म्यागेजिन


जीवनकै पहिलो हारको चोट बिर्सिने कोसिस गरिरहेका सुवास नेम्वाङ

जीवनकै पहिलो हारको चोट बिर्सिने कोसिस गरिरहेका सुवास नेम्वाङ

जीवनमा धेरै वटा चुनाव लडेका सुवास नेम्वाङ पहिलो पटक राष्ट्रपतिको चुनाव हारे (तस्बिरहरूः सरोज नेपाल)


सागर न्यौपाने
चैत ९, २०७९ बिहिबार ६:५०, काठमाडौँ

जीवनमा धेरै वटा चुनाव लडे सुवास नेम्वाङले। कुनै बेला उनले प्राध्यापक संघको क्याम्पस इकाइदेखि सर्वोच्च बार एसोसियसनको सचिव र नेपाल बारको महासचिवसम्म चुनाव लडेका थिए।

पाँच पटक प्रतिनिधि सभा र दुई पटक राष्ट्रिय सभा गरी सात पटक त संसदीय चुनाव नै लडे। तर, आफूले लडेको कुनै पनि चुनाव हार्नुपरेको सम्झना उनलाई थिएन। यसपालि ७० वर्षको उमेरमा उनले पहिलो पटक हारको नमिठो स्वाद चाख्नुपर्‍यो। त्यो पनि देशको सर्वोच्च पदमा।

‘अहिलेसम्म लडेको कुनै पनि चुनाव मैले हारेको थिइनँ,’ बुधबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा बसेर नेम्वाङले सुनाए, ‘पहिलो पटक राष्ट्रपतिको चुनाव हारेँ।’

यो हारसँगै मुलुकको तेस्रो राष्ट्रपति बन्ने उनको सपना त भंग भयो नै, देशले जनजाति समुदायबाट पहिलो राष्ट्रपति पाउने मौका पनि गुमायो। २५ फागुनमा भएको चुनावबाट रामचन्द्र पौडेल राष्ट्रपति भएका छन्। 

गठबन्धनको हिसाबकिताबमा पछाडि परे पनि चुनावअघि बहुसंख्यक सांसदहरुले मत दिने आश्वासन दिएकाले उनलाई अलिअलि आशा थियो। सबैले उनको नरम बोली व्यवहार अनि सरल व्यक्तित्वको प्रशंसा गरिरहेका थिए। तर, चुनावी नतिजा आउँदा उनी निराश भए।

‘सबै सांसदहरुले तपाईंजतिको व्यक्तित्व हामीलाई चाहिन्छ भन्नुहुन्थ्यो। मत दिने बेला साथ दिनुभएन,’ उनले भने।

यसअघि पनि जित्ने अवस्था भएको बेला राष्ट्रपतिमा उनको चर्चा चल्ने गरेको थियो। तर, त्यसबेला पार्टीले उनलाई उम्मेदवार बनाएन। यसपटक हारिन्छ भन्ने अनुमान हुँदाहुँदै पनि उनी मैदानमा उत्रिएका थिए। 

‘म धेरैवटा चुनावमा सामेल रहेँ। सौभाग्य, चुनाव जितिरहेको थिएँ। अझै पनि जनताको अपार माया र स्नेह पाएकै छु। तर, जनताले चुनेर पठाएका जनप्रतिनिधिबाट साथ नपाएर पराजित भएँ, सबै दलका साथीहरुले जितिहाल्नुहुन्छ भन्नुहुन्थ्यो, तपाईं उपयुक्त व्यक्तित्व हो पनि भन्नुभयो। तर, निर्वाचन परिणाम सोचेजस्तो भएन,’ नेम्वाङले सुनाए, ‘शीतल निवासबाट बाहिर ननिस्कने, सडक जाम नगर्ने र आकाश अवरुद्ध नगर्ने चाहना पूरा भएन। जो जानुभएको छ, उहाँलाई बधाई र शुभकामना।’ 

कहिल्यै नहारेको व्यक्तिले चुनाव हार्दा चोट पर्नु स्वाभाविक हो। नेम्वाङलाई हेर्दा उनी पनि त्यो चोट बिर्सिने प्रयत्न गरिरहेकाझैँ देखिए। 

त्यसैले उनले भने, ‘यसमा मैले दुःख मानेको छैन, यसलाई सकारात्मक रुपमा लिएको छु।’

उसो त उनको दैनिकी झनै व्यस्त भएको छ। सिंहदरबारस्थित उनको संसदीय दलको उपनेताको कार्यालयमा भेट्न आउनेहरुको लर्को उस्तै छ।

बुधबार पनि उपाध्यक्ष विष्णु पौडेल, एमाले सचेतक महेश बर्ताैला, नेतृ शिवमाया तुम्बाहाङ्फे उनलाई कुरिरहेका थिए। 

‘अचेल भीड बाक्लिएको छ, माननीय सदस्यहरु भेट्न छलफल गर्न र कानुनबारे जान्न आउनुहुन्छ,’ उनले थपे, ‘कतिपयले फोनमै सोध्नुहुन्छ। म जवाफ दिन्छु।’

एक घण्टा दस मिनेट उनको कार्यकक्षमा बिताउँदा धेरै पटक उनको फोनको घण्टी बज्यो।

संविधान सभा अध्यक्ष भएपछि चर्चामा 
०४८ सालदेखि नेम्वाङ निरन्तर संसदमा छन्। २०५६ देखि निरन्तर प्रतिनिधि सभा/संविधान सभा सदस्य छन्। संविधान सभाका बेला उनलाई सर्वसम्मत संविधान सभा अध्यक्ष बनाइएको थियो। उनले त्यसबेला राम्रैसँग व्यवस्थापिका संसद् चलाएका थिए। 

विस्तारै बोल्ने, सबैलाई जवाफ दिने उनको शैली आकर्षक थियो। उनी कम रिसाउँछन्। यी सब कारणले उनको लोकप्रियता चुलियो। 

आजभोलि नेम्वाङ हरेक दिनजसो कार्यालय पुग्छन्। त्यो पनि कार्यालय समयमै। उनका अधिकांश भेटघाट त्यहीँ हुन्छ।

‘म कार्यालय नियमित आउँछु, यहाँ भेट्न नखोज्नेलाई संसदकै कोठामा समय मिलाएर भेट्छु। कोहीसँग बाहिर पनि भेट्छु। तर, राजनीतिक भेट घरमा गर्दिनँ,’ आफ्नो बानीबारे उनले सुनाए।

अहिले संसदीय दलको उपनेता रहेका उनी भेट्न आउनेहरुसँग संसदीय अनुभव बाँडिरहन्छन्।

‘प्रदेश सभाका सभामुखहरुले संसदका बारेमा छलफल र संवाद गर्नुहुन्छ। अनुभव आदानप्रदान गर्छु,’ उनले सुनाए, ‘कतिपय टेलिफोनमै सम्पर्क गर्नुहुन्छ। कतिपयले पार्लियामेन्ट के हुन्छ भनेर चासो राख्नुहुन्छ। सबै खालका साथीहरुसँग समान्य रुपमा कुराकानी, व्यावहारिक छलफल हुन्छ।’ 

‘कानुन निर्माणको विषयमा धेरै माननीय सदस्यले भेट्नुहुन्छ। सबै दलका जनप्रतिनिधि, साथीहरुले भेटघाट, छलफल गर्नुहुन्छ,’ उनले भने, ‘म जानेको कुरा सिकाउँछु।’ 

पत्रकारसँग आफ्नो निरन्तर संवाद हुने उनले बताए। 

‘म संविधान सभाको अध्यक्ष हुँदा प्रेसलाई पदेन सदस्य मान्ने गर्थें,’ उनी भन्छन्, ‘पार्लियामेन्टलाई प्रभावकारी बनाउन प्रेसको भूमिका महत्वपूर्ण हुन्छ। संसदका कुनै सानादेखि ठूला घटना, संसदका कमीकमजोरी सभामुख, सचिवालय सरकारदेखि माननीय सदस्यसम्मले बोलिरहँदा, व्यवहार गर्दा कतिपय कमजोरी देखिन्छ। त्यसलाई ध्यान दिनुपर्छ। प्रेसले बाहिरबाट त्यो कुरा हेरिरहेको हुन्छ। माननीय सदस्यले संविधान कानुन, अभ्यास र नियमका बारेमा जान्नैपर्छ, प्रेसले पनि यही कुरामा ध्यान दिनुपर्छ।’

‘माननीय सदस्य भन्ने बानी लाग्यो’
अध्यक्ष केपी शर्मा ओलीसँग निरन्तर छलफल गरेर काम गर्दा कतिपय समय आफैँले कन्भिन्स गराएको अनुभव उनीसँग छ।

‘संसदीय दलको नेता, पार्टी अध्यक्ष संसदमा उपस्थित रहनुहुन्न। २४ सै घण्टा सम्पर्कमा रहेर काम गर्नुपर्छ। धेरै प्रसङ्गमा छलफल हुन्छ। जीवन्त सम्बन्ध बनाएर काम गर्नुपर्छ,’ उनको अनुभवले भन्छ, ‘कुनै प्रसङ्गमा सँगै हिँडिरहँदा पार्टी सदस्य कमरेडहरुबीच एउटै दृष्टिकोण नहुन पनि सक्छ। पार्टीलाई विधि र प्रक्रिया अनुसार चलाउन अध्यक्षले मार्गनिर्देश गर्ने हो। अध्यक्षले यसो गर्नुपर्छ भन्नुहुन्छ।’ 

नेम्वाङ पार्टीका नेताहरुलाई साथी कमरेड र सांसदहरुलाई ‘माननीय सदस्य’ भन्छन्। 

दुई कार्यकाल संविधान सभा अध्यक्ष हुँदा उनलाई ‘माननीय सदस्य’ भन्ने बानी लाग्यो। त्यो अहिले पनि छुट्न सकेको छैन।

तीन पुस्ता वकालती पेसामा, न्यायाधीशहरुका गुरु
नेम्वाङको परिवारबाट कानुनी काम गर्ने उनी पहिलो होइनन्। उनका बुबा रामबहादुर नेम्वाङ लिम्बु समुदायबाट नेपालको पहिलो न्यायाधीश।

त्यही भएर उनलाई वकालती पेसामा लाग्न प्रेरणा प्राप्त भयो। अहिले उनको कान्छो छोरो पनि वकालती व्यवसायमा लागेका छ।

‘मेरो तीन पुस्ता वकालती व्यवसायमा छौँ,’ उनले भने  ‘बुबा न्यायाधीश, म र मेरो कान्छो छोरोले पनि सुरु गर्‍यो।’

उनी नेपाल ल क्याम्पसका गोल्ड मेडलिस्ट विद्यार्थी हुन्। २०३४ सालको अन्तिमतिरदेखि उनले सोही क्याम्पसमा पढाउन थाले। 

‘गोल्ड मेडलिस्ट भएपछि सिधै पढाउन भर्ना गरे,’ उनले भने।

मुटकोट परीक्षामा भाग लिन आएका धेरै विद्यार्थीहरुलाई अभ्यास गराउँदै उनी कलेजमा पढाउने गर्थे।

कल्याण श्रेष्ठ उनीभन्दा ६ महिनाअघि मात्र ल क्याम्पस भर्ना भएका थिए। त्यही भएर उनी श्रेष्ठलाई समकक्षी भन्छन्।

उनको वकालती व्यवसाय भने वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीको फर्मबाट सुरु भएको हो। 

केही समयपछि उनले आफ्नै पायोनियर ल एसोसियट्स खोलेर काम सुरु गरे। 

उनका विद्यार्थीहरु धेरै नेपालको उच्च पदमा आसीन छन्। 

उनीनिकट एक नेताले बताए अनुसार अहिले मुख्य सचिव शंकरदास बैरागी, कानुनसचिव उदयराज सापकोटादेखि विभिन्न मन्त्रालयका ८ जना सचिव नेम्वाङका विद्यार्थी हुन्।

सर्वोच्चकी न्यायाधीश सपना प्रधान मल्ल उनकै विद्यार्थी हुन्। सर्वोच्च अदालतका न्यायाधीश मनोज शर्मा, कुमार रेग्मी नेम्वाङकै ल फर्ममा थिए। यस्तै उनकै ल फर्ममा काम गरेका अन्जु उप्रेती, राजकुमार वन पनि उच्च अदालतमा न्यायाधीश छन्। नेम्वाङ संविधान सभा अध्यक्ष हुँदाका कानुनी सल्लाहकार मिलन राई पनि विराटनगर उच्च अदालतमा कार्यरत छन्। न्यायाधीश हरि फुयाललाई सर्वोच्च ल्याउन नेम्वाङको निर्णायक भूमिका थियो।

‘एकपटक इलामका प्रहरीमा हाकिमदेखि इन्सपेक्टरसम्म मेरा विद्यार्थी पर्नुभएछ,’ उनले भने, ‘त्यही भएर म ठट्टा गर्दै भन्छु, कानुन व्यवसायमा मेरा कोही विद्यार्थी छन्, कोही भाइ।’

वरिष्ठ अधिवक्ता सुशील पन्त, शम्भु थापाले नेम्वाङलाई दाइजस्तै व्यवहार गर्छन्। 

‘मैले पढाइनँ तर, उहाँहरुले दाइ भन्नुहुन्छ,’ उनले भने। 

सोही कारण जब कुनै कानुनी प्रश्न आउँछ, दलका नेताहरु उनको खोजी गर्छन्, उनीसँगै राय लिन्छन्।

‘म कानुनको पृष्ठभूमिबाट आएको हुँ। कानुन व्यवसायी, वरिष्ठ वकिल मात्र नभएर लामो समय कानुन विषयकै प्राध्यापन गरेँ,’ उनले भने, ‘राष्ट्रिय जीवनका धेरै साथीहरु मेरा विद्यार्थी छन्, संसददेखि सर्वाेच्च अदालतसम्म उहाँहरु क्रियाशील हुनुहुन्छ।’

जवानीमा माथिल्लो, बुढ्यौलीमा तल्लो सदन
राष्ट्रिय सभा सदस्य चुनिएपछि ०४८ मा उनले पढाउन छोडे। उनी राष्ट्रिय सभा पुग्नुको पनि रोचक कथा छ।

उनको जन्मस्थान इलाम। पाँचथरमा पुर्ख्याैली घर। त्यही भएर सुरुमा पार्टीले उनलाई चुनाव लड्न पाँचथर र इलाम दियो।

उनले पाँचथर चुनाव लड्न जान्नँ भने। इलाम पनि नलड्ने भनेर अडान लिए। पछि पाँचथरमा उनकै भाइ (काकाका छोरा) वसन्त नेम्वाङ उठाइए। नेम्वाङहरुकै बर्चस्व भएकोले बसन्तले अवसर पाए र उनले जिते पनि।

त्यसबेलासम्म उनलाई राजनीति ठीक लागेकै थिएन।

‘वकिल भएर सहयोग गर्छु भनेँ तर, पार्टीमा मदन भण्डारी, माधव नेपाल, केपी शर्मा ओलीहरु मलाई राजनीतिमा ल्याउन चाहनुहुन्थ्यो। तर, चुनाव लड्न नमानेपछि मलाई राष्ट्रिय सभा लग्नुभयो,’ उनले सुनाए, ‘मेरो युवावस्था (०४८–०५६) माथिल्लो सदनमा बित्यो र उमेर छिप्पिएपछि तल्लो सदन पुगेँ।’ 

२०५६ सालमा एमाले फुटेकै बेला उनले इलाम २ बाट टिकट पाए। सो क्षेत्रमा एमालेको राम्रो प्रभाव थिएन।

‘मेरा अंग्रेजी पढाउने गुरु कुलबहादुर गुरुङ पनि सोही क्षेत्रबाट उठ्नुभयो,’ उनले भने।

नेपाली कांग्रेसका महामन्त्री, बहालवाला शक्तिशाली शिक्षामन्त्री गुरुङसँग लड्न नेम्वाङलाई सहज थिएन।

‘सुवास भए जितिन्छ भन्ने पार्टीको बुझाइ रहेछ, म त आफ्नै गुरुसँग चुनाव लड्न गएको थिएँ, सौभाग्य भन्नुपर्छ मैले त्यहीबेला जितेँ र अहिलेसम्म पनि इलाम २ बाट जितिरहेको छु,’ उनले सुनाए। 

संविधान सभा र संसदबीच फरक
संविधान सभा सदस्यले संविधान बनाउने कामसँगै व्यवस्थापिका संसदको पनि काम गरेको थियो। त्यसैले एकैपटक २ वटा जनप्रतिनिधिमूलक संस्थाको काम त्यसबेलाको संविधान सभाले गरेको थियो।

‘संविधान बनाउन शून्यदेखि विधेयक बनाउने, संविधानको अवधारणा तयार गर्ने, जनतासँग प्रश्न लिएर जाने, संविधानको मस्यौदा तयार गरी जारी गर्ने काम संविधान सभाले गर्‍यो,’ नेम्वाङले भने, ‘संविधान सभामा सरकारभन्दा शक्तिशाली सदस्य थिए। उसैले निर्देशन दिन्थ्यो, सरकारले काम गथ्र्याे। संविधान सभामा आग्रह गथ्र्याे।’

तर, अहिलेको संसद् सरकारको बिजनेसमा चल्छ। सरकारले बिजनेस नदिए संसदले काम पाउँदैन। 

सरकारले विधेयकबारे आफ्नै संयन्त्रबाट छलफल गर्छ। यतिसम्म कि विधेयकका अवधारणा पनि सरकारले नै तय गर्छ। संसदमा एकजना मन्त्री नभई एक मिनेट पनि संसद् चल्दैन।

त्यही भएर संविधान सभा कहिले भंग नहुने र त्यो बेलाको लोगो सधैँ लगाउन मिल्ने उनी बताउँछन्।

पछिल्लो पटक छोटो समय सत्तारुढ बनेको एमाले फेरि प्रतिक्षमा पुगेको छ। कुराकानीको बिट मार्दै गर्दा हामीले ‘संसदीय दलको उपनेताको कार्यालयमा सांसदहरुको बाक्लो उपस्थितितर्फ इंगित गर्दै सोध्यौँ, ‘प्रमुख प्रतिपक्षी केको तयारी गर्दैछ?’

नेम्वाङले भने, ‘त्यस्तो केही होइन, म साझा व्यक्ति हुँ, मसँग सिक्न माननीय सदस्य आउनुहुन्छ, म सबैसँग सजिलै उपलब्ध हुन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .