‘मलाई अर्बपति शब्द सुन्नेबित्तिकै दिक्क लाग्छ,’ सारिकाले सौम्य मुद्रालाई अलिकति खुम्च्याएर भनिन्।
लगत्तै आफ्नो नामअगाडि बारम्बार जोडिने यो विशेषणबारे स्पष्टीकरण दिइन्, ‘कुरा पैसाको होइन, भिजनको हो। एउटा सामान्य व्यक्तिले अर्बपति बन्नलाई अनेकौँ संघर्ष गरेको हुन्छ। अनिँदा रातहरुसँगै अथक संघर्षले ठड्याएको बिजनेसलाई गौण बनाएर अर्बपति मात्रै परिचय बनाउनु भएन।’
अर्बपतिको उपमाले नभएर श्रीमान् विनोद र आफूलाई व्यवसायका लागि चिनियोस् भन्ने उनको चाहना छ।
‘विनोदबाबुले जस्तो भिजनसहित संघर्ष गर्ने हो भने जो कोही अर्बपति बन्न सक्छन्। धनाढ्य हुन पैसाभन्दा अगाडि उसको भिजन आउँछ। संघर्ष आउँछ। पैसा त यी सबैपछि आउने हो,’ उनले प्रष्ट्याइन्, ‘चौधरी ग्रुपलाई अन्तर्राष्ट्रिय ब्रान्ड बनाउने विनोदबाबुको भिजन थियो, त्यही भिजनले आज हामी यहाँ छौँ।’
सारिका एक मात्र त्यस्ती पात्र हुन्, जसले काठमाडौंको न्यूरोडको अरुण इम्पोरियमबाट अर्बपतिसम्मको विनोद चौधरीको यात्रालाई नजिकबाट नियालेकी छन्।
‘अर्बपति बन्दै गर्दाका उतारचढावलाई नजिकबाट नियालेर होला बाहिरी दुनियाँले देखेको अर्बपति म आफैँले आफैँलाई भने देख्दिनँ,’ सारिका भन्छिन्।
काठमाडौंको आफ्नो निवासमा हामीसँग गफिँदै गर्दा सारिका ४५ वर्षअघिकी लिलीलाई चिनाउँदै थिइन्।
‘एयर होस्टेस बन्न विदेश जाने सपना बोकेकी थिएँ। विनोदबाबुसँग बिहे गरेर मोडिएँ,’ उनले सुनाइन्।
४५ वर्षअघि सारिका लिली शर्मा थिइन्। विनोद चौधरीसँग विवाह गरेपछि उनी सारिकामा बदलिइन्। कालान्तरमा तिनै विनोद विश्वप्रसिद्ध फोर्ब्स पत्रिकाले जारी गर्ने विश्वका डलर अर्बपतिहरूको सूचीमा पर्ने पहिलो नेपाली बने। आज मानिसहरू सारिकालाई एउटा अर्बपतिकी धर्मपत्नीका रुपमा चिन्ने गर्छन्।
हामीलाई सारिकाको यही जीवन बुझ्नु थियो। सारिका र विनोदको प्रेमजीवनबारे खोतल्नु थियो। उनको आँखाबाट अर्बपति विनोदको जीवन पनि चिहाउनु थियो। र, जान्नुथियो, सारिकामा रुपान्तरित भएकी लिलीका सपना।
वैशाख महिनाको एक बिहान निवासमा पुग्दा सारिका सादा सारी लगाएर बसेकी थिइन्। देख्नेबित्तिकै उनले हामीलाई आत्मीय मुस्कानका साथ स्वागत गरिन्।
कुराकानी अघि बढ्दै जाँदा लिलीबाट सारिका बन्नुअघिको एउटा रोचक क्षण उनले सम्झिइन्, ‘त्यो दिन सिनेमा हेर्न जाँदा विनोदबाबु सँगैको सिटमा नभेटिनुभएको भए!’
लिली काठमाडौंका प्रतिष्ठित व्यक्तित्व बीएल शर्माकी छोरी हुन्। व्यवसायमा जमेका बीएल तत्कालीन राजा त्रिभुवननिकट थिए। राजपरिवारसँग निकट भए पनि उनको जीवन सामान्य थियो।
भोटेबहालमा उही सामान्य माहोलमै लिली हुर्किइन्।
लिलीको सपना थियो– एयर होस्टेस बन्ने। लिलीका बा बीएल र विनोदका बा लुनकरण दास हितैषी थिए। लिलीका दाइसँग पनि विनोदको मित्रता निकै जमेको थियो। विनोद लिलीको घरमा पुगिरहन्थे।
मुस्कानले एकअर्काबीच आत्मीयता साटासाट गर्थे।
विनोदको विवाहको चर्चा चलिरहेको थियो। विनोदका लागि दुलही खोज्न लिली पनि कहिले उनैसँग त कहिले आमासँग नातेदारको घर चहार्थिन्।
लिलीलाई विनोद राम्रो लाग्थे। तर त्यतिबेलासम्म उनको मनमा विनोदप्रति प्रेम भाव थिएन।
एकदिन लिली र विनोदको परिवार एकसाथ हलमा सिनेमा हेर्न गए। संयोगवश लिली र विनोद सँग–सँगैको सिटमा परे। त्यही मौकामा उनीहरूबीच कुराकानी भयो। विनोद लिलीसँग निकै प्रेमिल रुपमा प्रस्तुत भए।
लिलीले आँट गरेर सोधिन्, ‘कोसँग गर्ने त बिहे?’
‘तिमीसँग,’ प्रश्न खस्न नपाउँदै विनोदले उत्तर दिइहाले।
उनी रातोपिरो भइन्। विनोदले उनलाई लामो समयदेखि एकतर्फी प्रेम गरिरहेका रहेछन्। त्यतिबेला डर र खुसी मिश्रित लिलीको अनुहारले मौन स्वीकृतिको जनाउ दिएको थियो।
सिनेमा हलको त्यो संयोगले उनीहरुको जीवनलाई नयाँ मोड दियो।
उसो त विनोद र सारिकाको सिनेमा हलका अनेक किस्सा छन्। किनकि विनोद सिनेमाका सौखिन हुन्। धेरैपछि एकदिन सिटी सेन्टरमा उनीहरू सिनेमा हेर्न गए। उनीहरू बसेको सिटमाथि बत्ती बल्यो। बल्नासाथ मान्छेहरु उठेर अघिपछि हेर्न थाले। सारिकाले सचेत गराइरहेकी थिइन्, ‘पछाडि नहेर्नुस् है। तपाईंलाई सबैले हेरिरहेका छन्, मलाई त चिन्दैनन् भरे विनोदले गर्लफ्रेन्ड लिएर आयोे भन्लान्।’
फिल्म सकिनासाथ उनीहरू हतारिँदै निस्किए। सबैको ध्यान विनोद र सारिकामा पुगेको थियो।
पछाडिबाट कसैले ‘विनोद चौधरी सर!’ भनेर बोलायो। विनोद पछाडि नफर्की अघि बढ्छु भनिरहेथे। नाम लिनासाथ फरक्क फर्किए।
‘त्यसपछि बोल्ने र फोटो खिच्नेहरूको घुइँचो लाग्यो। म चाहिँ हाँस्दै उहाँलाई जिस्काउँदै फर्किएँ,’ सारिका सम्झन्छिन्।
नेपालको डलर अर्बपति परिवारकी सारिकासँग के छैन?
आलिसान घर, दर्जनौँ बहुराष्ट्रिय कम्पनी, समृद्ध परिवार र आरामदायी जीवन। तर सारिका यतिमा सन्तुष्ट छैनन्। उनलाई आफ्नो परिचयको भोक छ।
उनलाई अर्बपतिकी श्रीमती, निर्वाण, राहुल र वरुणकी आमाका रुपमा मात्र चिनिनु छैन। न चिनिनु छ, शर्मा वा चौधरी खानदानको नाममा पनि।
‘उसोभए तपाईं कसरी चिनिन चाहनुहुन्छ?’ हामीले प्रश्न गर्यौँ।
‘मलाई सारिका भनेर चिनिनु छ। न कि शर्मा वा चौधरी,’ उनले निर्धक्क जवाफ दिइन्।
११ वर्षयता नेपालका एकल डलर अर्बपति रहँदै आएका विनोद चौधरी सन् २०२३ मा पनि एक अर्ब ८० करोड अमेरिकी डलर सम्पत्तिसहित फोर्ब्स म्यागेजिनमा सूचीकृत भए। तर, त्यतिबेला सारिका भने समाजमा आफ्नै परिचय स्थापित गर्न तल्लीन थिइन्।
‘मैले गृहस्थी सम्हाल्दादेखि नै सजाएको सपना समाजमा रोप्नु थियो,’ सारिका सुनाउँछिन्।
उनी कहिले विगत कोट्याउँथिन् त कहिले आगामी सपनाका मार्गचित्र। भविष्यका योजना सुनाउँदै गर्दा पत्तै नपाई उनी लिलीको संसारमा पुगिसकेकी हुन्थिन्। कुराकानीकै क्रममा विनोद टुप्लुक्क बैठक कोठामा आइपुगे।
ठिक त्यतिबेला सारिका आफूलाई अर्बपति विशेषण भारी भएको गुनासो गर्दै थिइन् तर, विनोद भने त्यसको श्रेय सारिकालाई नै दिइरहेका थिए।
‘मेरो योजनालाई साथ दिने तिमी त हौ। त्यसकारण अर्बपति म होइन, तिमी नै हौ,’ सारिकालाई विनोदले भने।
केहीबेर विनोद र सारिकाबीच प्रेमिल संवाद चल्यो। त्यहीबेला भित्तानेर फ्रेममा सजिएको फोटोतर्फ देखाउँदै विनोदले भने, ‘मैले ल्याउँदा उनी त्यत्री फुच्ची थिइन्। तिनै फुच्ची मेरो व्यक्तिगत र व्यावसायिक जीवनको सहयात्री बनिन्। उनीबिना म यत्तिको सफल कहाँ हुन्थेँ र!’
व्यस्त विनोद निस्किहाले। बाहिरिँदै गरेका विनोदतर्फ हेर्दै सारिका भने पुराना क्षण सम्झन थालिन्।
‘उमेरमा त नबगेका खोला पनि सलल बगेको देखिने रहेछ, नझरेका झरना पनि फणा फिँजाउँदै झरेको देखिने रहेछ,’ प्रेम अंकुराउँदाको क्षण सारिका काव्यिक भाकामा वर्णन गर्न थालिन्, ‘विनोदबाबुसँगको पहिलो डेटमा नगरकोट जाँदा मलाई त्यस्तै भएको थियो। ओहो संसारकै सुन्दर ठाउँ रहेछ भन्ने लाग्थ्यो।’
त्यसपछि थुप्रै पटक उनी नगरकोट पुगिन्, तर त्यहाँ न त्यसरी बगेको झरना देखिन्, न कलकलाउँदो खोला।
‘उहाँ साथ भएर पो त्यति राम्रो देखिएको रहेछ। पछि साथीहरूलाई हामी डेटिङ गएको ठाउँ भन्दै देखाउन लैजाँदा त मैले वर्णन गरेजस्तो केही थिएन। म लाजले भुतुक्कै भएँ,’ उनी हाँस्दै सुनाउँछिन्।
साथीको सम्बन्धमा पारिवारिक सम्बन्ध जोडिँदै गर्दा सारिकालाई लागेको थिएन, विनोदको व्यवसाय र सफलताको हिस्सा आफू बन्छु भनेर। बरु त्यतिबेला सम्बन्धलाई विवाहमा परिणत गर्नै कठिन थियो।
चौधरी परिवार शर्मा परिवारभन्दा ‘कन्जरभेटिभ’ थियो। समाजको डरले गर्दा उनीहरुले भारत पुगेर सुटुक्क बिहे गरे। अनि ०३५ सालमा ठमेलस्थित घरमा विनोदले सारिकालाई भित्र्याए।
‘विनोदबाबुको परिवार निकै कडा,’ सारिकाले भनिन्।
परम्परा मान्न सारिकालाई पनि घुम्टी ओढेर बस्नुपर्ने बाध्यता आइपर्यो। ७० कटेकी सासूआमा गंगादेवी सादगी जीवन मन पराउने। धार्मिक अनुशासनमा कट्टर उनलाई बदल्न सम्भवै थिएन।
‘आमालाई परिवर्तन गर्न सकिन्न भन्ने थाहा थियो। बरु आफैँ परिवर्तन हुन्छु भन्ने सोचेर उहाँहरूको परम्परा मान्न थालेँ,’ सारिका सुनाउँछिन्।
घुम्टी ओढे पनि पारिवारिक एवं व्यावसायिक बैठकहरुमा सहभागी हुन छाडिनन् सारिका। विनोदको वैदेशिक भ्रमण होस् वा कुनै महत्वपूर्ण व्यावसायिक निर्णय, उनी सक्रिय रहिन्।
विनोदको संघर्ष, सारिकाको ऊर्जा
१८ वर्षको उमेरमा विनोद व्यवसायमा प्रवेश गरिसकेका थिए।
अरुण इम्पोरियम, पशुपति बिस्कुट उद्योग, महालक्ष्मी मैदा उद्योग सञ्चालन गर्दै बहुराष्ट्रिय कम्पनी पानासोनिकसँग विनोदले सहकार्य अगाडि बढाए।
‘विनोदबाबुमा सीजीलाई विश्वमा चिनाउने हुटहुटी थियो। खाँदाबस्दा होस् वा निद्रामा, सधैँ सीजी सीजी मात्रै भनिरहने गर्नुहुन्थ्यो,’ सारिका सुनाउँछिन्।
व्यावसायिक जीवनमा विनोद ‘संघर्षशील र अनुशासित’ थिए। उनी विनोदलाई हौसला दिन्थिन्, उर्जा भर्थिन्।
व्यवसायमा होमिएको केही वर्षमा नै विनोद अर्बपति हुने बाटो खुलिसकेको थियो। २०४० सालमा उनले वाइवाइ चाउचाउको उत्पादन सुरु गरेका थिए। त्यहीताका उनले चौधरी ग्रुपको परिकल्पना गरिसकेका थिए।
सफल हुनुमा विनोदको अनुशासन नै महत्वपूर्ण रहेको सारिका मान्छिन्।
‘उहाँ व्यावसायिक जीवनमा मात्रै हैन, व्यक्तिगत जीवनमा पनि एकदमै अनुशासित। मलाई उहाँको अनुशासनले कहिले गदगद बनाउँथ्यो त कहिले दिक्क,’ सारिका भन्छिन्।
सुरुमा विनोदको अनुशासनले डर लाग्थ्यो सारिकालाई। पछि त्यसैको उपलब्धि देखेर उनी खुसी भइन्। विनोद सारिकालाई खुसीसाथ भन्ने गर्छन्, ‘मसँग अनुशासन र तिम्रो हौसला छ र त यहाँ छु।’
विनोदले त्यसो भन्दा सारिका पुलकित हुन्छिन्।
अर्बपतिको सूचीमा नाम आउँदा
०६९ साल, फागुनको एक साँझ।
सारिका डिनरका लागि घरबाहिर थिइन्। त्यहाँ कसैले उनलाई सुनाइदियो, ‘फोर्ब्स पत्रिकाले विनोदलाई विश्वको अर्बपतिको सूचीमा राखेछ।’
सुन्नासाथ ‘ल अब के हुने हो’ भन्दै सारिका डिनर नगरी आत्तिएर घर आइपुगिन्।
‘असुरक्षाको भयले होला, खुसी हुनुपर्ने ठाउँमा डराइरहेकी थिएँ,’ उनी भन्छिन्।
फेब्रुअरी २०१३ मा फोर्ब्सले नेपालबाट पहिलो अर्बपति भनेर विनोदको नाम सार्वजनिक गरेको थियो। एक अर्ब अमेरिकी डलर सम्पत्ति पुगेपछि विनोदको नाम विश्वका धनाढ्यहरूको सूचीमा चढेको थियो।
हुन त नाम छापिनुअघि फोर्ब्सका प्रतिनिधि आएर सम्पत्ति अध्ययन गर्छन्। तिनले एक महिना अघिदेखि नै चौधरी ग्रुपको कारोबारलाई अनुगमन गरिहेका थिए।
फोर्ब्सको सूची प्रकाशन हुनुअघि सारिका र विनोद भारतको मध्यप्रदेश यात्रामा निस्किएका थिए। गत वर्ष फिलिपिन्सका राष्ट्रपति चुनिएका फर्डिनान्ड ‘बंगबंग’ मार्कोस उनीहरूसँगै थिए।
‘हामी साथी थियौँ। उनीहरूको परिवारसँग मध्यप्रदेशमा जंगल सफारी गरिरहेका थियौँँ,’ सारिका सम्झन्छिन्, ‘फोर्ब्सका कर्मचारी नाज्दिनको फोन आयो। फोनमा नाज्दिनले फोर्ब्समा नाम निकाल्दैछौँ भने। विनोदबाबुले सिधै मेरो नाम ननिकाल भन्न थाल्नुभयो।’
‘नाम निस्कँदा झन् धेरै दुःख पाइने भन्दै विनोदबाबुले नाम निकाल्न मान्नुभएको थिएन,’ सारिकाले सम्झिन्।
‘तपाईंको दुःखको पुरस्कार हो यो। किन नलिने?’ बंगबंग र सारिकाले हौस्याउन थाले। तर विनोदले नलिने अडान राखिरहे।
‘टुथपेस्टबाट पेस्ट बाहिर निस्किसक्यो। अब भित्र कसरी राख्ने,’ नाज्दिनले उताबाट ठट्यौली शैलीमा नाम नहट्ने बताए।
अन्ततः ०६९ साल फागुनमा विनोदको नाम फोर्ब्समा सूचीकृत भयो।
अर्बपतिको नामले कस्तो माहोल बनाउला भन्ने थियो सारिकालाई।
‘नेपाली मिडियाले निकै सकारात्मक रुपमा समाचार बनाएपछि मेरो डर केही मत्थर भयो। त्यतिबेला समाचारका हेडलाइनमा गौरवको कुरा भनेर लेखिएको थियो,’ उनी सम्झिन्छिन्
किशोरवयदेखि व्यवसाय सम्हालेका विनोद विश्वका अर्बपतिको सूचीमा चढेका थिए। यहाँसम्म आइपुग्दाकी साक्षी थिइन् उनै सारिका। व्यावसायिक भागदौडबीच यी दुईले झण्डै ४५ वर्ष उतारचढावपूर्ण यात्रा गरे।
सारिकालाई लाग्छ, ‘अब दुवै स्वतन्त्र हुँदैछौँ।’
सन्तानले व्यवसाय सम्हाल्दै गर्दा विनोद राजनीतिमा लागेका छन्, सारिका चौधरी फाउन्डेसनमार्फत समाजसेवामा।
‘उहाँ व्यवसायीबाट राजनीतिज्ञ हुनुभयो। म आफ्नो परिचय बनाउन निस्कँदै छु,’ फाउन्डेसनमा आफ्नो सक्रियताबारे उनले भनिन्।
नवलपरासीमा सिकेको त्यो पाठ
‘अर्बपतिकी श्रीमती चाँदीको प्लेटमा भात खान्छिन् होला है?’ पछाडिबाट कसैले उनलाई इंगित गर्दै भनेको सारिकाले सुनिन्।
‘उनी श्रीमती होइन होला,’ उसैगरी अर्को आवाज आयो।
विनोदलाई चिन्ने भीडले सारिकालाई संशयको नजरले हेरिरहेको थियो।
‘जानेबित्तिकै सबैले स्वागत गर्लान् भन्ने सोचेकी थिएँ। तर त्यहाँ त म सारिका हो भनेर मान्न तयार थिएनन् उनीहरू,’ सारिका सुनाउँछिन्।
६ महिनाअघि नवलपरासीको बर्दघाटमा भएको घटना थियो यो। सारिका श्रीमा्नलाई चुनाव जिताउन पुगेकी थिइन्, त्यहाँ। पहिलोपटक उनले चुनावी गतिविधि आफ्नै आँखाले देखिरहेकी थिइन्। अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनदेखि मदर टेरेसासम्मलाई भेटेकी उनी ग्रामीण जीवनसँग अन्तरंग बनेर पहिलो पटक साक्षात्कार हुँदै थिइन्। गाउँमा पुगेपछि उनी छक्क परिन्। टाढाटाढासम्म न विद्यालय छन्, न अस्पताल। फुसका छाना, लथालिंग बाटोघाटो।
सारिकाले भनिन्, ‘मै हो सारिका चौधरी।’
उनको जवाफले भीडलाई केहीबेर अलमल बनायो। सायद उनको सामान्य पोसाक र हाउभाउ देखेर उनीहरू झुक्किएका थिए। अधिकांश महिला घुम्टीमा थिए। सारिका उनीहरुसँग नजिकिन चाहिन्।
‘म नै हो तपाईंले पर्खिनुभएको सारिका, विनोदबाबुकी पत्नी,’ उनी फेरि बोलिन्, ‘म पनि २० वर्ष घुम्टी हालेरै आएकी हुँ, तपाईंहरूजस्तै।’
‘सारिका को हो भन्ने उहाँहरूको प्रश्नले मलाई छट्पटी गरायो। आफैँलाई आफ्नो बन्ने सोच पलायो,’ उनी भन्छिन्।
२०७२ सालको भुकम्पबाट प्रभावितहरूका लागि राहत कार्यमा जुट्यो चौधरी फाउन्डेसन। यही फाउन्डेसनको नेतृत्व गर्दै त्यसयता निरन्तर समाजसेवामा लागिरहेकी छन्, सारिका। स्थानीय महिला उत्थान तथा बालबालिका विकासको क्षेत्रमा सारिका सोही फाउन्डेसनमार्फत् सक्रिय छिन्।
पछिल्लो एक दशकमा चौधरी फाउन्डेसनले नवलपरासीको बर्दघाटमै बर्थिङ सेन्टर सञ्चालनमा ल्याइसकेको छ भने सोही स्थानमा ३ सयभन्दा बढी महिलाहरुलाई सीपमूलक तालिम दिइसकेको छ। फाउन्डेसनले २०७२ सालको भूकम्पमा आवास निर्माणदेखि कोभिड माहामारीमा वीर अस्पतालमा अक्सिजन प्लान्ट, कोभिड वार्ड, कान्ति बाल अस्पताल र शिक्षण अस्पतालमा आईसीयू वार्ड सञ्चालनमा ल्याइसकेको सारिका बताउँछिन्।
‘अब विकट गाउँगाउँमा पुग्नु छ, समाज बुझ्नु छ। उहाँहरूको अनुहारमा सुनौलो मुस्कान ल्याउनु छ। र, उहाँहरूसँगै आफू पनि हाँस्नुछ,’ सारिका मुस्कुराउँदै संवादको बिट मार्छिन्।
(नेपालखबरमा प्रकाशित रिपोर्ट कपी गरेर पुन: प्रकाशन वा साभार गरेको वा अडिओ/भिडिओ बनाएर प्रसारण गरेको पाइएमा तत्काल कानुनी कारबाही अगाडि बढाइने छ– सम्पादक)
Shares
प्रतिक्रिया