बंगलादेशले पाकिस्तानबाट स्वतन्त्रता पाएको ५० औँ वर्षगाँठमा हुन लागेको सैन्य परेडमा सैनिक टुकडी पठाउन नेपालले अस्वीकार गरे पनि ढाकास्थित नेपाली दूतावास विजयोत्सव कार्यक्रममा सहभागी हुने भएको छ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विजयोत्सव कार्यक्रममा ढाकास्थित नेपाली दूतावासका अधिकारी सहभागी हुनेछन्। बंगलादेशले ढाकास्थित विदेशी कूटनीतिज्ञलाई सो समारोहमा निम्त्याएको छ।
सन् १९७१ मा आजकै दिन पाकिस्तानी सेनाले ढाकासमक्ष आत्मसमर्पण गरेको थियो। रक्तपातपूर्ण मुक्ति आन्दोलन सफल भएसँगै पूर्वी पाकिस्तान टुक्रिएर बंगलादेशको जन्म भएको थियो। शेख मुजिबर रहमानको नेतृत्वमा नौ महिना चलेको मुक्ति आन्दोलनमा भारतले प्रत्यक्ष सघाएको थियो। सोही दिनको स्मृतिमा हरेक बर्ष बंगलादेशले विजयोत्सव मनाउँदै आएको छ।
बिहीबार बंगलादेशमा विजय दिवस परेड आयोजना हुँदैछ, जसमा भारतीय सेनाको विशेष टुकडी पनि सहभागी हुँदैछ। उक्त परेडमा बंगलादेशले नेपालबाट पनि सैनिक टुकडी सहभागी गराउन चाहेको उल्लेख गर्दै पत्र लेखेको थियो।
कात्तिक दोश्रो साता बंगलादेशले ३५ जनाको सैनिक टुकडी र राष्ट्रिय सेवा दलको टोली पठाइदिन अनुरोध गर्दै पत्र पठाएको थियो। बंगलादेशले पठाएको पत्र परराष्ट्र मन्त्रालय, रक्षा मन्त्रालय हुंदै सैनिक मुख्यालय जंगीअड्डा पुगेको थियो।
रक्षा मन्त्रालय स्रोतका अनुसार जंगी अड्डाले बंगलादेशको विजयोत्सवमा सैनिक परेडमा नेपाली सेनाको सहभागिता विवादित बन्नसक्ने निष्कर्ष सहित सैनिक टुकडी नपठाउने निर्णय लिएको हो।
‘दक्षिण एसियामा भारत लगायत मुलुकले गर्दै आएका क्षेत्रीय सैन्य अभ्यासमा विगतमा पनि नेपाल सहभागी हुने गरेको छैन। किनकि त्यस्ता सैन्य अभ्यासमा सहभागी हुँदा त्यसले हामी उनीहरुको सैन्य छाताभित्र रहेको सन्देश जान्छ। त्यसो गर्नु नेपालको असंलग्न परराष्ट्र नीतिविपरीत हुन्छ,’ रक्षा मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने।
नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत परराष्ट्रलाई पठाएको पत्रमा सैनिक टुकडी पठाउन नसक्नुमा कोरोना महामारी कायमै रहेको कारण देखाइएको छ।
प्रधानसेनापति प्रभुराम शर्माद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, ‘कोरोना महामारीको प्रभाव कायमै रहेको तथा उक्त अवधिमा नेपाली सेनाको पूर्वनिर्धारित योजना मुताविक सामूहिक तालिम अभ्यास सञ्चालन हुने हुँदा उक्त परेडमा सहभागिता जनाउन असमर्थ छौँ। साथै राष्ट्रिय सेवा दलका छात्र छात्राहरुको सहभागिताका सम्बन्धमा निजहरुले हालसम्म कोरोना खोप नलगाइसकेको अवस्था छ।’
बंगलादेशलाई सैनिक टुकडी पठाउन असमर्थ रहेको जानकारी कूटनीतिक च्यानलमार्फत् गराइसकेको छ।
द्विपक्षीय रुपमा नेपालले भारत, बंगलादेश, चीन, अमेरिका लगायत मुलुकसँग सैन्य अभ्यास गर्दै आएको छ। तर विदेशी मुलुकका विजयोत्सव कार्यक्रम वा उनीहरुका अग्रसरतामा आयोजना गरिने क्षेत्रीय सैन्य अभ्यासमा नेपाली सेना सहभागी नहुने परम्परा रहेको नेपाली सेनाले जनाएको छ।
सन् २०१४ मा चीनले आफ्नो विजयोत्सवमा ८० जना सैनिकको टुकडी पठाउन अनुरोध गरेको थियो। तर नेपालले सैनिक टुकडी पठाउन अस्वीकार गरेको थियो। उक्त कार्यक्रममा तत्कालीन नेपाली राजदूत महेश मास्के र सैनिक सहचारी सहभागी भएका थिए।
भारतीय राष्ट्रपति बंगलादेशमा
बंगलादेश विजय दिवसमा आयोजित विशेष कार्यक्रममा भाग लिन भारतीय राष्ट्रपति रामनाथ कोविन्द बंगलादेश भ्रमणमा छन्। भारत र बंगलादेशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पनि ५० वर्ष पुरा भएको छ।
एक सय भन्दा बढी भारतीय सुरक्षाकर्मी बंगलादेशको परेडमा सहभागी हुँदैछन्। भारत र बंगलादेशबीच सैनिक सम्बन्ध सुदृढ हुँदै गएको देखिन्छ।
बंगलादेशका जल, स्थल र हवाई सेनाले विविध कार्यक्रम गरी उत्सव मनाउँदैछन्।
Shares
प्रतिक्रिया