएपछि सपना प्रधान मल्ललाई आफूले छोरी पाएको महसुस भएको छ (तस्बिरः विक्रम राई)


राधिका अधिकारी
माघ २२, २०७८ शनिबार ८:५८, काठमाडौँ

सपना प्रधान पाँच वर्षकी थिइन्। उनका बुबाआमा संयुक्त परिवारबाट छुट्टिए। त्यसपछि उनीहरुको परिवार परासी बजारमा बस्न थाल्यो। सपनाकी आमा काम गर्न थालिन्, दिदीहरु पढ्न काठमाडौँ पसे। कान्छी छोरी भएकाले सपनाले भने आमासँगै बसेर पढ्ने मौका पाइन्। यो उनका लागि नाफा–घाटा दुवै थियो। आमासँग बस्न पाउँदाको खुसी एकातिर थियो, अर्कोतिर गुणस्तरीय शिक्षाबाट बञ्चित हुनु पर्यो। गाउँमा शिक्षाको स्तर त्यति राम्रो थिएन। त्यसप्रति उनको खासै गुनासो थिएन।

उनलाई गुनासो थियो त आफूलाई आमाले पर्याप्त समय दिन नसकेकोमा। आमा काममा जानुपर्ने भएपछि उनले चाहेजति समय आमासँग गुजार्न पाउँदिनथिन्। तर, आमाको त्यसबेलाको बाध्यता उनले तब मात्रै बुझिन्, जब उनी आफैँ आमा बनिन् र छोरालाई छाडेर आफू काममा हिँड्नुपर्ने भयो।

उनी हुर्किंदै गरेको समय अहिलेभन्दा निकै फरक थियो। अहिलेको जस्तो डिजिटल युग थिएन। हिजोआज फर्किहेर्दा आफू हुर्किएको समय सुन्दर लाग्छ सपनालाई। तराईको समथर फाँट, ठूलो परिवार। एकै परिवारमा थुप्रा केटाकेटी। केटाकेटी एकआपसमा मिलेर विभिन्न साइनो गाँस्दै खेल्ने खेल। यही खेलले सिकाएको मानिसप्रतिको अपनत्व आजभोलि अलि कम देख्छिन् उनी। मानिसबाट मानवीय संवेदना हरायो भनेर धेरैले पीर गरिरहेको पनि उनी सुन्छिन्। मान्छेले मान्छेलाई आफ्नो ठान्न नसक्नुका पछाडि उसको हुर्काइले पनि ठूलो भूमिका खेल्ने उनको ठम्याइ छ।​

महिनावारी र गर्भावस्थाको ज्ञान
स्कुल पढ्ने समयमै स्वास्थ्यको पाठ्यक्रममा महिनावारीका बारेमा लेखिएको थियो। महिनावारी र गर्भाधानको चक्रका विषय पढाइ हुन्थ्यो। सँगैका साथीसँगै सपनाले पनि शिर निहुराएर पढेकी हुन् त्यो पाठ। मासिक चक्र र गर्भाधानका बारेमा सरले पढाउँदै गर्दा राता भएका थिए उनका कान। 

‘जिन्दगीको निक्कै महत्वपूर्ण पाठ रहेछ त्यो,’ सपनाले निक्कै पछि बुझिन्।

सपनाका दिदीहरु भएकाले आफैँ महिनावारी हुने समयसम्म धेरै कुराको जानकारी भइसकेको थियो। नेवारी संस्कृतिमा बेलसँगको विवाहदेखि नै छोरीहरुलाई ‘अब तिमीहरु तरुनी हुँदैछौ है’ भनेर सिकाउने भएकाले पनि आफ्नै महिनावारी आश्चर्यको विषय बनेन।​​

‘धेरै छिटो विवाह गरेछु’
२२ पुरा गरेर २३ वर्ष लाग्दै गरेकी सपना कानुन अध्ययनपछि भर्खर अधिवक्ता भएकी थिइन्। उनले प्रेम विवाह गरिन्।

अहिले सपनालाई लाग्छ, ‘धेरै छिटो विवाह गरेछु।’ 

विवाह गर्दै गर्दा सपनाले आफ्ना श्रीमानलाई भनेकी थिइन् ‘म एलएलएम पढ्न विदेश जान्छु।’

नेपालमा त्यतिबेला एलएलएम पढाइ हुँदैनथ्यो। विवाहको ३ महिनापछि सपना पढ्न दिल्ली जाने भइन्।

सासूले भनिन्, ‘जेठी बुहारी पढ्न गएर घर कल्ले हेर्छ?’ 

सपनाका श्रीमानले आमालाई भने, ‘सपना नहुँदा घर कल्ले हेथ्र्यो? हामी हेर्छौँ।’

सपनाको दिल्ली यात्रा सहज भयो। परम्परागत समाजमा पनि राम्रो सञ्चार गर्न सकेको खण्डमा जीवन सहज हुने सपनाको बुझाइ छ। 

गर्भावस्थामा पनि लडिरहिन् मुद्दा
साढे दुई वर्षको एलएलएम कोर्स गर्न दिल्ली गएकी सपना नेपाल फर्किने बेला हुँदै थियो। उनका श्रीमान् दिल्ली गएर नेपाल फर्किसकेका थिए। सपनाको शरीरले अनौठो प्रतिक्रिया दिन थाल्यो। चेकअप गर्दा उनको प्रेगनेन्सी रिपोर्ट पोजिटिभ आयो। उनी निकै खुसी भइन्।

तर उनको यो खुसीको उज्यालोमा त्यतिबेला अँध्यारो बादल लाग्यो, जतिबेला डाक्टरले उनलाई भने, ‘तपाईंको गर्भाशयमा मल्टिपल फाइब्रोइड्स छ।’ 

सपनालाई त्यसबेला लाग्यो, ‘आमा बन्नुमा जति खुसी छ, बच्चा बस्ने घर त्यति नै सुरक्षित हुनु जरुरी रहेछ।’

गर्भावस्थाको केही महिनामा सपना नेपाल आइन्। शारीरिक र मानसिक उतारचढाव आइरहे। हर्मोनल परिवर्तनका कारण बेलाबेला कमजोर महसुस हुन्थ्यो। त्यो बेला परिवारले दिएको साथले पारिवारिक सम्बन्ध झन् बलियो बनायो। 

‘गर्भावस्थाको समयबाट जीवन, समाज र स्वास्थ्यलाई हेर्ने दृष्टिकोण परिवर्तन हुँदै जाने रहेछ,’ सपनाले सुनाइन्।

गर्भावस्थाको समयमा आफन्तहरु भेट्न आउने, के खान मन छ भनेर सोध्ने, खान दिने कुराले निकै खुसी दिन्थ्यो। गर्भावस्थाको समयमा सबैले आफूलाई ध्यान दिऊन् भन्ने चाहना हुने रहेछ। त्यसैले संस्कार पनि त्यस्तै विकास भएको रहेछ भन्ने उनले बुझिन्।

गर्भावस्थाको समय पनि सपना खाली बसिनन्। कृष्णप्रसाद भण्डारीको ल फर्ममा उनी काम गर्थिन्। गर्भावस्थाको त्यो समयमा उनले लडेको चर्चित मुद्दा थियो चलचित्र ‘कुसुमे रुमाल’को। निर्देशक तुलसी घिमिरे र निर्माता उद्धव पौडेलबीच सेयर बाँडफाँटको विषयलाई लिएर मुद्दा परेको थियो। गर्भावस्थामा वकालत गरेको मुद्दा सम्झिँदा उनलाई त्यही मुद्दा याद आउँछ।​

ज्ञानी सुत्केरी
होलीको दिन थियो। सपनाले दिनभरि परिवारसँग होली खेलिन्। साँझ खाना बनाएर खाइन्। त्यसपछि साइन सुतक (वाटर ब्रेक) भयो। उनी अस्पताल भर्ना भइन्।

अस्पताल भर्ना भएपछि उनकी दिदीले भनेकी थिइन्, ‘धेरै कराएर बेइज्जत गर्छे होला यसले। धेरै नकरा ल।’ 

तर, दिदीले भनेको जस्तो भएन। धेरैले उनलाई ज्ञानी सुत्केरी भन्थे। 

सपनाको मनमा डर थियो पाठेघरको मुखमा असाध्यै धेरै ट्युमर भएकाले अप्रेसन गर्नु पर्ला भनेर। त्यतिबेला २०४७ सालको आन्दोलन चलिरहेको थियो। अस्पतालमा रगत नपाइने, बाटोमा एम्बुलेन्स गुड्न पाउँदैनथे। आन्दोलनले झन् धेरै तनाव थपिदिएको थियो। 

प्रसव व्याथाले शरीरका सम्पूर्ण हड्डी भाँचिएको जस्तो हुन्थ्यो। सपनाको मनले श्रीमानको साथ खोजिरहेको थियो। तर, उनका श्रीमान् त ‘पर्यो भने बोलाउनू’ भनेर घर गएर सुतेछन्। त्यो समय सपनालाई निकै रिस उठेको थियो।

त्यतिबेलै प्रसुती गृहलाई प्रश्न गर्न मन थियो, ‘बच्चा जन्माउँदाको पीडामा बाबुलाई सहभागी हुन किन नदिने? नीति समीक्षा गर्नुस्।’

अस्पतालमा आमा बन्ने तयारीमा रहेका महिलामध्ये कति मरिन्छ भनेर डराइरहेका हुन्थे। उनलाई खै किन हो जीवनको माया पटक्कै लागेन। प्रसव व्याथाको समयमा मात्रै होइन उनलाई त अहिले पनि मर्न देखि डर लाग्दैन।

भन्छिन्, ‘अहिले पनि त ज्यान मार्ने धम्की आइरहन्छ। मर्न पटक्कै डर लाग्दैन। सुत्केरी हुने बेला पनि लागेन।’ 

सपनाले प्राकृतिक रुपमै छोरालाई जन्म दिइन्। दुखाइपछि देखेको छोराको अनुहारको कान्तिले सपनाको सबै पीडा बिर्सायो। आफ्नो बच्चा पहिलो पटक स्पर्श गर्दाको खुसी व्यक्त गर्ने कुनै शब्द छैनन् सपनासँग। 

बच्चा जन्मेपछिको हरेक समय सपनालाई रमाइलो नै लागिरह्यो। सानैबाट शरीरमा तेल लगाउन मन पराउने उनलाई सुत्केरी तेलको बास्ना पनि उत्तिकै मन पर्यो। 

काम र परिवारबीचको सन्तुलन कठिन
संयुक्त परिवार, परिवारका सबै सहयोगी। सपनाको सुत्केरी अवस्था निकै सुन्दर भयो। छोरो हुर्काउने क्रममा पनि सपनालाई कुनै समस्या भएन। संयुक्त परिवारका सबैको अपेक्षा पुरा गर्न त गाह्रै हुथ्यो। तर, सपनाका लागि भने उनको परिवार शक्ति थियो। संयुक्त परिवार भएकैले बच्चा हुर्काउने क्रममा चिन्ता लिनु परेन सपनाले। 

उनका श्रीमानले पनि बच्चा हुर्काउन सपनालाई पूर्ण रुपमा साथ दिए। नेपाली समाजमा बच्चाको काम गर्ने जिम्मा आमाको ठान्ने सोच भत्काएर सपनाका श्रीमानले सबै काम आफैं गरे। मुद्दा हेर्न थालेपछि सपनाको दैनिकी व्यस्त हुन थालेको थियो।

२०४७ सालको परिवर्तनले मानिसहरुको चेतनाको दैलो उघारेको थियो। अन्यायविरुद्ध उनीहरु बोल्न थालेका थिए। न्याय माग्दै अदालत आउनेहरुको संख्या पनि बढेको थियो। होटललगायत प्रतिष्ठानमा व्यवस्थापन र कामदारबीच मुद्दा पर्थ्यो। उनी तिनै मुद्दा हेर्थिन्। कानुनी परामर्श दिन्थिन्। वकालत पेसाका कारण सपनाले आफ्नै छोरालाई पर्याप्त समय दिन पाइनन्। 

हुर्किंदै गरेका छोरा उनलाई भन्थे, ‘आमाले मलाई कम समय दिनुभयो। मलाई हजुरआमाले हुर्काउनु भयो।’ 

सपनाको मन अमिलो हुन्थ्यो। आँखाभरि आँसु हुन्थे। लुकेर आँसु पुछ्थिन् र सोच्थिन्, ‘छोराले कुनै दिन बुझ्ने छ।’ 

उनलाई लाग्थ्यो, ‘जन्माउन पो महिला नै चाहिन्छ त, त्यसबाहेक बच्चाको जिम्मेवारी बहन गर्न अरुले पनि सक्छन्।’

त्यसैले उनका श्रीमानले छोरालाई ज्यादा समय दिए। त्यही कारण छोरा आफ्नो हर आवश्यकतामा ‘ड्याडी!’ भनेर बोलाउँथे।

सपनाको छाती चसक्क हुन्थ्यो, ‘यसैगरी छोरो म बाट टाढा त हुँदैन?’

तर हुर्केसँगै छोराले पनि बुझे, ‘आमाले आफ्नो करिअर बनाउन मलाई कम समय दिनु भएको रहेछ।’​

स्कुल छाड्दा मुटु चुँडियो
सपनाका छोरा ९ वर्षका भएका थिए। उनीहरुले छोरालाई गण्डकी बोर्डिङ स्कुल पोखरामा भर्ना गरिदिए। उनीहरु काठमाडौैँ बस्ने। छोरो छाड्न पोखरा गएकी सपनाको मन काठमाडौं फर्किएन। उनी बाटोभरि डाँको छाडेर रुँदै काठमाडौं आइन्। सपनालाई त्यसबेला मुटु चुँडेर फालेको जस्तो भएको थियो।

भन्छिन्, ‘आत्माबिनाको शरीर जस्तो भएकी थिएँ म।’

उनका श्रीमान सानैबाट बोर्डिङमा बसेर पढेकाले पनि धेरै पीडा देखाउँदैनथे। तर, एक वर्षपछि नै सपनाले छोरालाई काठमाडौं फिर्ता ल्याइन्।

सपना भन्छिन् ‘बच्चाको जति माया श्रीमानको पनि नलाग्ने रहेछ।’

स्कुल पढ्ने बेलामा उनका छोरा मध्यम खालका विद्यार्थी थिए। उनलाई खेलमा रुचि थियो। खेल्दाखेल्दै कहिले हात, कहिले खुट्टा भाँचेर घर आउँथे।

सपना भन्छिन्, ‘मेरो छोराको शरीरमा नटुटेको अंग छैन।’ 

छोरा शरीरका अंग तोडेर आउँथे, सपनाको मन चुँडिएर भुइँमा छट्पटाउँथ्यो। उनका छोरा आमा आत्तिनुहुन्छ भनेर दुखेपनि नरोइ बस्थे। बिस्तारै छोराको रुचि संगीततिर मोडियो। उनका छोरा सुरुसुरुमा गितार बजाउँथे। हिजोआज पियानो बजाउँछन्।

रुचि मात्रै होइन, उनका छोराले उमेरअनुसार सपना पनि फेरिरहे। सानोमा ट्रक ड्राइभर बन्ने सपना देख्थे। अलि ठूलो भएपछि वैज्ञानिक बन्छु भन्थे। आखिरीमा उनमा आमाको प्रभाव पर्यो र कानुन पढ्न कस्सिए। हिजोआज वकालतमा व्यस्त उनका छोराको सपना अहिले आमाको जस्तै समाजमा प्रभाव छाड्ने काम गर्नु हो।

‘बुहारी आएपछि घर पूर्ण भयो’
सपनाका श्रीमान्–श्रीमतीले एक जना मात्र बच्चा जन्माउने निर्णय गरेका थिए। दोस्रो बच्चाको बारेमा कहिल्यै सोचेनन्। एउटा छोरा मात्र हुँदा सपनालाई घर अपूर्ण जस्तो लागिरहन्थ्यो। अघिल्लो वर्ष उनका छोराले विवाह गरे। बुहारी आएपछि सपनालाई आफूले छोरी पाएको महसुस भयो। उनलाई बल्ल आफ्नो घर पूर्ण लाग्यो। बाहिर निस्कने बेला सपनालाई बुहारीले के लगाउने, कसरी लगाउने सबै सिकाउँछिन्। 

सन्तान सुखको असली अनुभूति गरिरहेकी सपना भन्छिन्, ‘छोरी र एउटा साथी पाएकी छु। छोरा–बुहारीसँग सम्बन्ध सधैँ बलियो रहोस्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .