ad ad

फोटोफिचर


शीतल निवासमा माघे संक्रान्ति, नेताहरूलाई ‘बफे लन्च’ (तस्बिरहरू)


सरोज बैजु
माघ १, २०८० सोमबार १८:३०, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार माघे संक्रान्तिको अवसरमा शीतल निवासमा एक कार्यक्रम आयोजना गरे।

उक्त कार्यक्रममा सत्ता पक्षका अधिकांश शीर्ष नेताहरू सहभागी भए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि राष्ट्रपतिको निम्तो मान्न पुगे।

तर उनी अर्घाखाँचीको एक कार्यक्रमलाई सम्बोधन गर्न भन्दै राष्ट्रपतिसँग माघे संक्रान्तिको शुभकामना आदानप्रदान गरेर तत्कालै बाहिरिए।

प्रधानमन्त्री बाहिरिए पनि राष्ट्रपति पौडेलले सत्ता पक्षका अधिकांश नेताहरूसँग संविधानको पूर्ण कार्यान्वयन नभएकाले जनतामा निराशा देखिएको बताए।

उनले शीतल निवासमा बोलाएर संघीय संसद्‍मा रहेका दलहरूलाई संविधान कार्यान्वयनका लागि तत्काल कानुन बनाउन आग्रह गरे। तर राष्ट्रपतिले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरू देखिएनन्। 

अध्यक्ष केपी शर्मा ओलीसहितका कुनै नेता शीतल निवासमा देखिएनन्। एमालेका प्रमुख सचेतक पदम गिरीले नेपालखबरसँग कुरा गर्दै शीतल निवासमा भएको कार्यक्रमबारे आफूलाई कुनै जानकारी नभएको बताए। 

माघी पर्वको उपलक्ष्यमा शीतल निवासमा आयोजित शुभकामना आदानप्रदानपछि राष्ट्रपतिले नेताहरूलाई लन्च कार्यक्रम पनि राखे।

राष्ट्रपति निवासमा आयोजित बफे सिस्टमको लन्च लिन कांग्रेस सभापति शेरबहादुर देउवा, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, एकीकृत समाजादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका वरिष्ठ नेता पशुपति शमशेर जबरासहित सहभागी थिए।

राष्ट्रपतिको लन्च पार्टीमा सहभागी हुन रास्वपा सभापति रवि लामिछाने, लोसपा अध्यक्ष महन्थ ठाकुर, स्वतन्त्र सांसद अमरेश सिंह, राष्ट्रियसभाका सदस्य वामदेव गौतम र गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डेसमेत सहभागी थिए।

उनीहरूले शीतल निवासमा उभिएर पालैपालो राष्ट्रपतिले व्यवस्था गरेको बफे लन्च लिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .