छापा खबर


नेपाल भित्रिएको भाइरस कडा स्वरुपको, निरोगी युवाकोसमेत मृत्युदर बढ्यो

नेपाल भित्रिएको भाइरस कडा स्वरुपको, निरोगी युवाकोसमेत मृत्युदर बढ्यो

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार १:३५,

नेपालमा बितेको वर्ष कोरोना भाइरस संक्रमणले वृद्ध र दीर्घरोगीलाई बढी सकस पारेको थियो। बढी मृत्यु पनि यही समूहका मानिसको भएको थियो।

तर अहिलेको लहरमा भने निरोगी युवालाई समेत धेरै असर पारेको छ। युवाको समेत मृत्युदर बढिरहेको उपचारमा संलग्न चिकित्सकले औंल्याएका खबर आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेकी छन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनयता मृत्यु भएका दुई युवा ३३ र ३८ वर्षका छन्। त्यस्तै ४९ वर्षका एक व्यक्तिको पनि मृत्यु भयो । उनीहरू तीनै जना निमोनिया भइसकेपछि मात्र अस्पताल पुगेका थिए। उनीहरूको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरूमा कुनै पनि दीर्घकालीन रोग नभएको उपचारमा संलग्न डा.अनुप बास्तोलाले बताए।

ह्याम्स अस्पतालमा केही दिनयता मृत्यु भएका दुईजनामध्ये एक कुनै रोग नभएका युवा छन्। उनीहरूको कोरोना निमोनियाले मृत्यु भएको अस्पतालका कोभिड उपचार चिकित्सक डा.राजु पंगेनीले जानकारी दिए। अहिले वार्डमा सिकिस्त भएर भर्ना भएका मध्ये ३५ देखि ५० वर्षभित्रका धेरै रहेको डा. पंगेनीले बताए।

त्रिवि शिक्षण अस्पतालका कोभिड उपचार चिकित्सक डा. सविन थपलियाका अनुसार भर्ना भएका १ सय ३० जना कोरोना संक्रमित बिरामीमध्ये ९० प्रतिशतको अवस्था गम्भीर छ। तीमध्ये पनि धेरै आइसियु चाहिने अवस्थामा छन्। सिकिस्त भएर उपचारमा पुग्नेमा निमोनिया भइसकेका युवा पनि छन्।

यो वर्षको भाइरसको स्वरुप कडा भएकाले निरोगी युवालाई समेत सिकिस्त बनाएको डा.बास्तोला बताउँछन्। कोरोनालाई सामान्य रुघाखोकीका रुपमा हेरेर चरम बेवास्ता गर्नाले पनि युवाहरू सिकिस्त बनेको उनको तर्क छ।

‘सुरुमा सामान्य रुघाखोकी, ज्वरो ठानेर घरैमा बस्छन् । धेरै दिनसम्म निको नभएपछि मात्र अस्पताल आइपुग्छन्। त्यति बेला कोरोनाले फोक्सोमा निमोनिया बनिसकेको हुन्छ’, उनले भने । निमोनिया र फोक्सोको संक्रमण बढी भइसकेपछि अस्पताल आइपुग्दा निको हुन नसकी युवाहरूको मृत्यु हुने गरेको उनको भनाइ छ ।

ह्याम्स अस्पतालका डा. पंगेनीका अनुसार दोस्रो लहरको संक्रमणमा बढी बालबालिका र युवा परेका छन्। त्यसमा पनि युवा हेलचक्र्याइँ गरेर सभासम्मेलन, जमघटमा जाने गरेकाले उनीहरू बढी संक्रमित भएको र वृद्धले खोप लगाएकाले कम संक्रमित भएको हुन सक्ने उनको अनुमान छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .