चीन–अमेरिकासँग सम्बन्ध स्थापनाका लागि कोशेढुंगा मानिएको पिङपङ ‘डिप्लोमेसी’ को प्रारम्भस्थल हाम्रै राजधानी काठमाडौँ थियो।
चीनको अहिलेको समृद्धिको कारण मानिने ‘सुधार’ र ‘खुलापन’ का प्रारम्भकर्ता तेङ सिआओपिङले पहिलो औपचारिक अमेरिका भ्रमण (२०३५ माघ) गर्नुभन्दा एक वर्ष पहिल्यै काठमाडौँ पुगेर (विसं २०३४ माघ) संसार चियाउने क्रमको सुरुवात गरेका थिए।
अर्थात्, बेइजिङका लागि कुनै बेला काठमाडौँ विश्व चियाउने आँखीझ्याल थियो। सांस्कृतिक क्रान्तिकालमा थप अलगावमा परेको चीन कूटनीतिक कला सिक्न सीमा जोडिएको घनिष्टतम छिमेकी नेपाल पुग्ने गर्थ्यो।
चीनका लागि काठमाडौँ मात्र होइन, बेइजिङ पनि सयौँ वर्षदेखि नेपाल चियाउने आँखीझ्याल बन्दै आएको छ। बेइजिङको फुच्छमन मार्गस्थित कलाकार अरनिकोबाट निर्मित श्वेत चैत्य पनि नेपाल चिहाउन सकिने एक आँखीझ्याल हो, जहाँ प्राचीनकालमै कला–संस्कृतिका दृष्टिले काठमाडौँ कति समृद्ध थियो भन्ने कुरा विदेशीहरूले जानकारी प्राप्त गर्न सक्छन्।
श्वेत चैत्यमा रहेका विभिन्न गुम्बाको सिलिङ, विश्वप्रसिद्ध ग्रेटवालका विभिन्न खण्डहरूमध्ये एक चुयोङक्वान ग्रेटवालको भित्तामा भेटिने रञ्जना लिपि र बेइजिङको केन्द्रभागमा अवस्थित ‘लामा टेम्पल’ मा रहेको चार सय वर्षअघि कपिलवस्तुबाट ल्याइएको काठमा निर्मित मैत्रेय बुद्धको झण्डै २५ मिटर अग्लो मूर्तिब पनि बेइजिङबाट नेपाल नियाल्न सकिने थप आँखीझ्याल हुन्।
नेपाल नियाल्न सकिने अर्काे आँखीझ्याल केही वर्षयता बेइजिङमा थपिएको छ। बेइजिङको उत्तर–पूर्वी भागको शेन्यी जिल्लास्थित ‘लुहो होङ कला संग्रहालय’ बाट पनि नेपाललाई नियाल्न सकिन्छ।
यो संग्रहालय चिनियाँ फोटोग्राफर लुओ होङले स्थापना गरेका हुन्। यी विश्वप्रसिद्ध फोटोग्राफरले आफूले फरक कोणबाट खिचेका सगरमाथाका तस्बिर र भिडिओलाई संग्रहालयमा स्थान दिएका छन्।
नछुटेको नेपाल
चीनको प्रसिद्धमध्येको एक बेकरी चेन हो, होलील्यान्ड। नेपालसँग गाढा सम्बन्ध भएको चीनको सिचुवानका एक युवा यो ‘बेकरी चेन’ का संस्थापक हुन्।
किशोर छँदा आफ्नी आमाको जन्मदिन मनाउन एउटा गतिलो केकसमेत भेट्टाउन मुस्किल परेपछि उनले यो ‘बेकरी चेन’ स्थापना गरेका थिए, जो अहिले चीनको एक उत्कृष्ट ‘बेकरी चेन’ का रुपमा चिनिन्छ।
‘होलील्यान्ड’ का संस्थापक ती किशोर (अहिले भने ५७ वर्षका प्रौढ भइसके) खासमा यिनै विश्वप्रसिद्ध चिनियाँ फोटोग्राफर लुओ होङ हुन्, जसले बेकरी व्यवसायबाट कमाएको करोडौँ रुपैयाँ विश्वको सर्वाेच्च शिखर सगरमाथा लगायत अन्टार्कटिका र अफ्रिकाका विश्वप्रसिद्ध पर्यटकीय स्थलहरूको तस्बिर र भिडिओ प्रदर्शनीका लागि विशाल संग्रहालय स्थापना गरेका छन्।
संग्रहालयको आकार र फैलावट, यहाँभित्र प्रविधिको प्रयोग, जनशक्ति हेर्दा एउटा व्यक्तिको लगानीमा पनि यति ठूलो संग्रहालय निर्माण र व्यवस्थापन हुन सक्छ र भन्ने लाग्छ।
तर, यो त्यो चीन हो, जहाँ हामीलाई असम्भव लाग्ने कुरा पनि सम्भव हुन्छ।
१९८४ मा १७ वर्षको उमेरमा छन्दुमा फोटोग्राफी अध्ययन थालेका हुओले सन् १९९५ देखि फोटोग्राफीलाई औपचारिक पेसा बनाए। त्यसक्रममा उनले जंगल र वन्यजन्तु पर्यटनका लागि विश्वविख्यात मसाइमारा निकुन्ज (केन्या) लगायत अफ्रिकाका अन्य जंगल, यहाँका वन्यजन्तु र पर्यटकीय स्थलहरूलाई आफ्नो क्यामरामा कैद गरे।
संग्रहालयमा प्रदर्शनीमा राखिएका तस्बिर र फिल्म हेर्दा आनी छोइङले गाएको कवि दुर्गालालको गीत ‘फूलको आँखामा फूलै संसार’ जस्तै लुओको क्यामरा पनि ‘फूल’ जस्तो लाग्छ, जसले यत्रतत्रसर्वत्र सुन्दर वस्तु मात्र देख्छ, त्यसलाई कैद गर्छ र हाम्रो सामुन्ने ल्याइदिन्छ।
त्यसैले त चीनका लागि केन्याका एक पूर्वराजदूतले संग्रहालयमा प्रदर्शित फिल्ममा भनेका छन्, ‘यत्तिका वर्ष केन्यामा रहँदा मलाई मेरो देश यति सुन्दर छ भन्ने लागेको थिएन, मेरो देश यति धेरै सुन्दर रहेछ भन्ने कुरा मैले लुओले खिचेका तस्बिरमार्फत् जानकारी पाएँ।’
जस्तोसुकै जोखिम मोलेर भए पनि गर्ने उनको फोटोग्राफीबाट नैरोवी (केन्या) स्थित संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) को मुख्यालय समेत प्रभावित भयो। र, लुओलाई सन् २००६ मा फोटो प्रदर्शनीको आग्रह गर्यो।
त्यो प्रदर्शनीबाट प्राप्त सकारात्मक प्रतिक्रियाबाट पुलकित ‘यूएनईपी’ ले तत्काल लुओकोे नामसँग सम्बन्धित ‘लु होङ वातावरणीय कोष’ (एलएचएएफ) स्थापना गर्ने समझदारी गर्यो। यो कोषको उदेश्य वातावरण संरक्षणका लागि सचेतना वृद्धि गर्ने थियो।
‘यूएनईपी’ र ‘एलएचएफ’ बीचको समझदारी अनुसार दुवै पक्षले सन् २००८ मा चिनियाँ विद्यार्थीहरूका लागि वातावरणीय अध्ययन कार्यक्रम सञ्चालन गरे। यो कार्यक्रमका लागि सन् २००८ देखि २०१३ सम्म लुओ एक्लैले प्रत्येक वर्ष १० लाख युआन (करिब २० करोड नेपाली रुपैयाँ) खर्च गरे।
फोटोग्राफीमार्फत् वातावरण संरक्षणको महत्वबारे योगदान पुर्याएकोमा यूएनईपी ले उनलाई सन् २००८ मा ‘यूएनईपी क्लाइमेट हिरो’ को उपाधिबाट सम्मानित समेत गर्यो।
त्यसबाहेक सन् २०११ मा लुओले केन्याका तत्कालीन राष्ट्रपति मुवाई किवाकीबाट ‘मोरान अफ दि अर्डर अफ दि बर्निंग स्पियर’ नामक पदक पनि प्राप्त गरे।
फोटोग्राफीबाट नाम र दाम दुवै कमाएका लुओले आफ्नो आम्दानीको महत्वपूर्ण हिस्सा बेइजिङमा फोटोग्राफीसँग सम्बन्धित यो संग्रहालय स्थापनामा खर्चेका छन्। संग्रहालय झण्डै ५० हजार स्क्वायर मिटर क्षेत्रफलमा फैलिएको छ, जहाँ उनले खिचेका लाखौँ तस्बिरमध्येबाट छानिएका सय वटा तस्बिर साढे पाँच हजार क्वायर फिट क्षेत्रफलमा फैलिएको विशाल ‘लन’ मा प्रदर्शनीमा छन्।
प्रदर्शनीमा राखिएका अधिकांश तस्बिर र फिल्ममा समेटिएका दृश्य अफ्रिकी जंगल–वन्यजन्तु र अन्टार्कटिकाका छन्। तर, संग्रहालयमा एसियाका दुई मुलुकले पनि स्थान पाएका छन्।
ती दुई मुलुक हुन्– उनको आफ्नै जन्मभूमि चीन र छिमेकी नेपाल।
२५ वर्षभन्दा लामो फोटोग्राफी अनुभवबारेको आधा घण्टा लामो फिल्म खासमा सगरमाथाको रोमाञ्चक फोटोग्राफी अनुभव सुनाएपछि समाप्त हुन्छ।
सगरमाथा सपना
आफ्नो फोटोग्राफी जीवनको केन्द्र अफ्रिकालाई बनाएका लुओको बाल्यकाल सिचुवानको गाउँमा बितेको थियो, जहाँबाट नेपाल–चीन सीमामा रहेका हिमश्रृंखलाहरू उनले बाल्यकालदेखि नै देखेका थिए।
जोखिमपूर्ण अफ्रिकाका जंगल र मानव जीवन नभेटिने अन्टार्कटिकामा फोटोग्राफी गरेर प्रख्याति कमाएका उनले आफ्नो फोटोग्राफी–कलाको उपयोग पछिल्लो समय नेपाल–चीन सीमानाका हिमश्रृंखलाहरूको फोटो खिच्नका लागि गरे।
उनी २२ वर्षअघि नै उनी फोटोग्राफीको सिलसिलामा कैलाश–मानसरोवर क्षेत्र पुगेका थिए। तिब्बत–छिनहाई प्लटोबाट अघि बढ्दै गर्दा उनको सामुन्ने विश्वको सर्वाेच्च शिखर चोमालोङ्मा (सगरमाथाको चिनियाँ नाम) थियो।
त्यो बेला सगरमाथाको मनमोहक दृश्यबाट लोभिएकोे मनले लुओलाई पाँच वर्षअघि (सन् २०१९ मा) सगरमाथातर्फ डोर्यायो। उनी नेपाल आए र आधार शिविरसम्म पुगेर सगरमाथाका अनगिन्ती तस्बिर कैद गरे।
तर, सगरमाथाको तस्बिर खिच्ने उनको धित अझै मरेन। सगरमाथाको फेदीमा बसेर उनले प्रण गरे, ‘एकदिन हेलिकोप्टर बाटै भएपनि विश्वको यो सर्वाेच्च शिखरको तस्बिर र भिडिओ खिचेर यसको अनुपम सुन्दरता विश्वसामु राख्नेछु।’
सन् २०२३ को अप्रिलमा ‘होलील्यान्ड’ कम्पनीको हेलिकोप्टरलाई सगरमाथाको चुचुरोमाथि उडाउन लगाए। हेलिकोप्टरमा बसेर उनले सगरमाथाका सयौँ तस्बिर र भिडिओ क्यामरामा कैद गरे।
तीमध्ये छानिएका विशाल आकारका केही तस्बिरहरूले यो संग्रहालयका स्थान पाएका छन्। फिल्ममा त आकर्षकमध्येको एक दृश्यका रुपमा सगरमाथा छँदैछ।
‘विश्वको सर्वाेच्च शिखर हुनु साँच्चिकै नेपाल र चीनका लागि गौरवको कुरा हो,’ बुल्गेरियन पत्रकार पाब्लेदा डेभीडोबाले भनिन्, ‘लुहोका तस्वीर र भिडिओ हेरेपछि माउन्ट एभरेस्ट साँच्चिकै अग्लो शिखर रहेछ भन्ने अनुभव गर्न पाएँ।’
सगरमाथाको उचाइ र यसको सुन्दरता देखाउन उनी सवार हेलिकोप्टर यसरी बाजले झैँ ‘डाइभ’ हान्दै तल झर्छ कि यो दृश्य हेर्ने जो–कोहीको आङ सिरिंग हुन्छ। त्यसैक्रममा तस्बिरमा सामान्य हिमालजस्तो लाग्ने सगरमाथाको उचाइ चानचुने चिज होइन भन्ने महसुस हुन्छ।
जसरी परेवाको सिकार गर्न आकाशतिरबाट बाज तीव्र गतिमा जमिनमा झर्छ, लुओको हेलिकोप्टर पनि सगरमाथाको शिखरबाट त्यसैगरी तल झर्छ। यो दृश्यले जोकोहीको मन आत्तिन्छ।
‘माउन्ट एभरेस्ट साँच्चिकै सुन्दर छ तर सम्झनुपर्छ कि सर्वाेच्च शिखरमाथि विजय हासिल गर्ने नाममा धेरैको जीवन गुमेको छ,’ उनले भनिन्, ‘प्रकृतिलाई हामीले यसरी हेप्नु हुँदैन।’
लुओले भने उत्कृष्ट फोटोग्राफीका लागि यस्तो जोखिम वर्षाैंदेखि मोल्दै आएका छन्।
फोटो खिच्ने क्रममा उनको हेलिकोप्टर चिसो अन्टार्कटिकाको सिरेटोमा ‘डाइभ’ मार्दै उडेको छ र त्यहाँ भेटिने सुन्दर र सुधो प्राणी ‘पेन्गुइन’ हरूको नाचको तस्बिर खिचेको छ। समुद्रका छालहरूलाई चुम्बन गर्दै समुद्री जीवहरूलाई क्यामरामा कैद गराएको छ।
आर्कटिक क्षेत्रमा देखिएको आगोको लप्का सहितको विशाल भोल्कानो (ज्वालामुखी) नजिकैबाट पनि पाइलटले हेलिप्कोप्टर उडाएका छन्। ज्वालामुखीको आगोको लप्काले हेलिकोप्टरलाई भेट्ला–भेट्ला जस्तो लाग्छ। धन्न, पाइलट साहसी मात्र छैनन्, उत्तिकै कुशल पनि छन्। पाइलटको त्यही कुशलताका कारण हुओ जस्तोसुकै जोखिमका बीच पनि सफल हुन्छन् र सगरमाथाको फोटोग्राफीका लागि आइपुग्छन्।
तर, सगरमाथाको यो अनुभव भने लुओका लागि पनि विशेष हो। सगरमाथाको दृश्यांकनलाई उनी पनि आफ्नो फोटोग्राफी जीवनकै महत्वपूर्ण क्षण मान्छन्।
‘फोटोग्राफीका लागि चुनौतीपूर्ण स्थानहरूको मैले हेलिकोप्टरबाट यात्रा गरेको छु,’ फिल्मको अन्त्यमा लुओ भन्छन्, ‘तर, चोमोलोङमा (सगरमाथा) को यात्रा नै सबैभन्दा सुन्दर र चुनौतीपूर्ण यात्रा थियो।’
दैनिक सयौँ चिनियाँहरू लुओको यो संग्रहालय पुग्छन् र उनको लेन्सले कैद गरेको सगरमाथाबाट सुन्दर नेपाल चियाउँछन्।
Shares
प्रतिक्रिया