ad ad

विचार


राजतन्त्र र जाततन्त्रको सम्बन्ध

राजतन्त्र र जाततन्त्रको सम्बन्ध

रूपबहादुर विश्वकर्मा
चैत २७, २०८० मंगलबार ७:१, काठमाडौँ

राजा– कुनै कर्मका आधारमा होइन, विशुद्ध जन्मका आधारमा स्वतः हुने कुरा हो। न चुनाव जित्नुपर्छ, न जनताको मन। नेपालकै सन्दर्भको कुरा गर्दा त जो राजाको छोरो (छोरी होइन) भएर जन्मियो, ऊ राजा भयो! राजा हुन यसबाहेक अर्काे कुनै बाटो थिएन/छैन। 

कुनै राजाको वंशै नास भएको अवस्थामा उसको भाइले पनि त्यो अवसर पाउन सक्छ, त्यो बेग्लै कुरा भयो। तर त्यो पनि जन्मकै नाताले न हो। अतः जन्मिँदै कोही देशको मालिक (राजा) त कोही दास (रैती) हुने व्यवस्थालाई सायद राजतन्त्र भनिन्छ।

त्यसैगरी जे जे तर्क गरिए पनि ‘ब्राह्मण’ पनि कुनै कर्मका आधारमा होइन, विशुद्ध जन्मका आधारमा स्वतः हुने कुरा हो। ‘ब्राह्मण’कै परिवारमा जन्मनुबाहेक ‘ब्राह्मण’ हुने अर्काे कुनै बाटै छैन। जन्म त मानिसले निवेदन हालेर लिन सक्ने कुरा होइन। 

जतिसुकै जँड्याहा होस्, क पनि नपढेको किन नहोस्, उसको जातीय ‘सर्वाेच्चता’ कुनै माइकालालले खोस्न सक्दैन। अर्कातर्फ जतिसुकै असल आचरणको होस्, पीएचडी नै गरेको किन नहोस्, दलितको सन्तान- त्यो बाहुनभन्दा उच्च हुने त परको कुरा, ऊबराबरको ‘मान्छे’समेत हुन सक्दैन। सायद यसलाई ‘जाततन्त्र’ (जातिप्रथा) भनिन्छ। 

यसरी राजतन्त्र र ‘जाततन्त्र’बीच नङ–मासुको सम्बन्ध देखिन्छ। दुवैको ‘दर्शन’ एउटै छ- मानिस कर्म (ज्ञान/सीप) ले होइन, जन्म (भाग्य) ले उच्च हुन्छ। यो यस्तो ‘अलौकिक’ अवधारणा हो, जसको फन्दामा परेपछि मान्छेको मस्तिष्कले काम गर्दैन। त्यसैले त यो मुलुकमा २४० वर्षसम्म राजतन्त्रको रजाइँ चल्यो, ‘जाततन्त्र’को ज्यादती त जारी नै छ। 

अहिले नेपालमा राजतन्त्र छैन, गणतन्त्र छ। वीरेन्द्र शाहको वंश नाससँगै राजतन्त्र विधिवत् रूपमा बिदा भएको झन्डै १६ वर्ष भइसकेको छ। तर राजतन्त्रको धङधङीबाट अझै मुक्त हुन नसकेका केही मानिस फेरि ‘राजा फर्काउने’ अभियानमा लागेका छन्।

ती भन्दै छन्– ‘राजा आऊ, देश बचाऊ’!

तर तिनले नबुझेका कि बुझ पचाका? जुन संस्थाले आफ्नै परिवार र वंश बचाउन सकेन, विचरा त्यसैलाई देश बचाउन गुहार माग्ने हामी कस्ता!

२०५८ जेठ १९ गतेको त्यो कहालीलाग्दो रात कहिले पो बिर्सिन सकिएला र! जुन रात नारायणहिटी दरबारभित्रै राजा वीरेन्द्रको वंशै नास भएको थियो। उनका सन्तानजतिलाई छानीछानी सिध्याउने तर त्यहीँ रहेका पारस शाहलगायत अन्यलाई चाहिँ छुँदै नछुने त्यो पक्कै कुनै रोगको महामारी थिएन, हत्याकाण्ड नै थियो। यसमा त हामी कसैलाई शंका छैन होला नि? भलै, हत्यारा अहिलेसम्म छिप्न सफल भएको किन नहोस्। 

खासमा जुन दिन वीरेन्द्रको वंश नास भयो, त्यही दिनदेखि राजतन्त्रको पनि अवसान भयो। किनभने राजतन्त्रकै नियमानुसार पनि त्यही दिनदेखि नेपालमा राजा पदको हकदार परिवार नै छैन। राजाको अन्त्यपछि राजा हुने हक उनका छोरालाई हुन्छ।

ज्ञानेन्द्र त अकल्पनीय र अस्वाभिवक परिस्थितिको अवसर पारेर भतिज (दीपेन्द्र) को ठाउँमा राजा बनेका थिए, होइन र? भन्न खोजेको उनी राजा बन्नु राजतन्त्रको स्वाभाविक र प्राकृतिक प्रक्रियाभित्र पर्दैन। 

त्यसैले राजावादीहरूलाई मेरो चुनौती छ– साँच्चै राजा फर्काउने भए वीरेन्द्रलाई फर्काएर देखाऊ अथवा दीपेन्द्रलाई फर्काएर देखाऊ।

सक्छौ?

सक्दैनो भने कम्तीमा हाम्रा प्यारा राजा मार्ने अपराधीलाई पाता फर्काएर देखाऊ। राजतन्त्रकालमै, नारायणहिटी दरबारभित्रै भएको त्यत्रो हत्याकाण्डको छिनोफानो नगरी राजतन्त्र पुनःस्थापनाको औचित्य कसरी पुष्टि गर्न सक्छौ? 

दाजुको वंश नास हुनासाथ राजगद्दीमा आँखा गाडेका ज्ञानेन्द्रले पनि आफ्नै दाइका हत्यारा पत्ता लगाउन किन अहिलेसम्म कुनै पहल नगरेका होलान्? कि राजपरिवारमा दया, माया र संवेदना भन्ने चिज हुँदैन?

राजतन्त्रमा लागेको त्यति ठूलो कलंक नपखालीकन कुन नैतिकताले ज्ञानेन्द्र तेस्रोपटक राजा हुन हौसिएको? 

यसअघि पनि उनी २००७ सालमा तत्कालीन राजा त्रिभुवन राणा शासन अन्त्यका लागि भारत निर्वासन भएपछि माइला नातिका रूपमा राजा भएका थिए।

तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरद्वारा ४ वर्षकै उमेरमा राजा बनाइएका उनी सात सालको क्रान्तिले राणा शासन अन्त्य भई हजुरबुवा त्रिभुवन स्वदेश फर्केपछि राजगद्दीबाट हट्नुपरेको थियो। 

फेरि २०५८ मा काकाका रूपमा दोस्रोपटक प्राप्त राजगद्दी पनि उनलाई फापेन। २४० वर्षे लामो राजतन्त्र अन्त्य गर्ने आन्दोलनमा सम्भवतः एउटा शक्ति वीरेन्द्र परिवारको हत्याले उत्पन्न जनआक्रोश पनि थियो। 

जबजब देशमा राजतन्त्रको चर्चा चल्छ, तब हरेक नेपालीको मन–मस्तिष्कमा शान्त, सौम्य र मृदुभाषी राजा वीरेन्द्रको तस्बिर झलझली आउँछ। अनि उनको ‘अज्ञात’ हत्याराप्रति आक्रोश छाउँछ। त्यसैले नेपाली जनताको घाउ घरीघरी नकोट्याएकै जाती।  

राजा र हिन्दुराष्ट्र 
राजतन्त्रवादीहरूलाई राजासँगै फर्काउनुपरेको छ- ‘हिन्दुराष्ट्र’ पनि। उनीहरू यी दुईमध्ये एउटा मात्र रोज्न सक्दैनन् सायद। किन होला? यसमा विशेष कारण छ। 

नेपालको सन्दर्भमा राजा र हिन्दु धर्मबीच अन्योन्याश्रित सम्बन्ध छ।

हिन्दु समुदायमा राजा– भगवान् विष्णुका अवतार हुन् भन्ने भ्रम छरिएको छ। यस्तो अवस्थामा राज्यलाई नै हिन्दु कायम गर्दा राजाको सिट सुरक्षित हुने नै भयो।

त्यसो हो भने त राजा वीरेन्द्र पनि विष्णुकै अवतार थिए होलान्, उनलाई कुन ‘राक्षस’ले मार्‍यो त? खोज्नु पर्दैन?

राजा (राजतन्त्र) र हिन्दु धर्मबीचको सम्बन्ध ‘मनुस्मृति’मा पनि पाइन्छ। यसमा भएका केही श्लोकले राजतन्त्र र ‘जाततन्त्र’बीचको विशेष सम्बन्ध पनि स्पष्ट पार्छ। 

हेरौँ केही श्लोकः  

धर्मोपदेशं दर्पेण विप्राणामस्य कुर्वतस् ।
तप्तमासेचयेत्तैलं वक्रे श्रोत्रे च पार्थिवस् ।। २७२ ।। (अध्याय आठ)

-यदि शूद्रले अहंकारवश कुनै ब्राह्मणलाई धर्मको उपदेश दिन्छ भने राजाले उसको मुख र कानमा उम्लिँदै गरेको तेल हाल्न लगाउनुपर्छ।

अवनिष्ठीवतो दर्पादद्वावोष्ठौ छेदयेनृपस् ।
अवमूत्रयतो मेढ्मवशर्धयतो गुदम ।। २८२ ।। (अध्याय आठ)

-घमण्ड गरेर राजा र ब्राह्मणलाई थुक्ने शूद्रका दुवै ओठ, लिंग र मलद्वार काट्न लगाउनुपर्छ।

केशेषु गृह्णतो हस्तौ छेदयेदविचारयन ।
पादयोर्दाढिकायां च ग्रीवायं वृषणेषु च ।। २८३ ।। (अध्याय आठ)

-शूद्रले रिसाएर ब्राह्मणको केश, गोडा, दाह्री, गर्धन वा अण्डकोश समात्यो भने राजाले केही नसोचीकन त्यसका दुवै हात काट्न लगाउनुपर्छ।

ब्राह्मणान्वाधमानं तु कामादवरवर्णजम ।
हन्याच्चित्रैर्वधोपायैरुद्वेजनकरैर्नृप: ।। २४८ ।। (अध्याय आठ)

-शूद्रले जानीबुझीकन ब्राह्मणलाई दु:ख दिन्छ भने राजाले उसलाई अनेक प्रकारका दु:खदायी उपायले मार्नुपर्छ।

००००

अब भन्नुस्– कोही दलित (पहिलेका शूद्र) भईकन पनि यदि राजा र हिन्दुराष्ट्र फर्काउने अभियान वा पार्टीमा संलग्न छन् भने उसलाई के भन्नुपर्ला? 

त्यो त मनुस्मृतिकालको कुरा पो हो त भनेर पन्छाउन पनि सकिएला। तर वर्तमानकै कुरा गर्दा पनि राजतन्त्रमा दलितले पनि कुनै दिन राजा (राष्ट्र प्रमुख) हुने अवसर पाउला? कल्पनै नगरे हुन्छ।

माथि नै भनिसकियो राजा विशुद्ध जन्मका आधारमा हुन पाइने कुरा हो। दलित त के यदि राजतन्त्र फर्कियो भने ज्ञानेन्द्र शाहको सन्तानभन्दा बाहिर अन्य शाहहरूले पनि कहिले यो देशको राजा हुन पाउँदैनन्। किनकि राजतन्त्रको वंश परम्पराअनुसार जतिसुकै विवादित भए पनि ज्ञानेन्द्रपछि उनका छोरा पारसलाई राजा हुन कसैले रोक्न सक्दैन। 

यहीँनिर राजतन्त्रमा महिलाको स्थानको कुरा पनि गरिहालौँ। राजतन्त्र पितृसत्तात्मक व्यवस्था हो, जहाँ राजाकै सन्तान भए पनि एउटी छोरीले कहिले राष्ट्र प्रमुख (राजा) हुन पाउँदिनन्। किनकि राजपरिवारमै जन्मिए पनि राजा हुन छोरै भएर जन्मिन पर्छ।

नेपालको २४० वर्ष लामो राजतन्त्रको इतिहासमा राजाका कुनै एउटी छोरी पनि राजा भएको पाइन्छ? उत्तर नकारात्मक आउँछ भने यदि कोही महिला भईकन पनि राजतन्त्र फर्काउने अभियान वा पार्टीमा सामेल छन् भने के भन्ने? 

भन्नैपर्ने हुन्छ- आफ्नो खुट्टामा आफैँले बन्चरो हानिरहेका छन्। आफू पनि राष्ट्र प्रमुख (राष्ट्रपति) हुन पाइने व्यवस्था (गणतन्त्र) हामीलाई नपचेको हो त? 

दलितको हकमा पनि कुरा यही हो। कम्तीमा सैद्धान्तिक रूपमा त गणतन्त्रात्मक व्यवस्थाले एउटा दलित, महिला वा जुनसुकै समुदाय वा लिंग होस्, हरेकलाई राष्ट्र प्रमुखसमेत हुन पाउने बाटो खुला गरेको छ। भलै व्यावहारिक रूपमा त्यहाँसम्म पुग्ने वातावरण बन्न बाँकी किन नहोस्। 

अतः निर्धक्क भन्न सकिन्छ– राजतन्त्र दलित र महिलाविरोधी छ। अन्तिममा ज्ञानेन्द्र शाहका सन्तानबाहेक सबै नेपाली नागरिकविरोधी छ– राजतन्त्र। किनभने उनको परिवारका सदस्यले बाहेक न बाहुन, न क्षत्री, न राई, न लिम्बु अरू कसैले राजा हुने हक राख्दैन। फेरि जतिसुकै मन नपरे पनि राजा त फेर्न पाइँदैन, जस्तो छ झेल्नुको विकल्प हुँदैन। त्यस्तो व्यवस्था फर्काएर हामीले देशलाई कहाँ पुर्‍याउन खोजेको राजेन्द्र लिङ्देनज्यू? 

कम्तीमा गणतन्त्रमा त चित्त बुझेन भने निश्चित अवधिभित्र निश्चित प्रक्रियाबाट राष्ट्रपति पनि फेर्न पाइन्छ नि! सुरुमा डा. रामवरण यादव थिए। त्यसपछि विद्या भण्डारी भइन्। अहिले रामचन्द्र पौडेल छन्। अब भोलि राजतन्त्रमा जस्तो पौडेलका छोरा स्वतः राष्ट्रपति हुन पाउँदैनन्। चुनाव जितेर, जनतालाई रिझाएर मात्र त्यहाँ पुग्न पाइन्छ। 

त्यसो त आफूलाई गणतन्त्रवादी भन्ने राजनीतिक दलहरूले पनि वंशवादी व्यवहार नदेखाएका होइनन्। आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ मा नेकपा एमालेले दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार बनायो।

पार्टीभित्र योगदान गरेका अरू योग्य नेता हुँदाहुँदै सुवासचन्द्रकै छोरा भएका कारण सुहाङलाई टिकट दिनु वंशवाद नै हो। यति हुँदाहुँदै पनि गणतन्त्रको सुन्दर पक्ष के हो भने कम्तीमा उनले पनि चुनाव त लड्नुपर्छ, अरू प्रतिस्पर्धीलाई जित्न सक्नुपर्छ।

गणतन्त्र र जातीय छुवाछूत
राजतन्त्र मुलुकबाट बिदा भइसकेको भए पनि ‘जाततन्त्र’ भने जिउँदै छ। जसको सबैभन्दा ठूलो उदाहरण अहिलेको गणतान्त्रिक सरकार आफैँ हो। आफूलाई सबैभन्दा क्रान्तिकारी पार्टी ठान्ने नेकपा माओवादी केन्द्रकै अध्यक्ष प्रचण्डको नेतृत्वमा रहेको १९ सदस्यीय मन्त्रिपरिषद्‍मा एक जना पनि दलित मन्त्री छैनन्। 

अनि आफूलाई गणतन्त्रवादी भन्नेहरू पनि जातीय भेदभाव/छुवाछूत गर्छन्। जसका कारण दलित समुदायका मानिसले गणतन्त्रको अनुभूति नै गर्न पाइरहेका  छैनन्।

यति हुँदाहुँदै पनि दलित समुदायका लागि राजतन्त्रभन्दा गणतन्त्र ठीक छ भन्न हिच्किचाउनु पर्दैन। 

किनभने गणतन्त्रले जन्मिँदै कोही मालिक (राजा) त कोही दास (रैती), कोही उच्च (ब्राह्मण) त कोही नीच (अछूत) हुन्छ भन्ने सामन्ती प्रथालाई कम्तीमा सैद्धान्तिक रूपमा अस्वीकार गरेको छ। निर्वाचन जित्न सके दलित पनि देशको उच्च ओहोदामा पुग्न पाउने लोकतान्त्रिक प्रणालीलाई स्वीकार गरेको छ। 

यस अर्थमा सैद्धान्तिक रूपमै जन्मवादी प्रणालीलाई अंगीकार गर्ने राजतन्त्रवादीहरू भन्दा कम्तीमा सैद्धान्तिक रूपमा जन्म र जातका आधारमा मानिसलाई विभेद गर्ने कुप्रथा नमान्ने गणतन्त्रवादीहरू दलित समुदायका लागि आशाका किरण हुन्।

अन्त्यमा, जन्ममा आधारित ‘जाततन्त्र’ निर्मूल नपारीकन न त्यसकै आडमा बेलाबेला टाउको उठाउन खोज्ने राजतन्त्रको खतराबाट मुलुकलाई मुक्त गराउन सकिन्छ, न त दलित समुदायलाई गणतन्त्रको अनुभूति नै दिलाउन सकिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .