म्यागेजिन


जोडी खोज्न श्रेया र श्रद्धाको ‘बिहे नेपाल’

जोडी खोज्न श्रेया र श्रद्धाको ‘बिहे नेपाल’

दिदी बहिनी श्रेया र श्रद्धा कटुवाल (तस्बिर : विजय सिंह/नेपालखबर)


यज्ञराज जोशी
फागुन १६, २०७८ सोमबार १५:४१, काठमाडौँ

सफ्टवेयर इन्जिनियरिङ अध्ययनरत श्रेया कटुवालले स्नातक अन्तिम वर्षमा एउटा प्रोजेक्ट तयार गर्नुपर्ने थियो। के गर्ने भनेर सल्लाह गर्दा आमाले वैवाहिक सम्बन्ध स्थापना गर्ने वेबसाइट गर्न सुझाव दिइन्। आमाले दिएको सल्लाह श्रेयालाई पनि मनपर्यो। साथीहरु बिनिसा तुईंतुईं र सबिथ श्रेष्ठसँग मिलेर उनीहरुले ‘हाम्रो जोडी’ नामको वेबसाइट बनाए।

प्रोजेक्ट सकिएपछि श्रेयाले यसलाई अघि बढाउन खोजिन। तर साथीहरु भने निरन्तरता दिन असमर्थ रहे। त्यहीबेला उनकी दिदी श्रद्धा न्युजिल्यान्डबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर सकेर फर्किएकी थिइन्। सफ्टवेयरमा रुचि भएकी श्रद्धाले बहिनीलाई साथ दिने भएपछि यो प्रोजेक्ट अघि बढ्ने भयो। 

अन्तर्राष्ट्रिय बजारमा डेटिङ तथा जीवनसाथी खोजिदिने एपहरुको प्रयोग सामान्य भइसकेको छ। नेपालमा भने टिन्डरलगायत डेटिङ एपहरुको प्रयोग प्रायः सहरिया युवायुवतीमा सीमित छ। 

तर, मागी, भागी र प्रेम विवाहमा अभ्यस्त नेपाली सामाजमा जीवनसाथी खोजिदिने एपहरुको प्रचलन त्यति छैन। त्यही प्रचलनलाई स्थापित गर्न यी दिदीबहिनीले बिहे नेपाल नामक एप सार्वजनिक गरेका छन्। 

‘बाटो नपुगेका गाउँगाउँमा पनि फेसबुक, टिकटकजस्ता एप प्रयोग हुन्छ। तर, म्याट्रिमोनी एपहरु नेपाली समाजमा त्यति प्रचलनमा आएका छैनन्। यो पनि एक न एक दिन आउँथ्यो नै। हामीले नै किन सुरु नगर्ने भनेर थालेका हौँ,’ श्रद्धा भन्छिन्, ‘डेटिङ एपहरु प्रयोग भएपनि तिनीहरुलाई हाम्रो समाजले राम्रो नजरले हेर्दैन। हामीले दीर्घकालीन प्रतिबद्धतासहित अगाडि बढ्ने हिसाबले यो एप सार्वजनिक गरेका हौं।’

श्रद्धा कटुवाल

२०१९ को नोभेम्बरमा यो प्रोजेक्टको सुरुवात भएको थियो। सुरुमा बेबसाइट बनाउने योजना थियो। तर दुईपल्टको प्रयासमा पनि त्यो सफल नभएपछि एप नै बनाउने निर्णयमा उनीहरु पुगेका हुन। त्यसका लागि श्रेया आफ्नो जागिर छाडेर पूर्णकालीन रुपमा एप निर्माणमा खटिएकी थिइन्। त्यसक्रममा उनलाई प्रकाशचन्द्र अवाल, आयुष कटुवाल, अब्दुल मियाँमल, प्रकाश आत्रेय, विशाल केसीलगायतले विभिन्न चरणमा सहयोग गरेका छन।

‘जागिर नै छाडेर यसमा लाग्न जोखिम त थियो। तर मैले पढेका आधारमा आफ्नै आइडियाबाट केही बनाऊँ भन्ने लागिरहेको थियो,’ २४ वर्षीया श्रेयाले भनिन्, ‘जागिर मात्रै गरेर आफ्नो सिर्जनात्मकता देखाउन सकिँदैन। त्यही सोचेर जे हुन्छ हुन्छ, आफ्नै कोसिस गर्छु भन्ने सोचले यसमा होमिएकी हुँ।’

श्रद्धा (२७) ले न्युजिल्यान्डबाट फर्केपछि आफ्नै निर्माण कम्पनीमा काम सुरु गरेकी थिइन्। कोरोनाका कारण भएको लकडाउनपश्चात निर्माणकार्य स्थगित भए। त्यही भएर उनीपनि सफ्टवेयरमा केन्द्रित हुने योजनासहित बहिनीलाई साथ दिन आइपुगिन्। 

जागिर छाडेर एपमै केन्द्रित भएपछि श्रेयालाई सबैकुरा आफैँमा निर्भर भएको अनुभव भयो। उनलाई अह्राउने–सिकाउने कोही थिएन। त्यहीबेला दिदीले साथ दिएकोमा उनी कृतज्ञ छिन्। 

‘अब मैले आफ्नै लागि काम गरिनँ भने जीवनमा केही पनि गर्न सक्दिनँ भन्नेखालको अनुभव भयो। आफैँमा दबाब महसुस भयो र रातदिन नभनी काम गर्न थालेँ,’ श्रेया भन्छिन्, ‘दिदीको साथ पाउँदा धेरै सजिलो भयो। जुनबेला पनि जे कुरा आवश्यक परेपनि मलाई मेन्टरसिप गर्नुहुन्थ्यो।’

भिडियो-

एप विकास गर्नुअघि दिदीबहिनीले बजारमा चलेका थुप्रै एपहरु हेरे। तिनका फिचर, फिल्टर, सब्स्क्रिप्सन मोडलबारे अध्ययन गरे। सुरुमा एक जना मान्छेलाई चिन्न आवश्यक पर्ने सामान्य जानकारीहरु फिल्टरमा राखे। पैसा तिरेर सब्स्क्रिप्सन मोडलमा जान तत्काल सम्भव नभएकाले एपलाई निशुल्क बनाए। अनलिमिटेड व्यक्तिहरुलाई हेर्न सकिने अप्सन राखे। 

आफूले प्रयोग गर्ने सामाजिक सञ्जालमार्फत यो एप प्रयोग गर्न सकिन्छ। लगइनपश्चात उमेर, पेसा र थर देखिन्छ। त्यसैका आधारमा फ्रेन्डसिपको रिक्वेस्ट पठाउन सकिन्छ। दोस्रो पक्षले एक्सेप्ट गरेपछि दुई जनाबीच कुराकानी अघि बढाउन सकिन्छ। 

एपमा उनीहरुले भीआईपी क्लब भन्ने अवधारणा पनि राखेका छन्। उक्त क्लबमा समावेश हुन ४९ हजार तिर्नुपर्ने हुन्छ। त्यसमा बिहेका लागि अर्जेन्ट हुनेहरु र जोडी खोज्न गम्भीर रुपले लागेकाहरु समावेश हुन सक्छन। व्यक्तिगत पहिचान, शैक्षिक प्रमाणपत्र, अनुहार भेरिफिकेसन समावेश गरेपछि उक्त क्लबमा प्रवेश पाइन्छ। 

बिहेनेपाल नोभेम्बर २०२१ मा परीक्षणका रुपमा सार्वजनिक गरिए पनि गत बिहीबारमात्रै औपचारिक रुपमा सुरुवात गरिएको हो। अहिले १८ हजार बढीले एप डाउनलोड गरिसकेका छन्। 

‘भरसक यो एप सबैले प्रयोग गर्न सकून् र सहयोग मिलोस् भनेर बनाएका छौँ,’ श्रद्धा भन्छिन्, ‘त्यो मान्छेले सकेसम्म कोही भेटोस्, जोडी बनोस् भन्ने हाम्रो उदेश्य हो। कम्तीमा लक्षित समूहका ५०–६० प्रतिशत आइदिनुभयो भने हाम्रो लक्ष्य भेटिनेछ।’

श्रेया कटुवाल

प्रयोगकर्ताका डेटाको सुरक्षा र गोपनीयतामा आफूहरु गम्भीर रहेको उनको दाबी छ। 

‘व्यक्तिको सामाजिक सञ्जालबाटै लगइन हुने भएकाले हामीसँग युजरनेम र पासवर्ड हुँदैन,’ श्रेयाले भनिन्, ‘हामीले सकेसम्म प्रयोगकर्तासँग कमभन्दा कम डेटा संकलन गरेका छौँ। सुरक्षित प्लाटफर्म र सेक्युरिटी चेकअपका लागि व्यवसायिक व्यक्तिहरुलाई पनि टोलीमा समावेश गरेका छौँ।’

कुनै व्यक्तिले एपको दुरुपयोग गरे रिपोर्ट गर्न सकिने र त्यस्ता व्यक्तिलाई कम्पनीले फेरि सदस्य नबन्ने गरी ब्लक गर्नसक्ने नीति लिइएको उनीहरुले बताए।  

‘अहिले नै १८ हजार प्रयोगकर्ता पुग्दा हामी एकदमै उत्साहित छौँ। छोटो समयमा यतिधेरै प्रयोगकर्ता आइपुग्नुहुन्छ भनेर हामीले अपेक्षा नै रोखेका थिएनौँ,’ श्रद्धाले भनिन्, ‘सबै कुरा अपडेट गर्नुपर्ने भएकाले केही प्राविधिक इस्युहरु देखिनसक्छन्। हामी जतिसक्दो चाँडो समाधान गर्ने प्रयासमा जुटेका छौं।’

रावा सफ्टवेयर कम्पनीबाट सार्वजनिक गरिएको एपमा अहिलेसम्म उनीहरुको ४० लाख लगानी भइसकेको छ। आगामी दिनमा पनि एप निशुल्क प्रयोग गर्न दिने उनीहरुको योजना छ। एपलाई व्यावसायिक रुप दिन भने ब्रान्ड पार्टनरसिप, सहकार्य, फिचरहरु थप्ने र मनिटाइजेसनमार्फत आय बढाउने उनले बताइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .