राजनीति


देउवानिकट नेता भन्छन्ः प्रचण्ड सहमत भए सभामुख अनुपस्थित भएर एमसीसी पास हुन्छ

देउवानिकट नेता भन्छन्ः प्रचण्ड सहमत भए सभामुख अनुपस्थित भएर एमसीसी पास हुन्छ

केशव सावद
फागुन १, २०७८ आइतबार १९:४८, काठमाडौँ

मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौता संसदमा पेस गर्ने विषयमा कुरा नमिल्दा पाँच दलीय सत्ता गठबन्धनको भविष्य संकटोन्मुख छ।

प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एमसीसी मुुख्यालयले फेब्रुअरी ३ (माघ २०) मा पत्र पठाएर फेब्रुअरी २८ (फागुन १६) सम्म एमसीसी कार्यान्वयन गर्ने वा नगर्ने निर्णय गरिसक्न ताकेता गरेको छ। 

यसअघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले सेप्टेम्बर २९ (असोज २९) मा एमसीसीलाई पत्र पठाएर आफूहरु अनुमोदनका लागि प्रतिबद्ध रहेको र त्यसका लागि चारपाँच महिना समय उपलब्ध गराउन आग्रह गरेका थिए।

चारपाँच महिनाको अवधिमा सहमति जुटाएर एमसीसी अनुमोदन गर्ने प्रतिबद्धतासहितको पत्र प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले पठाएपछि त्यसको स्मरण गराउन एमसीसीको मुख्यालयले पत्र पठाएको थियो। 

एमसीसी मुख्यालयले ताकेतासहित पत्र पठाएपछि प्रधानमन्त्री देउवा परियोजनालाई संसदबाट पारित गराउन नैतिक दबाबमा परेका छन्। 

तर, सत्ता गठबन्धनभित्रकै मुख्य घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भने असहमति राख्दै आइरहेका छन्। 

प्रचण्ड–नेपालले एमसीसी अघि बढाए गठबन्धन र स्थानीय तह निर्वाचनमा असर गर्ने भन्दै निर्वाचनपछि साझा सहमतिबाट अघि बढाउनुपर्ने आग्रह गर्दै आएका छन्। 

शनिबार बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखे भने प्रचण्ड र नेपालले दलहरुबीच सहमति नभई नहुने अडान लिएका थिए।

प्रचण्डको सचिवालय स्रोतले बैठकपछि नेपालखबरसँग भन्यो, ‘प्रधानमन्त्री देउवाले अब बस्ने संसद् बैठकमै टेबल गर्ने अडान लिनुभयो। तर प्रचण्ड र माधव नेपालले आम राष्ट्रिय सहमति नजुटी पेस नगर्न सुझाव दिनुभयो, कुरा मिलेन।’

यद्यपि, नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी जसरी पनि संसदबाट पास गर्न प्रयासरत देखिन्छन्। उनले पार्टीको जारी केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट एमसीसी पारित गर्ने निर्णय पनि गराइसकेका छन्। 

देउवाका विश्वासपात्र मानिने कांग्रेसका एक केन्द्रीय सदस्यले आगामी वैशाख ३० का लागि तय गरिएको स्थानीय तहको निर्वाचनअगावै एमसीसी अनुमोदनको तयारी गरिएको जानकारी दिए। 

‘एमसीसी राष्ट्रिय महत्व र अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय बनेको छ,’ उनले नेपालखबरसँग भने, ‘प्रधानमन्त्री एमसीसीलाई जसरी पनि चुनावअघि पास गरेर जान प्रयासरत हुनुहुन्छ।’

ती नेताले एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री देउवाले अझैपनि सत्ता गठबन्धनबीच सहमति खोज्ने प्रयासलाई पहिलो प्राथमिकतामा राखेको बताए। 

उनले एमसीसी अनुमोदनमा सहमति नभए सभामुख हटाउनतिर आफूहर लाग्ने बताए।

‘गठबन्धनबीच सहमति जुटाउने, सहमति नजुटे सभामुख अग्निप्रसाद सापकोटा हटाउन सत्ताबाहिर रहेका दलहरुसँग छलफल गर्ने र संसदको नियमावलीमा टेकेर अगाडि बढ्ने विकल्प छ,’ उनले भने।

यद्यपि, गठबन्धनको भविष्य अन्योलतर्फ नजाओस् भनेर प्रधानमन्त्री देउवा सचेत रहेको पनि उनले जिकिर गरे। 

‘एमसीसी त जसरी पनि पास गर्ने हो। यसका लागि प्रधानमन्त्री प्रयासरत हुनुहुन्छ। विकल्पहरु पनि छन्,’ ती नेताले भने, ‘तर, उहाँको पहिलो प्रयास सहमतिमै छ। यसका लागि प्रधानमन्त्री लचिलो हुनुहुन्छ।’

कांग्रेसका एक पदाधिकारीले पनि एमसीसी अनुमोदनको प्रक्रियामा छिट्टै जाने जानकारी दिए। उनले पनि गठबन्धनबीच एमसीसीका बारेमा सहमति नजुटे सभामुख सापकोटालाई हटाइने प्रबल सम्भावना रहेको बताए। 

‘एमसीसी अब छिट्टै अनुमोदनको प्रक्रियामा जान्छ,’ ती पदाधिकारीले भने, ‘सहमति भएन भने सभामुखलाई महाभियोगको प्रबल सम्भावना देखिन्छ।’

उनले सभामुख सापकोटालाई हटाउने प्रस्ताव प्रमुख प्रतिपक्षी नेकपा एमालेले ल्याउने संकेत गरे। 

‘प्रचण्ड सहमतिमा आउनुभयो भने सजिलै एमसीसी पारित हुन्छ। यस्तो अवस्थामा पारित हुने दिन सभामुख अनुपस्थित भएर सघाउनुहुन्छ,’ ती पदाधिकारीले भने, ‘अन्यथा कुनै अमूक दलले उहाँमाथि महाभियोग लगाउँछ।’

संविधानको धारा ९१ (६) (ग) अनुसार सभामुखले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भए सभामुख पद रिक्त हुने व्यवस्था छ। तर, एमसीसी अनुमोदनका लागि कांग्रेस र एमाले बहुमत सदस्य भए पनि सभामुखलाई हटाउन चाहिने दुई तिहाइ मत छैन।

सभामुख अनुपस्थित भएको अवस्थामा जेष्ठ सदस्यको हैसियतमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बस्ने संसद् बैठकबाट एमसीसी अनुमोदन हुने दाबी पनि ती नेताले गरे।

उनले एमसीसी पारित गर्ने विषयमा कांग्रेस र एमाले मिलेर जाने पनि दाबी गरे। एमसीसी अनुमोदनका लागि आवश्यक गृहकार्य समेत कांग्रेसले आन्तरिक रुपमा गरिसकेको ती पदाधिकारीको भनाइ छ। 

प्रधानमन्त्री देउवानिकट कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माले एमसीसी अनुमोदनका लागि गठबन्धनबीच सहमतिको प्रयास भइरहेको प्रतिक्रिया दिए। 

‘सहमतिका लागि प्रयास जारी छ,’ उनले नेपालखबरसँग भने, ‘एमसीसी टार्ने, सार्ने र बिगार्ने कोसिस जारी रहे प्रधानमन्त्रीले विकल्प खोज्नुहुन्छ।’ 
   
  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .