ad ad

म्यागेजिन


जयशंकरले प्रस्तुत गरेको मोदी–युगको कूटनीतिक ‘ब्लुप्रिन्ट’

जयशंकरले प्रस्तुत गरेको मोदी–युगको कूटनीतिक ‘ब्लुप्रिन्ट’

विश्व राजनीतिमा अपरिहार्य बन्दै गएको भारतलाई उसकै आधिकारिक नजरबाट बुझ्न विदेशमन्त्री एस. जयशंकरको पुस्तक निश्चय नै उपयोगी छ


विष्णु रिजाल
माघ ११, २०८० बिहिबार ९:२७, काठमाडौँ

४० वर्ष विदेश सेवामा बिताएका, कम बोल्ने र राजनीतिक वृत्तमा खासै चर्चामा नरहेका डा. सुब्रमण्यम जयशंकर भारतजस्तो विशाल मुलुकको विदेशमन्त्री बन्लान् भन्ने अनुमान समेत थिएन। २०१९ मा दोस्रो पटक आरामदायी बहुमतसहित सत्तामा आएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको अन्तर्राष्ट्रिय व्यक्तित्वलाई नयाँ उचाइ दिन छानेका यिनै कूटनीतिज्ञ यतिबेला भारतीय कूटनीतिको नयाँ भाष्यकारका रुपमा अघि सरेका छन्।

स्वतन्त्र भारतको ७५ वर्षे इतिहासलाई आजको परिप्रेक्ष्यमा समीक्षा र विपठन गर्दै अहिलेको विश्वमा भारतले के फरक पार्छ भन्ने ध्येयमा उभिएर विदेशमन्त्री जयशंकरले हालै नयाँ पुस्तक ल्याएका छन्, ‘ह्वाइ भारत म्याटर्स।’ अर्थात् आजका दिनमा विश्वका लागि भारत र भारतका लागि विश्व कति आवश्यक छन् भन्ने कुरालाई केलाएर पुस्तक सार्वजनिक भएको छ। 

आफ्नो अघिल्लो पुस्तक ‘द इन्डियन वे’ कै निरन्तरताका रुपमा नयाँ पुस्तक सार्वजनिक गरेका जयशंकरले विदेशमन्त्री पदमा बहाल रहँदारहँदै लेखेका कारण पनि पुस्तकले अधिक महत्व र ग्राह्यता पाइरहेको छ। बदलिँदो परिस्थितिमा भारतले के सोचिरहेको छ र के गरिरहेको छ भन्ने बुझेर त्यस आधारमा अब के गर्ला भनेर आकलन गर्न यो पुस्तकको विशेष महत्व छ।

एउटै नेता सबै कुरामा निपुण हुँदैन, उसले सबै काम एक्लै गर्न सक्दैन। त्यसैका लागि उसँग भिन्नाभिन्नै हातहरु हुन्छन् र तिनका माध्यमबाट आफ्नो दृष्टिकोण कार्यान्वयन गर्दछ। विदेश नीतिमा प्रधानमन्त्री मोदीले अघि सारेका प्रस्थापनाहरुलाई सैद्धान्तिक चस्माबाट परख गर्ने र तिनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जिम्मा पाएका जयशंकर यी दुवै काममा खरो उत्रिएको प्रमाणका रुपमा पुस्तकलाई लिन सकिन्छ। ११ वटा खण्डमा लेखिएको ‘ह्वाइ भारत म्याटर्स’मा परिवर्तित परिस्थितिमा भारतका आकांक्षा, उपलब्धि, सीमा र सम्भावनाका बारेमा विस्तृतमा व्याख्या गरिएको छ। 

पुस्तकमा जयशंकरले भारतीय जनता पार्टी सत्तामा आइसकेपछि भारतले कसरी फरक र प्रभावकारी रुपमा विदेश सम्बन्ध सञ्चालन गरिरहेको छ भन्ने कुरालाई सैद्धान्तीकरण गरेका छन्। प्रधानमन्त्री मोदी किन अरुभन्दा फरक छन् र भारतले यस अवधिमा कसरी आफ्नो व्यक्तित्वलाई माथि उठायो भन्नेबारेमा पुस्तकमा मिहिन रुपमा व्याख्या–विश्लेषण गरिएको छ। 

सन् २०१४ यताको भारतको अन्तर्राष्ट्रिय सम्बन्धलाई ‘मोदी–युगको कूटनीति’ (पृष्ठ ७१) को संज्ञा दिँदै त्यसले भारतको उचाइ निकै माथि पु¥याएका विवरणहरु समावेश गरिएको छ। आत्मनिर्भर भारत, मेक इन इन्डिया अभियान, मुख्य सहयात्रीहरुसँगको सहकार्यको पहिचान, विदेशमा जाँदा देशभित्र आवश्यक प्रविधि/परियोजनाहरुमा ध्यान केन्द्रित, डायस्पोरा परिचालन जस्ता विषयलाई उदाहरणका रुपमा अघि सारिएको छ। 

आजको विश्वमा भारतले प्रभाव पार्दछ कि पार्दैन भनेर प्रश्नै गरिहनु पर्दैन। निःसन्देह भारत आजको एउटा प्रमुख विश्व शक्ति राष्ट्र हो। हो, अझै पनि भारतमा गरिबी छ, अभाव छ, पछौटेपन छ, सामाजिक सुरक्षा पर्याप्त छैन। तर, भूराजनीतिक अवस्थिति, खुला समाज र विविधतायुक्त राष्ट्र भएका कारण भारतको साथ खोज्नेहरु बढिरहेका छन्। अझ नरेन्द्र मोदीजस्ता बलिया नेताले नेतृत्व गरिरहेको बेला भारत झन् बढी सुनिने र खोजिने मुलुकका रुपमा देखा परेको छ। यसका लागि पुस्तकमा घरेलु राजनीतिका आधारमा विदेश नीति निर्माण र परिचालन गर्न सक्नुलाई मुख्य कारणका रुपमा अघि सारिएको छ।

हुन पनि जब कुनै सरकार देशभित्र बलियो हुन्छ, जनसमर्थन प्राप्त गर्दछ र प्रभावकारी हुन्छ, तब मात्र अन्तर्राष्ट्रिय क्षेत्रमा त्यसलाई गम्भीरताका साथ लिइन्छ। जब कुनै दिन सरकार ढल्छ, सेनालाई नसोधी केही गर्न सक्दैन, विदेशी दबाबका सामु झुक्छ भन्ने भान पर्दछ भने कुनै पनि अन्तर्राष्ट्रिय मञ्चमा त्यसले आफूलाई दह्रोसँग उभ्याउन सक्दैन र कसैले गम्भीरतापूर्वक पनि लिँदैन। भारत अहिले त्यस अवस्थाबाट मुक्त छ।

भारतले आफ्नो क्षमता बढाउँदै लगेकोमा शंका छैन। २०१४ मा मोदीले नेतृत्व सम्हाल्दा १० औँ स्थानमा रहेको भारत अहिले विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा उक्लिएको छ। चन्द्रयानको सफल परीक्षण गरेको छ भने हालै जी–२० को अध्यक्षता गर्दा यसको सफल सम्मेलन गरेर उसले आफ्नो आत्मविश्वासलाई अझ बढाएको छ। पुस्तकमा यी सबै पृष्ठभूमिहरुलाई केलाउँदै कोभिड महामारीका बेला ७० लाख भारतीयलाई स्वदेश फिर्ता गरिएको, युक्रेन–रुस युद्धका बेला ठूलो मात्रामा आफ्ना नागरिकको उद्धार गरिएको, अफगानिस्तानबाट त्यसरी नै फिर्ता ल्याइएको, इजरायल–प्यालेस्टाइन युद्धका बेला पनि नागरिकलाई प्राथमिकतामा राखिएको विषयलाई महत्वका साथ उठाइएको छ। कोभिडका बेला ‘भ्याक्सिन मैत्री’का नाममा औषधि उपलब्ध गराइएको कुरालाई उनले विभिन्न प्रसंगमा भारतको बढ्दो क्षमताको द्योतकका रुपमा प्रस्तुत गरेका छन्। 

विश्वका विभिन्न भागमा छरिएका भारतीय नागरिक र भारतीय मूलका माानिसहरुको अधिकार संरक्षणका लागि धेरै कामहरु भएको उल्लेख गर्दै जयशंकरले तिनीहरुलाई परिचालन गरी भारतमा पुँजी र जनशक्ति निर्माण गर्ने कुरालाई मोदी सरकारले सधैँ प्राथमिकतामा राखेकोमा जोड दिएका छन्। कुनै पनि देशका लागि राष्ट्रिय सुरक्षा नै विदेश नीतिको मूल आधार हो भन्ने कुरालाई जयशंकरले महत्वका साथ उल्लेख गरेका छन्। 

पुस्तकको प्रस्तावनामै उनी लेख्छन्, ‘एउटा राष्ट्रवादी दृष्टिकोणले राष्ट्रवादी कूटनीति उत्पादन गर्दछ र यसमा अब विश्व अभ्यस्त हुनुपर्छ।’ कुनै पनि देशले आफ्ना जनताको मनोभावना र घरेलु राजनीतिलाई नहेरी विदेश नीति बनाउन नसक्ने चर्चा गर्दै उनी भारतले आफ्नो सभ्यता र संस्कृतिलाई केन्द्रमा राखेर विदेश नीति बनाएको बताउँछन्। मोदी सत्तामा आएपछि त्यसले ठोस रुप ग्रहण गरेकै कारण आज भारतको उचाइ बढेको उनको निष्कर्ष छ। त्यसका लागि भारतीय नागरिकको मनोविज्ञान, संस्कृति र परम्परालाई मुख्य आधार बनाइएको उनको भनाइ छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कूटनीतिक क्षेत्रमा दिएको एउटा महत्वपूर्ण योगदान विदेशमा रहेका समुदाय (डायस्पोरा) परिचालन भएकोमा कुनै शंका छैन। सन् २०१४ मा पहिलो पटक अमेरिका भ्रमणमा जाँदा म्याडिसन स्क्वायरमा आयोजित सभालाई वास्तवमै विश्वको कूटनीतिमा नयाँ घटना नै भन्दा हुन्छ। मोदीले प्रायः ठूला मुलुकहरुमा जाँदा आफ्ना देशका नागरिकलाई भेला गराएर सम्बोधन गर्ने अभ्यासलाई पछ्याए। त्यसबाट एकातिर विदेशमा रहेका भारतीयहरुमा आफ्नो देशप्रतिको भावना प्रस्फुटन भयो भने अर्कातिर मोदी स्वयंको व्यक्तित्वको नयाँ आयाम देखा प¥यो। यसलाई जयशंकरले कूटनीतिमा मोदीले गरेको ठूलो योगदानका रुपमा चर्चा गरेका छन्।

सत्तामा आएपछि मोदीले छिमेक पहिला अर्थात् ‘नेबरहुड फस्र्ट’को नीति अघि सारे पनि वास्तवमा भारतको विदेश सम्बन्धको जटिलता छिमेकमै छ। पाकिस्तानसँगको परम्परागत दुश्मनी थप जटिल बनेको छ भने विश्व शक्ति चीनसँग असहजता बढिरहेको छ। झण्डै आधा शताब्दीपछि सीमामा झडप भएर भारतीय सैनिकले ज्यान गुमाएका छन्। यतिसम्म कि, विश्वको पहिलो र दोस्रो ठूलो जनसंख्याका बीचमा हवाई, स्थल वा जल कुनै पनि यातायात चालू छैन। यस असहज अवस्थालाई जयशंकरले ‘डिलिङ विद चाइना’ शीर्षकमा बडो तौलेर व्याख्या गरेका छन्। 

जवाहरलाल नेहरुका पालादेखि नै चीनलाई बढी प्राथमिकता दिइएको र त्यही कारण भारतीय विदेश नीति रक्षात्मक भएको उनको निष्कर्ष छ। सन् १९६२ को युद्धपछि फिर्ता बोलाइएका राजदूतहरुको आदान–प्रदान सन् १९७६ मा भएको र १९५४ मा जवाहरलाल नेहरुपछि १९८८ मा राजीव गान्धीले दोस्रो प्रधानमन्त्रीका रुपमा चीन भ्रमण गरेकोे कुरालाई उनले स्मरण गरेका छन्। १९७५ पछि २०२० मा गलवानमा झडप हुँदासम्मको अवस्थालाई सामान्य मान्दै जयशंकरले मोदी सत्तामा आएपछि भारतीय सीमामा मजबुती बढाउँदा चीन प्रतिक्रियात्मक भएका कारण तनाव बढेको उल्लेख गरेका छन्। 

दुई देशबीच असल सम्बन्ध हुनुपर्नेमा दुई मत नभए पनि सीमामा शान्ति तथा स्थिरता कायम हुनुलाई यसको पूर्वसर्तका रुपमा उनले अघि सारेका छन्। दुई ठूला शक्तिबीचको सम्बन्ध पारस्परिक हुनुपर्नेमा जोड दिँदै लेखकले २००५ मा दुई देशबीचको सम्बन्धलाई रणनीतिक साझेदारी (स्ट्राटेजिक पार्टनरसिप) मा विकास गरिएको अवस्थालाई बुझ्नुपर्ने तर्क गरेका छन्। 

उनी लेख्छन्, ‘हाम्रो तत्कालैको सरोकार होस् वा टाढाको अवधारणा, तथ्य यही हो कि हाम्रो सम्बन्धको विकास पारस्परिकतामा आधारित हुन्छ। अवश्य पनि ती तीन पारस्परिकता– पारस्परिक सम्मान, पारस्परिक संवेदनशीलता र पारस्परिक स्वार्थ हुन्।’ (पृष्ठ १४६) 

चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) ले पाकिस्तानसँग मिलेर सिपेक आयोजना अघि बढाई भारतको सार्वभौमिकता उल्लंघन गरेको ठहरका साथ उनी त्यसलाई साथ दिन नसकिने उल्लेख गर्दछन्। उनी लेख्छन्, ‘भारत–चीन सम्बन्ध यतिबेला वास्तवमा चौबाटोमा उभिएको छ।’ (पृष्ठ १५७)

भारतीय जनता पार्टी सत्तामा आएपछि भारतको परम्परागत इतिहासलाई पुनर्लेखन गर्न खोजिएको छ। खासगरी, भारतीय स्वतन्त्रता संग्राम र त्यसयताको भारत निर्माणमा नेहरु–गान्धी परिवारको मात्रै स्थान देखाएको र उनीहरुलाई अग्लो देखाउन अरुको योगदानलाई नजरअन्दाज गरिएको विश्लेषण भाजपा पक्षधरले गर्दै आएका छन्। विदेश सम्बन्धका बारेमा पनि जयशंकरले यही कोणबाट चर्चा गरेका छन्, ‘द रोड्स् नट टेकन’ शीर्षकमा। 

स्वतन्त्र भारतका पहिला प्रधानमन्त्री जवाहरलाल नेहरुले लिएका कतिपय नीतिका कारण भारतको हात तल परेको र भारत कमजोर भएको विश्लेषण गर्दै पुस्तकमा सन् १९४९ पछि चीनलाई हतार–हतार मान्यता दिनु, कस्मिरलाई अनावश्यक रुपमा विशेष दर्जाको व्यवस्था गर्नु, तिब्बतलाई बिनाउपलब्धि चीनको अंगका रुपमा स्वीकार गर्नु, चीनको संयुक्त राष्ट्रसंघमा प्रवेशलाई अनावश्यक रुपमा समर्थन गर्नुजस्ता उदाहरणहरु अघि सारिएको छ। नेहरु नक्कली अन्तर्राष्ट्रियतावादमा फसेर रिझाउने नीतिमा गएको तर्क गर्दै अमेरिका र बेलायतलाई टाढा राख्ने कुरा वाम चस्माबाट अघि बढाइएको निष्कर्ष छ। नेहरुका धारणाहरुलाई मान्यताका रुपमा स्थापित गरिएको र त्यसविपरीतका विचारहरुलाई विचलनका रुपमा अर्थ्याइएका कारण इतिहासको सही मूल्यांकन हुन नसकेको उनको तर्क छ। (पृष्ठ १८०)

जवाहरलाल नेहरुभन्दा भिन्न विचार राख्ने चार जना व्यक्ति– सरदार बल्लवभाइ पटेल, डा. भीमराव अम्बेडकर, डा. श्यामाप्रसाद मुखर्जी र मनु मसानीका विचारहरुलाई सुनिएको भए भारतले सुरुदेखि नै बलियो स्थान बनाउन सक्ने लेखकको विचार छ। पटेल कांग्रेस पार्टीकै प्रभावशाली नेता भएर पनि नेहरुका कैयौँ विचारसँग असहमत रहेको र छलफलका क्रममा ती विचार मन्त्रिपरिषदभित्रै सीमित राखेको तर अम्बेडकर र मुखर्जीले चाहिँ मतभिन्नताकै कारण नेहरुको मन्त्रिपरिषद् छाडेर बाहिरिनुपरेको सन्दर्भलाई उल्लेख गर्दै जयशंकरले यसलाई भारतले नलिएको बाटोका रुपमा समेटेका छन्।

पुस्तकमा नरेन्द्र मोदीले नेतृत्व गरेको भारतलाई रुपान्तरकारी दशक (ट्रान्फर्मेसनल डिकेड) का रुपमा चित्रित गरिएको मात्र छैन, एक दिन भारत विश्वको नेतृत्वदायी शक्ति हुनेछ भनेर मोदीले गरेको घोषणा साकार हुँदै गएको तथ्य अघि सारिएको छ। सन् २०१४ मा प्रधानमन्त्रीको शपथग्रहण गर्दा छिमेकी राष्ट्रका कार्यकारी प्रमुखलाई आमन्त्रण गरेर सुरुमै विदेश सम्बन्धमा तरंग ल्याइनुलाई नयाँ प्रयोग ठानिएको छ। सार्वजनिक कूटनीति (पब्लिक डिप्लोम्यासी) का क्षेत्रमा मोदीले अपूर्व योगदान गरेको दाबीसहित जयशंकरले मोदीकै कारण आज भारत क्वाड, जी–२०, ग्लोबल साउथजस्ता क्षेत्रको नेताका रुपमा स्थापित भएकोमा गर्व गरेका छन्। (पृष्ठ ६४)

छरछिमेकसँगको सम्बन्धलाई प्राथमिकता दिन ‘नेबरहुड फस्र्ट’ नीति ल्याए पनि पश्चिसँगको सम्बन्धलाई अघि बढाउन हिच्किचाउन नहुने धारणा जयशंकरको छ। पछिल्ला दिनमा असंलग्तालाई पन्छाएर भारत यही बाटोमा अघि बढिरहेको छ। कुनै बेला भारतको अस्तित्व जोगाउनका लागि निर्णायक मानिएको रुससँगको सम्बन्धलाई सन्तुलनमा राख्ने प्रयास गर्दै भारतले चीनको चुनौती झेल्न अमेरिका, अस्ट्रेलिया, बेलायत जस्ता मुलुकहरुसँगको सम्बन्ध अघि बढाइरहेको छ। पुँजी र प्रविधिका लागि पनि पश्चिमा राष्ट्रहरु उपयोगी हुने र पश्चिमलाई टाढा राख्ने नेहरुकालीन धारणा पुरानो भइसकेको विश्लेषण जयशंकरले गरेका छन्। 

भारतको पछिल्लो नीति हेर्दा यसमा सन्तुलन ल्याउन खोजे पनि पश्चिमसँगको निकटता बढिरहेको छ। एकातिर इजरायलसँगको बढ्दो हिमचिम अनि अर्कातिर रुससँगको निर्भरता जस्ता कुराका बीचमा भारतलाई सन्तुलन मिलाउन कठिन भए पनि रुस, इरान जस्ता परम्परागत मित्रहरुलाई भारतले छाडिहाल्न सक्ने अवस्था छैन।

पुस्तकमा नेपालको नाम ६ स्थानमा उल्लेख भए पनि खास सन्दर्भ छैन। कोभिड र भूकम्पमा सहयोग गरेको कुरालाई उनले अरु राष्ट्रकै लहरमा राखेर उल्लेख मात्र गरेका छन्। मोदीले लामो समयपछि नेपाल भ्रमण गरेको सानो प्रसंग छ।

भारत यतिबेला राममय छ। ‘ह्वाइ भारत म्याटर्स’ पनि राममय नै छ। प्रत्येक खण्डमा रामायण र कहीँकतै महाभारतका प्रसंगहरुलाई आजको कूटनीतिसँग तुलना गर्दै जयशंकरले भाजपा र भारतीय हिन्दुबहुल समाजमा स्थान बनाउन खोजेको देखिन्छ। २०२४ को चुनावको पूर्वसन्ध्यामा नरेन्द्र मोदी सरकारको विदेश नीतिको संश्लेषणका रुपमा देखा परेकाले यसलाई मोदी सरकारको कूटनीतिक ‘ब्लु–प्रिन्ट’ भन्दा फरक पर्दैन। विश्व राजनीतिमा अपरिहार्य बन्दै गएको भारतलाई उसकै आधिकारिक नजरबाट बुझ्न विदेशमन्त्री एस. जयशंकरको २ सय २६ पृष्ठको पुस्तक निश्चय नै उपयोगी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .