ad ad

विचार


आफ्नै सफलताबाट पीडित पश्चिम

आफ्नै सफलताबाट पीडित पश्चिम

न्युयोर्क। तस्बिर : नेसनल ज्योग्राफिक


जनन गणेश
बैशाख १, २०८१ शनिबार १६:१४,

स्मार्टफोनले केटाकेटीलाई, खासगरी केटीहरुलाई क्षति गर्छ। यसको निर्णायक नभए पनि बलिया प्रमाण छन्। यसको न्यूनीकरणका लागि जोनाथन हाइटको पुस्तक ‘दि एङ्सिअस जेनेरेसन’ मा सुझाइएकामध्ये कम्तीमा केही कानुनी प्रावधान सरकारले लागू गर्नुपर्छ। तर, त्यसअघि एकछिन यहाँको सांसारिक चमत्कारको स्वाद लिऊँ। 

स्मार्टफोनको आतंक छ। किनकि हामी यो उपकरण आविष्कार गर्न सक्नेगरी उन्नत भयौँ। हरेकले एकएक वटा स्मार्टफोन किन्न सक्नेगरी धनी भयौँ। र, सबैभन्दा ठूलो कुरा, जीवन–मरणको मुद्दाबाट यति टाढा भइसक्यौँ कि उदास किशोरकिशोरी समाचारको विषय बन्न थाले। 

हो, स्क्रिन एडिक्सन रोग हो। तर, यो सफलताको रोग हो।

हाम्रो जिन्दगी त्यो हदसम्म राम्रो हुन गयो, जसले आफैँलाई फाइदा गरेन। यो एउटा दृष्टान्त नै बनेको छ। लेखक हाइटले उठाएको अर्को समस्या हो– उदार र अनुदार समूहबीचको लडाइँ (कल्चर वार)। ‘वोक’ आन्दोलन कहाँ सुरु भयो? अमेरिकामा। थोरबहुत पृथ्वीकै धनी मुलुकमा। कहिले? २००८ को वित्तीय संकट र २०२० को महामारीबीचको आर्थिक विस्तारको समयमा। 

फलाना सर्वनाम प्रयोग गर्ने, फलाना नगर्ने, सालिक तोड्फोड गर्नेः यस्तै हुन्छ जब तपाईंको दिमागले गर्ने काम केही हुँदैन। समाधान गर्ने कुनै समस्या हुँदैन, चिन्ताको कुनै कुरा हुँदैन। ‘वोक’ आन्दोलन वञ्चितहरुको हुंकार हुन्थ्यो भने युरो संकटपछि दक्षिणी युरोपमा यो किन सुनिएन? किन अमेरिकाका सबै अल्पसंख्यकले यसलाई साथ दिएनन्? यो विजेताको हठ हो, यो भित्रियाको खेल हो।

कुनै समस्यालाई सफलताको समस्या भन्नु त्यसलाई सानो बनाउन खोज्नु होइन। बरु, त्यसको उल्टो चाहिँ हो। सफलताबाट उत्पन्न समस्या समाधान गर्न झन् कठिन हुन्छ। किनभने तपाईं त्यसको अन्तर्निहित कारण हटाउन चाहनु हुन्न। उदाहरणका लागि ‘कल्चर वार’ को सबैभन्दा प्रभावकारी उपचार भनेको आर्थिक मन्दीलाई प्रेरित गर्नु हो।

सोही हिसाबले न्यून जन्मदरको सबैभन्दा प्रभावकारी समाधान भनेको ‘आधुनिकता उल्ट्याउनु’ हो। अब बाबुआमाले एउटा बच्चा बाँच्ने सुनिश्चित गर्न तीन जना जन्माउनुपर्ने आवश्यकता छैन। चिकित्सा क्षेत्रको विकासले त्यो सुनिश्चित गरिसकेको छ। धेरै छोराछोरी भए बुढेसकालमा भरथेग होला भन्नुपर्ने अवस्था पनि छैन। राज्यले पेन्सन दिइहाल्छ। 

त्यसमाथि, गर्भनिरोधका साधनमा अधिक मान्छेको पहुँच छ। र, ती साधन प्रयोग गर्दा नर्क पुगिन्छ भन्ने विश्वास पनि मानिसहरुमा कम हुँदै गएको छ। यति अनमोल आविष्कारको यति कठोर नतिजा!

तर, कम बच्चा जन्मिनु सफलताबाट उत्पन्न सबैभन्दा ठूलो समस्या होइन। सबैभन्दा ठूलो समस्या त पपुलिजम हो। गएको दशकमा राजनीतिमा अनौठो घुम्ती देखिएको छ। पपुलिस्ट नेताहरु उदाएका छन्। यसको सबैभन्दा सटीक व्याख्या हो– लामो समयसम्म अत्यधिक सफलताका कारण यो समस्या सिर्जना भयो। 

पछिल्लो पटक डेमागगलाई चुन्दा पूरै समाजमा विनाश फैलिएको (१९३०) पश्चिमा मतदाताले बिर्सिए। नतिजा के भयो? मतदाताले आफ्नो मतका माध्यमबाट जोखिम लिन थाले। अर्थशास्त्री हाइमन मिन्स्कीले वित्तीय संकटका विषयमा भनेका थिए, स्थिरताले अस्थिरता जन्माउँछ। यही भनाइ आधुनिक राजनीतिको आदर्श वाक्य पनि बन्न सक्छ।

पश्चिमा बुद्धिजीवीहरुलाई यस कुरामा राजी गराउनु भने चुनौती छ। आफ्नो पूर्वाग्रहका कारण सामाजिक लोकतन्त्रवादीहरु मानिरहन्छन् कि संस्थापन विरोधी मतदाता पक्कै आर्थिक रुपले हारेको हुनुपर्छ। गत दशकको सबैभन्दा निराशाजनक कथा यही हो।

पपुलिस्टहरुको सबैभन्दा महत्वपूर्ण सफलता २०१६ मा डोनाल्ड ट्रम्पले हात पारे। यो घटना अति सम्पन्न मुलुकमा भयो, त्यो पनि आर्थिक अवस्था मजबुत हुन थालेको सातौँ वर्षमा। बेलायतमा सबैभन्दा सम्पन्न काउन्टीहरुमा ब्रेक्जिट पक्षको जित भयो। 

पपुलिजम अभावको नतिजा हुन र नहुन पनि सक्छ। यसलाई सम्पत्तिको अझ राम्रो र अझै धेरै वितरणबाट समाधान गर्न सकिन्न। बरु, यसले मानिसहरुलाई यो हदसम्म मुक्त तुल्याउँछ, उनीहरु मतको घोडामा सवार सैनिक बन्छन्। भौतिक सुखसुविधाले यसलाई झनै खराब बनाउन सक्छ।

असफलताबाट उत्पन्न समस्या– रोग, अशिक्षा, बेरोजगारी, आदिको सामना गर्न पश्चिमा सम्भ्रान्तहरु कुशल छन्। तर, जब सफलताबाट उत्पन्न समस्याको कुरा आउँछ, उनीहरु त्यति सक्षम लाग्दैनन्। 

उदाहरणका लागि, आर्टिफिसियल इन्टेलिजेन्सको कुरा उठ्दा उनीहरु अभावसम्बन्धी चुनौतीमा ध्यान केन्द्रित गर्छन्। जस्तै, सबै रोजगारी गुम्यो भने के गर्ने होला? तर, प्रचुरताबाट सिर्जित समस्यामा ध्यान दिँदैनन्। जस्तै, मानिसहरु यतिधेरै फुर्सदमा के गर्लान्? स्मार्टफोन मात्रैले त यत्रो हाहाकार पैदा गरेको छ भने कल्पना गर्नुस् त कामबिनाको संसारमा के होला? 

समाजमा तपाईंले राम्रै उदेश्यले भए पनि कुनै एउटा कुरा बदल्नुभयो भने बाँकी कुरा जस्ताको तस्तै रहला भन्ने अपेक्षा नगर्नुस्। आजको विश्वमा अधिकांश मानिस सहरमा बस्छन्, धर्मगुरुहरुबाट मुक्त छन् र साह्रै सस्तोमा टाढाटाढासम्म सञ्चार गर्छन्। यो आधुनिकता सभ्यताको इतिहासको सन्दर्भमा हेर्ने हो भने पाँच मिनेटअगाडि मात्रै आएको हो। 

आर्थिक वृद्धि भनेको के हो, सन् १७५० अघिका तीन हजार वर्षमा लगभग कसैलाई थाहा थिएन। यति छोटो समयमा यति ठूलो परिवर्तन आउँदा केही अनपेक्षित परिणाम देखिनु स्वाभाविक हो। यहाँ कुरा फोनले दिएको तनाव वा न्यून जन्मदर होइन। कुरा के हो भने हामीले यसभन्दा खराब समस्या भोग्नुपरेन।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .