ad ad

छापा खबर


सर्वोच्च अदालतका पूर्वन्यायाधीश भन्छन्- संसद पुनर्स्थापना हुन्छ

 सर्वोच्च अदालतका पूर्वन्यायाधीश भन्छन्- संसद पुनर्स्थापना हुन्छ

नेपालखबर
जेठ ९, २०७८ आइतबार ०:३६,

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने बताएका छन्।

आजको नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा केसीले अल्पमतमा परेको प्रधानमन्त्रीले संसद विघटन गर्न नपाउने नजिर रहेकाले सर्वोच्चले संसद पुनस्र्थापना गर्ने दाबी केसीले गरेका हुन्।

विघटित प्रतिनिधिसभा पुनस्र्थापना भएको ८७औँ दिनमा नै फेरि विघटन भएको छ । जे–जस्तो अवस्थामा विघटन भएको छ, संवैधानिक दृष्टिले यसलाई सही वा गलत भन्ने आधार के छन्?

तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले ०५१ सालतिर गर्नुभएको विघटनमा ११ जना न्यायाधीशको इजलासले बोलेको छ कि अल्पमतमा परेको प्रधानमन्त्रीले विघटन गर्न पाउँदैन । यो विघटन त्यो फैसलाको अवहेलना भयो । अर्को कुरा, पछिल्लोपटक पुसमा भएको विघटनको आदेशले पनि संसदीय प्रक्रिया पूरा नभएम्म विघटन गर्न मिल्दैन भनेको छ । अहिले सर्वोच्चको आदेशको अवहेलना भएको छ, संविधान मिचिएको छ।

संविधानको धारा ७६ को ५ अनुसार बनेको सरकार (जो बनेकै छैन)ले पनि विश्वासको मत साबित गर्न नसकेमा संसद् विघटन गर्न सकिने व्यवस्था छ । तर, उपधारा ५ अन्तर्गतको सरकार बन्न सक्दैन भनेर संसद् विघटन गर्न मिल्छ कि मिल्दैन? अहिले त त्यसै गरिएको छ।

उहाँ उपधारा (३) अनुसारको प्रधानमन्त्री हो । उपधारा ५ को सरकार बन्नै बाँकी छ । तर, ओलीले उपधारा (५) मा जाने अधिकार गुमाइसक्नुभो । किनकि पहिला (१) को, अनि (२) को र पछिल्लोपटक (३) को बनेपछि म विश्वासको मत पाउन सक्दिनँ भन्नुभो । उपधारा ५ अनुसार बनाउने भनेको अब ओलीलाई होइन । उहाँको योग्यता नै पुग्दैन । अरूलाई बनाउनू भनेर उपधारा (५) ले भन्न खोजेको हो । त्यो बनाउने प्रक्रिया अवरुद्ध गरिएको छ।

तर, प्रधानमन्त्रीका लागि दुई उम्मेदवारको दाबी परेकोमा कतिपय सांसदको नाम दोहोरिएकाले उपधारा ५ अनुसारको सरकार बन्न सक्ने अवस्था देखिएन भन्ने राष्ट्रपतिको ठहर छ । यसको निराकरण गर्न उहाँले के गर्न सक्नुहुन्थ्यो? यसमा राष्ट्रपतिको जिम्मेवारी र मर्यादामाथि प्रश्न उठ्नु कति स्वाभाविक हो?

नेपालजस्तो सानो र विपन्न मुलुकको पहिलो महिला राष्ट्रपति बनेपछि विश्वसामु चिनिने अवसर उहाँसँग थियो । तर, आफैँले खुट्टामा बन्चरो हान्नुभयो । उहाँले संवैधानिक समझ र जिम्मेवारी देखाउनुभएन । उपधारा (५) मा दुईवटा उम्मेदवार बन्नै सक्दैन । त्योभन्दा अघिका उपधाराबाट असफल भएको व्यक्तिका लागि यो उपधारा होइन । नयाँ व्यक्तिका लागि हो ।

अनि, यो उपधारा हानथाप हुने उपधारा नै होइन । ओलीजी त बन्नै सक्नुहुन्न । एउटा मात्र दाबीलाई उहाँले अगाडि बढाउने हो । तर, यो समग्र प्रक्रिया पनि उहाँले भद्रगोल गर्नुभयो । यसबाट राष्ट्रपति पनि बदनाम हुनुभो।

तर, फरक दलको नेताको समर्थनमा हस्ताक्षर गर्ने सांसदहरूलाई सम्बन्धित राजनीतिक दलले कारबाही गर्ने देखिएको भन्ने पनि राष्ट्रपतिको विज्ञप्तिमा उल्लेख छ । कारबाहीको विषयमा संसद्ले जानकारी नदिएसम्म राष्ट्रपतिले अनुमान, विश्लेषण र निर्णय गर्न मिल्छ कि मिल्दैन?

बिल्कुल मिल्दैनथ्यो । म स्वतन्त्र, निष्पक्ष छैन भनेर उहाँ आफैँले प्रदर्शन गर्नुभयो । क–कसको सद्दे, कसको किर्ते, कसको बहुमत भनेर उहाँले होइन, संसद्ले छुट्याउने हो । उपधारा ३ को प्रधानमन्त्री ५ मा पुग्दैन । त्यसैले नयाँ दाबी जसको हो, विश्वासको मतको सामना उसैले गर्ने हो, त्यो पनि संसद्मा । तर, उहाँ आफैँले फैसला गरिदिनुभयो ।

दुईतिहाइको सरकार बहुमतको भयो, बहुमतको सरकार अल्पमतको भयो, अल्पमतको सरकारले विश्वासको मत पाउन सक्दैन भनेर प्रतिनिधिसभा विघटन भयो । तर, प्रधानमन्त्रीले अहिलेसम्म कुनै पनि मोडमा राजीनामा दिनुभएको छैन । राजनीतिक, नैतिक र संवैधानिक रूपमा यसलाई कसरी हेर्न सकिन्छ?

नेपालको शब्दकोशबाट राजीनामा र नैतिकता झिकिदिए हुन्छ । छिमेकी भारतकै हेर्ने हो भने पनि विश्वासको मत नपाएकाले फेरि उम्मेदवारी दिँदैन । विश्वासको मत गुमाएको केही क्षणमा फेरि प्रधानमन्त्री हुने, शपथ लिने, नैतिकता सकिएपछि यो सब सम्भव हुने रहेछ।

अहिलेसम्म जे–जस्तो भयो, त्यसको निरुपण कसरी हुन्छ होला? अदालतले त प्रतिनिधिसभा अघिल्लोपटक पुनस्र्थापना गरेको हो, यस विषयमा आइतबार पक्कै पनि मुद्दा पर्ला, अदालती प्रक्रिया लामो भयो भने त समाजमा निराशा बढ्ने हो, यसमा अन्तरिम आदेशको सम्भावना बन्छ कि बन्दैन? अथवा छिटो निरुपण कसरी हुन सक्छ?

मेरो सुझाब, अझ पनि संविधान र देशको माया गर्ने हो भने राष्ट्रपतिले घोषणा फिर्ता लिनुपर्छ, त्यसका लागि प्रधानमन्त्रीले सिफारिस गरे हुन्छ । नभए प्रधानमन्त्रीका लागि ७६ (५) अनुसार दाबी गर्ने अर्को पक्ष दुईवटा रिट लिएर अदालतमा जानुपर्छ । एउटा अदालतको अवहेलनाको, अर्को, प्रधानमन्त्रीविरुद्ध अधिकारपृच्छाको रिट । किनकि प्रधानमन्त्री र राष्ट्रपतिले आफूसँग हुँदै नभएको अधिकार अभ्यास गर्नुभएको छ । सर्वोच्चले यो बाधा अड्काउ फुकाउँछ, न्याय दिन्छ । मलाई पूर्ण विश्वास छ ।

पुनस्र्थापना भयो भने पनि के हुन्छ? फेरि पनि केपी अ‍ोली नै प्रधानमन्त्री हुन्छन् भन्ने मनोविज्ञान पनि समाजमा छ । फेरि पनि ओली नै प्रधानमत्री हुने हुन् भने देशले फेरि अड्डा अदालत, विरोधको झमेला किन गर्ने भन्ने पनि हुन सक्छ नि?

यो नेपाल हो । तर पनि थोरै भए पनि नैतिकताको अपेक्षा गरौँ न । प्रधानमन्त्रीले विश्वासको मत पाउँदिनँ भनेर पहिल्यै भनिसकेपछि फेरि जिद्दी गर्नुुहुन्न । नैतिकता भए त ओली प्रधानमन्त्री बन्न मिल्दैन । सबै उपधारामा उहाँ घुम्न मिल्दैन ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .