राजनीति


‘इन्डियन ओसन कन्फ्रेन्स’मा भाग लिन परराष्ट्रसचिव यूएईतर्फ, नेपालका लागि कति महत्वपूर्ण?

‘इन्डियन ओसन कन्फ्रेन्स’मा भाग लिन परराष्ट्रसचिव यूएईतर्फ, नेपालका लागि कति महत्वपूर्ण?

सन्तोष घिमिरे
मंसिर १७, २०७८ शुक्रबार २१:२८, काठमाडौँ

परराष्ट्रसचिव भरतराज पौड्याल संयुक्त अरब एमिरेट्समा आयोजना हुने ‘इन्डियन ओसन कन्फ्रेन्स’ मा भाग लिन शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन्। 

इन्डिया फाउन्डेसनको आयोजनामा शनिबारदेखि आबुधाबीमा दुई दिने सम्मेलन हुँदैछ। ‘इन्डियन ओसनः इकोलोजी, इकोनोमी, एपिडेमिक’ थिममा आयोजना हुन लागेको सम्मेलनमा सचिव पौड्यालले नेपालका तर्फबाट धारणा प्रस्तुत गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। सम्मेलन शनिबार बिहान उद्घाटन हुँदैछ। 

भारत सरकारनिकट मानिने थिंकट्यांक इन्डिया फाउन्डेसनले हिन्द महासागर तटीय क्षेत्रका मुलुकका उच्च सरकारी अधिकारी र विद्वानहरुलाई निम्त्याएर ‘इन्डियन ओसन कन्फ्रेन्स’ गर्दै आएको छ। विगतका सम्मेलन सामरिक सुरक्षा, साइबर अपराध, आतंकवाद र व्यापार जस्ता मुद्दामा केन्द्रित थिए। 

यसपालिको सम्मेलनमा हिन्द महासागर र यस आसपासका मुलुकबीचको अर्थतन्त्र, पर्यावरण, पारवहन, प्राकृतिक स्रोतको उपयोग र महामारीमा सहकार्य जस्ता विषयमा छलफल हुँदैछ। 

सम्मेलनको पाँचौ संस्करण आयोजना हुन लागेको हो। यसअघि सन् २०१९ सेप्टेम्बर ४ मा चौथो संस्करण माल्दिभ्सको मालेमा आयोजना भएको थियो। तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली उक्त सम्मेलनमा नेपालका तर्फबाट सहभागी भएका थिए। तर यसपालि परराष्ट्रमन्त्रीको तहमा नभई सचिवको तहमा नेपाल सहभागी हुन लागेको हो। 

जानकार अधिकारीका अनुसार परराष्ट्रमन्त्री नारायण खड्का पार्टी महाधिवेशनमा व्यस्त रहेका कारण सचिव पौड्याल सम्मेलनमा गएका हुन्। 

नेपालका लागि सम्मेलन किन महत्वपूर्ण? 
इन्डियन ओसन कन्फ्रेन्समा नेपालको सहभागिता महत्वपूर्ण रहेको अधिकारीहरु बताउँछन्। नेपालका लागि हिन्द महासागर आसपासका मुलुकसँगको सुरक्षा, व्यापार र पारवहनका सवालमा क्षेत्रीय सहकार्य महत्वपूर्ण छ। त्यसैले नेपालले हिन्द महासागरसँग सम्बन्धित क्षेत्रीय सहकार्यका मञ्चमा सहभागिता जनाउन थालेको छ। 

नेपालका लागि सामरिक र आर्थिक दुवै हिसाबले हिन्द महासागरसम्मको पहुँच महत्वपूर्ण छ। तेश्रो देशसँगको व्यापारका लागि नेपालले हिन्द महासागरको बाटो समेत प्रयोग गर्दै आएको छ। 

हिन्द महासागरलाई उपयोग गरेर नेपालले व्यापार विविधीकरण गर्नसक्ने विज्ञहरु बताउँछन्। तर नेपालले उक्त सम्भावनाको सदुपयोग भने गर्न सकेको छैन। नेपालले भारतसँग अन्तरदेशीय जलमार्गका लागि समेत समझदारीपत्रमा तीन वर्षअघि हस्ताक्षर गरेको थियो। तर उक्त जलमार्गका लागि आवश्यक गृहकार्य भने भएको छैन। 

हिन्द महासागरमा विश्व शक्तिराष्ट्र अमेरिका र चीनको सामरिक प्रतिस्पर्धा छ। दुवैले हिन्द महासागर वरपरका मुलुकलाई आफ्नो प्रभावमा लिन भरमग्दुर प्रयास गरिरहेका छन्। तर हिन्द प्रशान्त क्षेत्रको प्रमुख शक्ति भारतले आफ्नो प्रभावमा आँच आउन नदिन विश्व शक्ति राष्ट्रहरुसँग सहकार्य र प्रतिस्पर्धाको दुवै खाले रणनीति अवलम्बन गर्दै आएको छ। भूराजनीतिक प्रतिस्पर्धाबीच यस क्षेत्रमा आफ्नो रणनीतिक स्वायत्तता र प्रभाव कायम राख्न भारतले कोसिस गरिरहेको छ। 

श्रीलंकाका राष्ट्रपति, भारतका विदेशमन्त्री सहभागी हुने 
सम्मेलनमा श्रीलंकाका राष्ट्रपति गोताबाय राजपाक्षे र पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंगे सहभागी हुँदैछन्। राजपाक्ष कन्फ्रेन्स आयोजक समितिका अध्यक्ष हुन् भने विक्रमासिंगे पूर्व अध्यक्ष हुन्। 

उक्त सम्मेलनमा भारतीय विदेशमन्त्री एस जयशंकर, सिंगापुरका विदेशमन्त्री भी बालाकृष्णन र विदेशी कुटनीतिज्ञहरु सहभागी हुँदैछन्। 

त्यसैगरी माल्दिभ्सका उपराष्ट्रपति फैसल नसिम र फिजिका प्रधानमन्त्री फ्र्यान्क बैनीरामामा पनि सहभागी हुने तय भएको आयोजक इन्डिया फाउन्डेसनले जनाएको छ। 

सम्मेलनमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु पनि वक्ता छन्। विभिन्न मुलुकका गरी आधा दर्जन सरकारी अधिकारी र विज्ञले सम्मेलनमा धारणा राख्ने कार्यक्रम रहेको इन्डिया फाउन्डेसनले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .